प्रधानमन्त्रीले सुक्खा बन्दरगाहसहित तीन योजना अनुगमन गर्ने


प्रधामन्त्री पुष्पकमल दाहालले कञ्चनपुरका प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दगाहदेखि निर्माणाधीन महाकाली करिडोरसम्मको सोमबार स्थलगत अनुगमन गर्ने भएका छन् ।

सोमबार कञ्चनपुर आउन लागेका प्रधानमन्त्री दाहालले सुक्खा बन्दरगाह, महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल र महाकाली करिडोरको अनुगमन गर्ने कार्यक्रम तय भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए ।

“प्रधानमन्त्रीज्यूको यहाँ निर्माणाधीन योजनाको अनुगमनका साथै दिउँसो महेन्द्रनगरमा आयोजित महोत्सव उद्घाटन गर्ने कार्यक्रम छ”, प्रजिअ अर्यालले भने ।

त्यसैगरी दिउँसो प्रधानमन्त्री दाहालले कञ्चनपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा हुन गइरहेको १४ औँ सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटनसमेत गर्ने कार्यक्रम रहेको छ ।

कोरोना कहरको दुई वर्षपछि यहाँ हुन लागेको पर्यटन महोत्सव उद्घाटन प्रधानमन्त्रीबाट हुने कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले जानकारी दिए । उनका अनुसार ‘कृषि, उत्पादन र स्वरोजगार, आर्थिक समृद्धिको आधार’ भन्ने मूल नाराका साथ हुने महोत्सवमा यस क्षेत्रको औद्योगिक, आर्थिक क्षेत्रको प्रवर्द्धन हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी सुदूरपश्चिमको कला, संस्कृति संरक्षणका लागि साङ्गीतिक कार्यक्रमका साथै देउडा प्रतियोगितासमेत महोत्सवमा सञ्चालन हुनेछ । महोत्सवमा स्थानीय उत्पादन, बाल उद्यान, खाद्य तथा होटलका स्टल रहनेछन् ।

वाणिज्य सङ्घले यहाँ विसं २०५७ देखि महोत्सव आयोजना गर्दै आएको बताउँदै मल्लले मेलालाई एक लाख सर्वसाधारणले अवलोकन गर्ने अपेक्षा गरिएको जानकारी दिए । “महोत्सवमा पाँच करोडको आर्थिक कारोबार हुने लक्ष्य छ”, उलले भने, “स्थानीय बस्तुभाउ प्रवर्द्धन, पर्यटन तथा कला संस्कृतिको संरक्षणका लागि महोत्सव आयोजना गरिएको हो ।”

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।