रिपो लिँदै ट्रेजरी खरिद गर्दै बैंकहरु, डिस्काउन्ट रेट २% बिन्दुले बढ्यो

0
Shares

बैंकिङ प्रणालीमा तरलता अभावको समस्या जटिल बन्दै गएपछि ट्रेजरी बिल्सको डिस्काउन्ट रेट पनि बढ्न थालेको छ । वित्तीय प्रणालीमा तरलता अभाव भएको समयमा सरकारले महंगो दरमा आन्तरिक ऋण उठाएपछि डिस्काउन्ट रेट बढेको हो ।

पछिल्लो समयमा सरकारले न्यून राजस्व संकलनका कारण स्रोत जुटाउन समस्या भएको छ । त्यसैले पनि सरकारले चर्कोदरमा भएपनि आन्तरिक ऋण उठाउदै आएको छ । सरकारलाई स्रोत अभाव भएको र बैंकहरुसंग स्रोत नभएको अवस्थाले ट्रेजरीको डिस्काउन्ट रेट २ प्रतिशत विन्दु भन्दा धेरैले बढेको हो ।

सरकारलाई खर्च जुटाउन समेत समस्या भएपछि राष्ट्र बैंकले रिपो मार्फत बजारमा पैसा पठाउने तथा ट्रेजरी बिलस मार्फत खिच्ने काम भएको छ । यसभन्दा अघि पनि केन्द्रीय बैंकले सरकारी राजस्व तथा ट्रेजरीका लागि बजारमा ५० अर्ब रुपैयाँ रिपो पठाएको थियो । अहिले पनि केन्द्रीय बैंकले ३० अर्बको रिपो पठाएपछि सरकाले १३ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको हो ।

सोमबार सरकारले ५ अर्ब रुपैयाँ बराबरको २८ दिने नयाँ ट्रेजरी निष्कासन गरेको छ । उक्त ट्रेजरीको डिस्काउन्ट रेट २ प्रतिशत विन्दु भन्दा धेरै बढेर बैंकहरुले खरिद गरेका छन । यसभन्दा अघि फागुन २ गते निष्कासन भएको २८ दिने ट्रेजरीमा बैंक वित्तीय संस्थाले उच्च दर माग गरेपछि राष्ट्र बैंकले बिक्री गरेको थिएन । सो भन्दा अघिल्लो पटक निष्कासन भएको २८ दिने ट्रेजरीको डिस्काउन्ट रेट ५.९००१ प्रतिशत रहेको थियो । सोमबार भने २८ दिने ट्रेजरीको डिस्काउन्ट रेट बढेर ७.२५५५ प्रतिशत पुगेको छ ।

सोमबार बैंक वित्तीय संस्थाले उच्च डिस्काउन्ट रेट माग गरेपछि १८२ दिने ट्रेजरी भने खरिद गर्न पाएनन् । राष्ट्र बैंकले डिस्काउन्ट रेट उच्च भएको भन्दै बिक्री गरेको छैन ।

तर, बैंक वित्तीय संस्थाले ९१ दिने ट्रेजरीको हकमा भने डिस्काउन्ट रेट घटेर खरिद गरेका छन । सोमबार ९१ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ९.५७१६ प्रतिशत कायम भएको छ । यसभन्दा अघि यस्तो रेट १०.२२२३ प्रतिशत रहेको थियो ।

सोमबार सरकारले २८ दिने ५ अर्ब, ९१ दिने २ अर्ब २३ करोड र ६ अर्ब बरावरको १८२ दिने ट्रेजरीको बोल आह्वान गरेको थियो । यसमा २८ र ९१ दिनेमा अधिकार आवेदन परेको राष्ट्र बैंकले जनाएको छ । तर, १८२ दिनेको सन्दर्भमा भने उच्च ब्याजदरका कारण बिक्री नै नगरको राष्ट्र बैंकले जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।