बीमा संस्थान सुधारको पहिलो स्टेप लेखापरीक्षण हुनुपर्छः राजश्व सचिव घिमिरे

0
Shares

राजश्व सचिव डा. रामप्रसाद घिमिरेले बीमा संस्थानको सुधारको पहिलो स्टेप लेखापरीक्षण हुनुपर्ने बताएका छन् । संस्थानको ५६ औं वार्षिकोत्सवमा बोल्दै उनले मन्त्रालयले दिएको समयसीमाभित्र लेखापरीक्षण गरी सुधारको पहिलो स्टेप चाल्न निर्देशन दिएका हुन् । 

मुलुकको पहिलो जीवन बीमा व्यवसायको कारोबार सञ्चालन गरेको संस्थानको आर्थिक वर्ष २०७१।७२ देखि लेखापरीक्षण गर्न बाँकी रहेको भन्दै सचिव घिमिरेले लेखापरीक्षणको समस्या शीघ्र समाधान गर्न अर्थ मन्त्रालयमा नियामक निकाय नेपाल बीमा प्राधिकरण र सञ्चालक समितिलाई समेत एकसाथ बैठक डाकेर तीन महिनाभित्र लेखापरीक्षण सम्पन्न गर्न निर्देशन दिइएको बताए ।

मन्त्रालयले दिइएको समयमीमा दिनको लागि मात्रै नदिएको भन्दै उनले थपे, “लेखापरीक्षण गर्दा कतिपय विषयहरुमा बोर्ड बैठकले निर्णय गरेर फुकाउनुपर्ने छ, वा सार्वजनिक सूचना निकालेर वा कुन न कुनै हिसाबले एउटा टुङ्गोमा पु-याउनुपर्छ सोही अनुसार अगाडि बढाउनुहोस् । हामीले नजिकबाट निरीक्षण गरिरहेका छौं ।”

लामो समयदेखि संस्थानले लेखापरीक्षण र साधारण सभा गर्न नसकेकाले सबैतिरबाट पहिलो प्रश्न नै लेखापरीक्षणको आउने गरेको उनको भनाई छ । लेखापरीक्षण नहुँदा संस्थानका प्रशासकलाई बोलाएर प्रश्न गनुपर्ने अवस्था आएको बताउँदै सो कार्यका लागि व्यवस्थापनले तत्तपरता लिनुपर्ने र त्यसमा सबैले सहयोग गर्नुपर्ने उनको भनाई छ । “सञ्चालक समितिले पनि अलिकति आँट, साहसका साथ कतिपय विषयहरुमा निर्णय गर्नुपर्छ ।” उनले भने ।

लामो समयदेखि लेखापरीक्षणमा हुन नसक्दा कतिपय रेकर्ड अद्यावधिक नभएको तथा कतिपय विवरण नभेटिने अवस्थामा त्यसको सहजीकरणका लागि उनले नियामक निकाय बीमा प्राधिकरण, सञ्चालक समिति र कर्मचारीहरुलाई आग्रह गरे ।  नभेटिएका वा अद्यावधिक नभएका जानकारीहरु पूर्व कर्मचारीहरुको क्षमता योग्यता, अनुभव र क्षमताहरुबाट लिन सकिने तथा पूर्वकर्मचारीहरुबाट यसअघि के–कस्ता विषयहरु सामना गर्नुपरेको थियो, त्यसलाई कसरी समाधन गरिएको थियो भन्ने अनुभवहरु लिँदा लेखापरीक्षणमा सहयोग पुग्ने उनको भनाई छ । 

कतिपय विषयहरुमा निर्णय लिन बीमा प्रधिकरण वा सञ्चालक समितिलाई पुराना रेकर्डहरुको आवश्यकता पर्ने भन्दै उनले कर्मचारीहरुले पनि भेटिएन वा कहिलेदेखिको विषय हो भनेर नपन्छिन आग्रह गरे । समस्यालाई पहिचान, उजागर नगरीकन सुधारको मार्ग पहिल्याउन नसकिने भएकाले बीमा अभिकर्ता, पूर्व कर्मचारीहरुबाट आएको समस्यालाई अबिलम्ब सम्बोधन गरेर अगाडि बढ्नुपर्ने उनको सुझाव छ ।

चुनौतिलाई सामना गर्न नयाँ रणनीति अबलम्बन गर्न आग्रह

बीमा संस्थाको वार्षिकोत्सवलाई सम्बोधन गर्दै राजश्व सचिव डा. राम प्रसाद घिमिरेले बीमा क्षेत्रमा पछिल्लो समय नयाँ नयाँ चुनौतिहरु आइरहेकाले समयलाई दिएको चुनौतिलाई सामना गर्न राष्ट्रिय बीमा संस्थानले सामथ्र्य राख्नुपर्ने बताए । 

इतिहास (लिगेसी) को कुरा गरेर मात्र कहीँ पुगिने बताउँदै उनले लिगेसी महत्वपूर्ण हुन भएपनि संस्थानले भोलि कहाँ जानेर भनेर आज नै आवश्यक रणनीति अबलम्बन गर्न व्यवस्थापनलाई सुझाव दिए । आज अपनाइने रणनीतिले नै भोलिको बाटो निर्धारण गर्ने भएकाले हीनताबोध, लघुताभाष राखेमा कहिले पनि अगाडि बढ्न नसकिने उल्लेख गरे ।

बीमा क्षेत्रमा नयाँ–नयाँ जोखिमहरु उत्पन्न भैरहेकाले त्यसलाई पहिचान गर्ने, प्रतिस्पर्धीहरुको क्षमता र स्टेजलाई आंकलन गरेर कसरी प्रतिस्पर्धामा खरो रुपमा उत्रन सकिन्छ भनेर अगाडि बढ्न आवश्यक रहेको उनको धारण छ । स्थापनको कालमा एक्लै जान सकिएपनि अहिले दायाँ बाँया रहेका निजी क्षेत्रका कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न तथा बीमा क्षेत्रमा आएका विभिन्न नयाँ–नयाँ प्रविधिको अबलम्वन गर्नुपर्ने उनको बुझाई छ । मानवीय कामले मात्रै अहिलको दुनियाँमा प्रतिस्पर्धीहरुसँग प्रतिस्पर्धा गर्न नसकिने उनले बताए ।

बीमा संस्थालाई प्रतिस्पर्धीहरु बजारमा आए भन्दैमा निराश हुनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उनले भने, “निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरु आउँदा सरकारी स्वामित्वमा स्थापना भएका बैंकहरुलाई प्रतिस्पर्धामा उत्रन समस्या आउने होकी भन्ने रहेको थियो । तर अहिले उहाँहरु धेरै अगाडि बढिसक्नुभएको छ । सार्वजनिक संस्था हुँदैमा उसको प्रतिस्पर्धात्मक हुँदैन, सबल हुँदैन भन्ने होइन । सार्वजनिक भएर पनि सफल हुन सकिन्छ । त्यसैले विश्वास राख्नुपर्छ ।”

पछिल्लो समय बीमा गर्नेहरु ठूलो संख्यामा बढिरहेको सन्दर्भमा त्यो डेटाबेसलाई कसरी व्यवस्थापन गर्ने र व्यक्तिको व्यतिगत प्रोफाइललाई कसरी सुरक्षित राख्ने भन्ने अहिलेको चुनौति रहेको उनले बताए । प्रविधिले ल्याएको विकाससँगै सुरक्षा र गोपनियताको सवालहरु पनि उठिरहेकाले प्रविधिसँग साक्षात्कार हुने बेलामा प्रविधलाई दीर्घकालीन रुपमा दिगोपना सुनिश्चितता गर्न सकिन्छ कि सकिँदैन त्यो हेर्नुपर्ने उनकाे भनाइ थियाे ।

उनले भने, “हाल विभिन्न ठूल्ठूला संघ संस्थाहरुले निर्माण गरेको डिजिटल सिस्टमहरु डिस्फङ्सनल भएको अवस्था छ भने कतिपयमा सेक्युरिटीको सवाल उठ्ने गरेको छ । डिजिटल मोर्डनाइजेसनमा जाने क्रममा यो सस्टेनेबल छ कि छैन हेर्नुहोस् । जस्तो सोर्सकोड हामीसँग छ कि छैन, त्यसलाई हामीले अद्यावधिक गर्न सक्छौं कि सक्दैनौं, सञ्चालन गर्न सक्छौं कि सक्दैनौं हेर्नुपर्छ ।”

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।