साढे १२% ब्याजदरमा ५० करोडको वैदेशिक रोजगार बचतपत्र बिक्रीमा


नेपाल राष्ट्र बैंकले साढे १२ प्रतिशत ब्याजदर दिनेगरी ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने भएको छ ।

राष्ट्र ऋण व्यवस्थापन विभागले शुक्रबार एक सूचना जारी गर्दैै वैदेशिक रोजगारीमा रहेका हालसालै रोजगारीबाट स्वदेश फर्किएकाहरुका लागि ५ वर्षे बचतपत्र निष्काशन गर्न लागेको जनाएको हो ।

केन्द्रीय बैंकका अनुसार बचतपत्रको आगामी फागुन १४ गतेदेखि फागुन चैत ३ गतेसम्म बिक्री खुला हुनेछ भने चैत १० गते निष्काशन हुनेछ । पाँच वर्षका लागि निष्काशन गरिएको उक्त बचतपत्रमा बैंकले वार्षिक १२.५० प्रतिशतको आकर्षक ब्याजदर समेत प्रदान गर्ने जनाएको छ । ब्याज भुक्तानी अर्धवार्षिक (६।६ महिनामा) रुपमा हुने जनाइएको छ।

उक्त ब्याज रकम भुक्तानीका लागि लगानीकर्ताले आफ्नो वा आफुले इच्छाएको व्यक्तिको खाता रहेको बैंकको नाम, ठेगाना र खाता नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्ने हुन्छ ।

उक्त बचतपत्र लगानीका लागि इच्छुक वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैर–आवासीय नेपालीहरुले निवेदन दिन सक्नेछन् । तर लगानीकर्ता स्वदेश फर्किएको ६ महिना नपुगेको हुनुपर्ने बैंकले जनाएको छ। उनीहरुले आफु वा आफ्नो परिवारको सदस्यको नाममा खरीद गर्न सक्नेछन् ।

इच्छुक लगानीकर्ताले बचतपत्रका लागि घटीमा १० हजार देखि बढिमा १० हजारले भाग गर्दा निःशेष भाग जानेगरि आह्वान गरिएको रकमसम्म खरीद दरखास्त दिन सक्नेछन् ।

आवेदनका लागि इच्छुक लगानीकर्ताहरुले राहदानी, कार्यरत मुलुकको भिसा (भारत बाहेक), कार्यरत कम्पनीको आधिकारिक परिचयपत्र (म्याद ननाघेको) को प्रतिलिपि, २ प्रति पासपोर्ट साइजको फोटो, विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाण स्वरुप विदेशी मुद्रा सटही गरेको भौचर पेश गर्नुपर्नेछ ।

यदि परिवारका सदस्यको नाममा खरिद गर्ने भए सो सदस्यको नागरिकताको प्रतिलिपी र नाता प्रमाणित कागजात र नाबालकको नाममा संरक्षक भइ खरिद गर्ने भए नावालकको जन्मदर्ता प्रमाणपत्र सहित दखास्त दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

लगानीकर्ताले बचतपत्र खरिदका लागि ७ वाणिज्य बैंकहरु सिटिजन्स, नबिल, माच्छापुच्छे«, प्रभु, सनराइज, सिद्धार्थ र सानिमाबाट अनवेदन दिन सक्ने छन् । यस्तै नेपाल बैंक लिमिटेड, ग्लोबल बैंक लिमिटेड, एनएमबी बैंक लिमिटेड तथा तीन रेमिट कम्पनीहरु प्रभु मनि ट्रान्सफर र सेवा रेमिट र सिटी एक्सप्रेस मनि ट्रान्सफर कम्पनीहरुबाट आवेदन बुझाउन सक्नेछन् ।

यसैगरि यी बिक्री एजेन्टका नेपाल बाहिर रहेका सम्पर्क व्यक्ति मार्फत पनि बचतपत्र खरीद गर्न सकिन्छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।