बैंक र ऋणीको असमझदारी न्यूनीकरणमा नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेजले सेवा दिने


नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेजले आगामी वैशाखदेखि सेवा सुरु गर्ने भएको छ । लगानी व्यवस्थापनका विविध पक्षमा सेवा दिने लक्ष्यका साथ पूर्व बैंकर तथा बीमा क्षेत्रका व्यक्तिको सहभागितामा संस्थाले सेवा दिन लागेको हो ।

पूर्व बैंकर र विशेषज्ञहरुको टिमले संचालमा ल्याएको एकेडेमीले बैंक र ऋणीबीच बढ्दो दुरी र असमझदारीलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ सेवा सुरु गर्न लागेको कम्पनीका संस्थापक अध्यक्ष रमेश कुमार भट्टराईले बताए ।

“अहिलेको असहज अवस्थामा एक अर्काप्रतिको अविश्वास देखिन थालिरहेका बेला विश्वासिलो माध्यस्थकर्ताको आवश्यकता हुन्छ, त्यही आवश्यकता पुरा गर्न पूर्व बैंकर र विशेषज्ञहरुको टिम बनाएर आउँदो बैशाखदेखि सेवा सुरु गर्न लागेका हौं,” भट्टराईले भने ।

संभावना अनुसारको नयाँ व्यवसायको खोजी गर्ने, स्टार्टअप व्यवसायलाई सघाउ र्पुयाउने र संचालनमा रहेको कम्पनी, संघ संस्थालाई बलियो बनाउन आफ्नो टिमबाट विशेषज्ञ सेवा दिने एकेडेमीको उदेश्य रहेको भट्टराईले बताए ।

“आर्थिक मन्दीको कारण देशमा बन्द तथा समस्यामा परेका उद्योग व्यवसायलाई सल्लाहकार सेवा दिने तथा बैंक र ऋणी बीचको असमझदारी हटाउन समन्वयकर्ता तथा मध्यस्थकर्ताको भूमिका खेल्ने र खराब कर्जा व्यवस्थापनमा विशेषज्ञ सेवा प्रदान गर्ने लक्ष्य लिएका छौं,” भट्टराईले भने ।

नेशनल एकेडेमीको टिममा नेपाल बैंक र कृषि विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप साह, महालक्ष्मी फाइनान्स र विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई, प्रुडेन्सियल फाइनान्स, यूनाइटेड फाइनान्स र सिद्धार्थ विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र, बीरगञ्जका चार्टर्ड एकाउन्टेन्ट अरविन्द खेतान, अधिवक्ता छविलाल घिमिरे, आइटी इन्जिनियर रितेश भट्टराईलाई समेटेर टिम तयार गरेको भट्टराईले जानकारी दिए ।

एकेडेमीले मुलतः संचालनमा रहेको कम्पनी र संघ संस्थाको विकासको लागि काउन्सलिङ, कन्सलटेन्सी र कोचिङ गर्ने उद्देश्य लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।