चिलिमे हाइड्रोपावरले ९ महिनामा कमायो ५३ करोड खुद नाफा

0
Shares

चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार तेस्रो त्रैमाससम्म ५२ करोड ८९ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको यहि अवधिमा ५२ करोड २० लाख रुपैयाँ नाफा कमाएको चिलिमेको खुद नाफा १.३४ प्रतिशतले बढको हो । विद्युत बिक्री आम्दानी घटेपनि वित्तीय आम्दानी बढपछि चिलिमेको नाफा बढेको हो ।

कम्पनीको विद्युत बिक्री आम्दानी गत वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष २.३३ प्रतिशत (१ करोड ९१ लाख ८८ हजार रुपैयाँ) कम भएको छ । गत वर्ष यस अवधिसम्म ८२ करोड ३४ लाख ३५ हजार रुपैयाँ विद्युत विक्रीबाट आम्दानी गरेको कम्पनीले यस वर्षको सोही अवधिमा ८० करोड ४२ लाख ४६ हजार रुपैयाँ आम्दानी गरेको छ । नेपाल विद्युत प्राधिकरणले आवश्यकता अनुसार अधिक विद्युत उर्जा खरिद गर्ने र यस अवधिमा गत आव चैत्र मसान्तसम्मको तुलनामा न्युन विद्युत उर्जा खरिद भएकोले गर्दा विद्युत विक्री आम्दानी पनि न्युन हुन गएको कम्पनीले जनाएको छ ।

विद्युत विक्री आम्दानी घटेपनि कम्पनीको वित्तीय आम्दानी बढ्दा खुद नाफामा सकारात्मक प्रभाव देखिएको हो । गत आवको चैतसम्म १३ करोड १ लाख ५६ हजार रहेको वित्तीय आम्दानी यस वर्षको सोही अवधिमा ३५.०७ प्रतिशत बढेर १७ करोड ५८ लाख ६ हजार रुपैयाँ आम्दानी गरेको छ । बैंक मौज्दात बढेको र ब्याज दरमा सुधार भएका कारण वित्तीय आम्दानी बढ्न पुगेको हो । गत आवको यसै अवधिको तुलनामा यस आवमा बैंक मौज्दात बढ्न जाँदा र व्याजदरमा पनि केही सुधार भएकोले व्याज आम्दानीतर्फ ४ करोड ५६ लाख ५० हजार (३५.०७%) ले वृद्धि हुन गएको छ । हालको नगद मौज्दातलाई लाभांश दिन, नयाँ आयोजनाको पहिचान एवं विकास, अध्ययन, चिलिमे कर्पोरेट भवन निर्माण, कार्यालय सञ्चालनार्थ लगायतका कामहरुका लागि उपयोग गर्दै लगिने कम्पनीको योजना छ ।

त्यसैगरी, कम्पनीको सञ्चालन मुनाफा गत आवको यसै अवधिमा ५४ करोड ३२ लाखभन्दा बढी रहेकोमा ६.१८ प्रतिशत घटेर ५० करोड ९६ लाखमा संकुचित बनेको छ । चुक्ता पूँजी ७ अर्ब २५ करोड ८१ लाख ७९ हजार रुपैयाँ रहेको चिलिमेको चुक्ता पुँजीको तुलनामा नाफा वृद्धि सुस्त बन्दा कम्पनीको प्रति सेयर आम्दानी ५९ पैसा घटेको छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीको वार्षिक प्रति सेयर आम्दानी ९ रुपैयाँ ७२ पैसामा सीमित भएको छ ।

चिलिमेले कम्पनीको २०७९ साल पुस २२ गतेको सम्पन्न २६ औ वार्षिक साधारण सभाले पारित गरेको ७.५ प्रतिशत बोनस सेयर वितरण गरी पुँजी वृद्धि गरेकाे हाे भने नाफा १.३४ प्रतिशतले मात्र बढेको छ । कम्पनीको जगेडा कोषमा ३ अर्ब १३ करोड ७८ लाख १ हजार रुपैयाँ सञ्चित छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीको जगेडा कोषमा ३ अर्ब ३९ करोड ८७ लाख १२ हजार रहेकोमा ७.६८ प्रतिशतले घटेको हो ।

समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी १४३ रुपैयाँ २३ पैसा , प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४९ रुपैयाँ ६० पैसा र मूल्य आम्दानी अनुपात ५०.९३ गुणा रहेको छ ।

विश्वव्यापी रूपमा फैलिएको कोभिङ–१९ लगायतका विभिन्न समस्याले गर्दा निर्माणाधिन आयोजनाका विभिन्न कामहरु अपेक्षित गतिमा हुन सकेका छैनन् । यसले निर्माणाधिन आयोजनाको निर्माण सम्पन्न मिति पछि सर्दै जाँदा एकातिर आयोजना लागत वृद्धि हुने र अर्कोतिर विद्युत बिक्री आम्दानी पनि सृजना नहुने अवस्थामा सम्वन्धित कम्पनीले आर्थिक रूपमा नोक्सानी बेहोर्नुपर्ने हुन्छ भने यसका अलावा यस कम्पनीले पाउने प्रतिफल पनि गुम्ने अवस्था रहन्छ ।

निर्माणाधिन जलविद्युत आयोजनाहरुलाई छिटो सम्पन्न गर्न कम्पनीले आफ्नो पूरै ध्यान केन्द्रीत गरेको जनाएको छ । हाल माथिल्लो सान्जेन जलविद्युत आयोजनाको ईलेक्ट्रोमेकानिकल कार्यको ठेकेदारले कार्य प्रारम्भ गरिसकेकोले निकट भविष्यमा विजुली बल्ने अपेक्षा गरिएको छ । त्यस्तै गरी रसुवागढी तथा मध्य भोटेकोशी जलविद्युत आयोजनाहरूको सिभिल निर्माण कार्य करिव सम्पन्न भै ईलेक्ट्रोमेकानिकल कार्य पनि अन्तिम चरणमा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।