भायोनेट कम्युनिकेशनले २०२२ मा गर्यो सवा २ अर्ब सञ्चालन आम्दानी


सन् २०२२ मा इन्टरनेट सेवा प्रदायक भायोनेट कम्युनिकेशनले २ अर्ब २३ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । सन् २०२१ मा २ अर्ब ८ करोड ९० लाख आम्दानी गरेको कम्पनीको यस्तो आम्दानी सन् २०२२ मा ७ प्रतिशतले बढेको हो ।

कम्पनीको आम्दानीमा सामान्य वृद्धि भए पनि कम्पनीका वित्तीय सूचकांकमा गिरावट आएको छ । सन् २०२१ मा कम्पनीको ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहित पछिको नाफा कुल सञ्चालन आम्दानीको २९.३ प्रतिशत थियो भने सन् २०२२ मा सो नाफा १ प्रतिशत विन्दुले घटेर २८.३ प्रतिशतमा झरेको छ ।

सन् १९९९ मा स्थापना भएको कम्पनीले स्थापनाको समयदेखि नै नेपालको सञ्चार क्षेत्रमा योगदान पुर्‍याउँदै आएको छ । हाल भायानेटले २२ जिल्लाहरुमा आफ्नो सेवा प्रदान गरिरहेको छ । देशभर कम्पनीका ८३ शाखा कार्यालय, सञ्चालन केन्द्र र आउटलेटहरु रहेका छन् ।

पछिल्लो समयमा इन्टरनेट सेवाप्रदायकहरुको सङ्ख्यामा भएको वृद्धिसँगै बजारमा बढेको प्रतिस्पर्धाका कारण कम्पनीको आम्दानी आकर्षक रुपमा बढेको छैन ।

कम्पनीले २ अर्ब ८५ करोड ७० हजार बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । १ अर्ब ८ करोड ८५ लाख बराबरको दीर्घकालीन कर्जाका लागि इक्रा नेपालले डबल बी माइनस र १ अर्ब ७६ करोड १५ लाख ७० हजार बराबरको अल्पकालीन कर्जाका लागि ए ४ रेटिङ प्रदान गरेको हो ।

कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको ४.८ गुणा रहेको छ ।

कम्पनीका प्रबन्ध निर्देशक विनय बोहोरा छन् भने ओम विक्रम थापा टेक्निकल प्रमुख अधिकृत रहेका छन् । कम्पनीमा बोहोराको सेयर हिस्सा ८५ प्रतिशत रहेको छ भने थापाको सेयर हिस्सा १५ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।