साढे ८ सय प्रतिशत हकप्रद बेचेको मल्टीपर्पोज फाइनान्सलाई फेरि हकप्रद बेच्न बोर्डको अनुमति


चार वर्ष पहिले साढे ८ सय प्रतिशत हकप्रद बेचेको मल्टिपर्पोज फाइनान्सले फेरी ३५ प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको छ । धितोपत्र बोर्डले असार २६ गते फाइनान्सलाई हाल कायम चुक्ता पुँजीको ३५ प्रतिशत हकप्रद बिक्री गर्न अनुमति दिएको हो ।

२०७६ भदौमा कम्पनीले ८६५ प्रतिशत हकप्रद बिक्री गरेको थियो । उक्त हकप्रदमा सबै सेयरमा आवेदन नपरेपछि कम्पनीले पटक पटक हकप्रदमा नबिकेको सेयर लिलामीमा राखेर बिक्री गरेको थियो ।

उक्त निष्काशन पहिले ४ करोड १४ लाख ७३ हजार ६०० रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सले ८६५ प्रतिशत हकप्रद बेचेर चुक्ता पुँजी ४० करोड कायम गरेको थियो । उक्त हकप्रद निष्काशन पश्चात आर्थिक वर्ष २०७७।०७८ मा १३ प्रतिशत बोनस वितरण गरेर चुक्ता पुँजी ४५ करोड २० लाख रुपैयाँ पुर्याएको फाइनान्सले ३५ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।

चार वर्ष पहिले …  मल्टिपर्पोज फाइनान्सको ८६५ प्रतिशत हकप्रद भर्ने आइतबार अन्तिम दिन

मल्टिपर्पोज फाइनान्सको ८६५ प्रतिशत हकप्रदमा आवेदन गर्ने समय १५ दिन थपियो

प्रस्तावित हकप्रद वितरण पश्चात फाइनान्सको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा फाइनान्सले ५३ लाख ६६ हजार ८०३ रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १ रुपैयाँ ५८ पैसा कायम गरेको थियो ।

फाइनान्सको हकप्रदले स्वीकृति पाएसँगै मंगलबार दोस्रो बजारमा प्रतिकित्ता सेयर मूल्य ५ प्रतिशतले बढेको छ । सोमबार ३७५ रुपैयाँ रहेको फाइनान्सको प्रतिकित्ता सेयर मूल्य २० रुपैयाँले बढेर ३९५ रुपैयाँ पुगेको छ । पछिल्लो १ महिनाको अवधिमा फाइनान्सको सेयर मूल्य क्रमिक रुपमा बढ्दै गएको हो । यद्यपी उक्त सेयर मूल्यलाई कम्पनीको वित्तीय अवस्थाले समर्थन गर्दैन ।

प्रस्तावित हकप्रद निष्काशन पश्चात अहिलेकै अवस्थामा कम्पनीले आम्दानी नबढाउने हो भने प्रतिसेयर आम्दानी १ रुपैयाँबाट माथि जान सक्दैन । अन्य सुचकांकमा पनि फाइनान्स कमजोर अवस्थामा छ । यस्तो बेला दोस्रो बजारका लगानीकर्ता संयमित हुनुपर्ने देखिन्छ ।

३५ प्रतिशत हकप्रद बिक्री पश्चात नियामक निकाय नेपाल राष्ट्र बैंकले तोकेको न्युनतम चुक्ता पुँजी ८० करोड कायम गर्न फाइनान्सले थप १९ करोड रुपैयाँ जुटाउनु पर्ने हुन्छ । बोनस वितरण गर्न सक्ने अवस्थामा नरहेको कम्पनीले कसरी पुँजी ८० करोड कायम गर्छ भन्ने अर्को विषय उत्तिकै महत्वपुर्ण छ ।

गत चैत मसान्तसम्ममा कम्पनीको जगेडा कोषमा ५ करोड ५९ लाख ८९ हजार ४१६ रुपैयाँ सञ्चित छ भने प्रतिफल दिन सक्ने अवस्था छैन । फाइनान्सको रिटेण्ड अर्निङ ३६ लाख २० हजार ७२३ रुपैयाँले ऋणात्मक छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।