मौद्रिक नीति कर्जा विस्तारमा उदार नहुने भएपछि बैंक वित्तीय संस्थाको ब्याजदरमा खिचातानी

0
Shares

बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुले आगामी महीनाको ब्याजदरका लागि फरक–फरक निर्णय गरेका छन् । वाणिज्य बैंकहरुले कर्जा विस्तारको सम्भावना न्यून देखेर भद्र सहमति नै तोडेका छन् भने विकास बैंकहरुले भने ब्याजदर घटाउने सहमति गरेका हुन् ।

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैकर्स संघले औपचारिक निर्णय गर्दै साउनदेखि ब्याजदर बैंकहरु आफैँले तोक्नसक्ने गरी खुला छोड्यो । त्यसैगरी शुक्रबार डेभलपमेन्ट बैंकर्स संघले भने ०.५ प्रतिशत विन्दुले ब्याजदर घटाउने निर्णय गरेको छ । फाइनान्स एशोसिएनसले भने साउन महीनामा ब्याजदर के गर्ने भन्ने निर्णय गरिसकेको छैनन् ।

चालु आर्थिक वर्षको अन्तिम समयमा सरकारी खर्च बढेसँगै वित्तीय प्रणालीमा अधिक तरलता थुप्रिएको अवस्था छ । वित्तीय प्रणालीको तरलताको अवस्थाले ब्याजदरलाई पनि निर्धारण गर्छ । त्यसैले तरलता र ब्याजदर व्यवस्थापनका लागि केन्द्रीय बैंकले पछिल्लो साता मात्रै ६० अर्ब रुपैयाँ प्रशोचन गरिसकेको छ । केन्द्रीय बैंकले निक्षेप संकलन र रिभर्स रिपो मार्फत उक्त रकम खिचेको हो ।

वित्तीय प्रणालीमा तरलता बढेको र नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत कर्जा विस्तारमा उदार नहुने संकेत पाएका बैंकहरुले ब्याजदरको भद्र सहमति तोडे । तर, अधिक तरलताले ब्याजदरमा आएको गिरावट ग्राहकसम्म हस्तान्तरण गर्नुपर्छ भन्दै डेभलमेन्ट बैंकर्स संघले ब्याजदर घटाउने भद्र सहमति गरेको छ ।

बैंकरहरुले अहिले देखिएको अधिक तरलता देखिएको भएपनि दीर्घकालिन नहुने भएपछि ब्याजदरलाई खुला छोड्ने सहमति गरेको स्पष्ट देखिन्छ । आगामी आर्थिक वर्षमा पनि अर्थतन्त्रको अवस्थाले कर्जाको माग बढ्ने अवस्था देखिँदैन । साथै कतिपय बैंकको प्राथमिक पुँजीका कारण कर्जा लगानी गर्न सक्ने अवस्था छैन ।

त्यति मात्र नभई नेपाल राष्ट्र बैंकले असारसम्म दिएका सुविधा कटौती भएको खण्डमा अहिलेको अधिक तरलताको अवस्था पुनः कसिलोतर्फ जाने निश्चित छ । बैंकहरु पनि विगतमा जथाभावी गरेको कर्जा लगानीका कारण अहिले निम्तिएको समस्याको विषयमा जानकार भएर कर्जा लगानीमा होसियार हुनुपर्ने अवस्था छ । तर, केही बैंकहरुले भने खुला छोडिएको ब्यादरको फाइदा उठाउँदा बजार झनै विगार्ने अवस्था आउनसक्ने जोखिम पनि उत्तिकै छ । यसले बैंकहरुले कर्जाको माग नबढ्ने र स्थायी तथा नयाँ स्रोतको जोहो पनि नहुने भएपछि ब्याजदर थप घटाउने भद्र सहमती गर्नु भन्दा नगर्न राम्रो हुने भन्दै त्यो निर्णय पुगेको स्पष्ट छ ।

नेपाल राष्ट्र बैंकले कर्जा विस्तारमा उदार नीति नलिने संकेत पाएपछि ब्याजदरलाई खुला छोडेको बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत सुनिल शर्माले बताए । “प्रणालीमा तरलता थपिएको छ, कर्जाको माग पनि तत्कालै नवढ्ने अवस्था भएकाले भद्र सहमति टुटाउने सहमति भएको हो,” शर्माले भने, “अहिले ब्याजदरको विषयमा कसैले बोलेकै छैन, यसको मतलब अहिलेको ब्याजदर उपयुक्त विन्दुमा पुगेको अवस्था हो ।” आगामी दिनमा ब्याजदर घट्छ भनेर नै भद्र सहमति तोडिएको हो । साउन महिनामा त्यसैपनि कर्जाको माग न्यून हुने बताउँदै राष्ट्र बैंकले पनि कर्जा प्रवाहमा जोड नदिने संकेत पाएरै भद्र सहमति भङ्ग गरिएको उनको तर्क छ । अहिलेको अवस्थामा कर्जा नियन्त्रण गर्नेभन्दा पनि विगतको जस्तो अनुत्पादक क्षेत्रमा लगानी बढ्न नहुने उनको बुझाई छ ।

डेभलपमेन्ट बैंकर्स संघले भने हाल १०.६० प्रतिशत तोकेको ब्याजदर ०.०५ प्रतिशत विन्दुले घटाई १०.१० प्रतिशतमा झारेको छ । यो ब्याजदरमा प्रादेशिक विकास बैंकको हकमा ०.२५ प्रतिशत विन्दु धेरै लिनसक्ने व्यवस्था गरिएको संघका अध्यक्ष सुयोग श्रेष्ठले नोटबजारसँग बताए ।

“शुक्रबार छलफल गरिएको भएपनि ब्याजदरको विषयमा विकास बैंकहरुले संस्थागत निर्णय गर्न बाँकी छ,” श्रेष्ठले भने, “शुक्रबार छलफल भएर गरिएको प्रस्तावको निश्कर्ष सबै संस्थाबाट शनिबार आउनेछ ।” आगामी दिनमा ब्याजदर नबढ्नेमा आफू निश्चित भएको बताउँदै उनले भने, “बैंकसं संघले के गर्दा र हामीले के गर्नेभन्दा पनि हामीले मार्केटको अवस्था अनुसार के गर्नुपर्छ भनेर भद्र सहमति कायम गर्दै ब्याजदर घटाएको हो ।” बजारको अवस्था अनुसार हुने उचार–चढावको सुविधा ग्राहकलाई पनि दिनुपर्छ भनेर ब्याजदर घटाउने सहमति गरेको उनले बताए । आगामी दिनमा कर्जाको माग ह्वात्तै बढ्ने सम्भावना न्यून रहेको बताउँदै उनले बैंकहरु पनि कर्जा लगानीमा सचेत हुनुपर्ने अवस्था भएकाले क्रेडिट विस्तार सुझबुझ तबरवाट हुनुपर्ने श्रेष्ठको सुझाव छ ।

बैंकर्स संघले खुला छोड्ने विकास बैंकले ब्याजदर घटाउने सहमतिमा सर्वसाधारण निक्षेपकर्ता पनि मारमा पर्नुहुँदैन । त्यसका साथै कर्जा लिने ऋणीले पनि बजारको अवस्था अनुसारको ब्याजदरमा कर्जा पाउनुपर्ने हुन्छ । त्यसका लागि बैंक वित्तीय संस्थाबीच देखिएको फरक नीतिमा केन्द्रीय बैंक गम्भिर हुनुपर्ने देखिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।