फाइनान्स कम्पनीहरुबीच ब्याजदरमा १० पैसा घटबढ गराउने भद्र सहमति, बैंकहरुले बढाए


फाइनान्स कम्पनी एसोसिएसनले व्याजदरको भद्र सहमतीलाई निरन्तता दिएको छ । एसोशिएसनको शनिबार भएको छलफलले निक्षेपको ब्याजदरमा १० पैसा घटाउने वा बढाउने सहमति गरेको हो ।

बैंकर्स संघले ब्याजदरको भद्र सहतीलाई खुल्ला छोड्ने निर्णय गरेको थियो । त्यसैगरी डभलमेन्ट बैंकर्स संघले भने ब्याजदर सम्बन्धी सहमतीलाई निरन्तरता दिएको छ । डेभलपमन्ट बैंकले आगामी महिनाका लागि डेभलपमेन्ट बैंकको हालको १०.६० प्रतिशत ब्याजदर ०.५० प्रतिशत विन्दुले घटाई १०.१० प्रतिशतमा झारेको छ । यो ब्याजदरमा प्रादेशिक विकास बैंकको हकमा ०.२५ प्रतिशत विन्दु धेरै लिनसक्ने छन् ।

फाइनान्स कम्पनी एसोसिएसनले पनि एक वर्षसम्मको निक्षेपमा १० पैसा थप गर्ने वा घटाउन सक्ने समहती गरेको एसोशिएसनका अध्यक्ष सरोजकाजी तुलाधरले बताए । “फाइनान्स कम्पनी बीच सहमति भएको रेट १०.६ हो,” उनले भने, “त्यसमा निक्षेप चहिनेले १० पैसा धेरै दिन सक्ने भए भने नचाहिनेले १० पैसा घटाउन सक्ने सहमति भएको छ ।”

तर, क्षेत्रिय स्तरका फाइनान्स कम्पनीले २५ पैसा तलमाथि गर्न सक्ने सहमती भएको उनले बताए । उनका अनुसार राष्ट्रिय वा क्षेत्रीयस्तरका सबै फाइनान्स कम्पनीले २ वर्ष अवधिको निक्षेपमा जति ब्याजदर पनि दिनसक्ने सहमति भएको छ । फाइनान्स कम्पनीहरुमा बचतको ब्याजदरको सन्दर्भमा भने खुला रहेको उनले जानकारी दिए ।

वित्तीय प्रणालीमा अधिक तरलता भएका कारण साउन महिनामा निक्षेपको ब्याजदर थप नबढ्ने भन्दै वाणिज्य बैंकहरुले खुला छोडेका थिए । तर, केही बैंकले त्यसको विपरित ब्याजदर बढाएका छन् । साउन देखि ब्याजदर बढाउने बैंकहरुमा नबिल, एनएमबी, कुमारी र प्राइम कमर्सियल बैंक रहेका छन् ।

भद्र सहममती गर्दा ९.९९ अंकमा आएको निक्षेपको ब्याजदर खुला छोड्दा ११ अंकमा पुगेको छ । भद्र सहमतिमा सबै बैंकहरुमा अधिकतम निक्षेपको रेट ९.९९ प्रतिशत थियो । तर, अब साउन महिनाका लागि एक बैंकले ११ प्रतिशत व्याज दिने भएको छ भने आगामी दिनमा बैंकहरुबीचको निक्षेप तान्नका लागि ब्याजदर बढाउने प्रतिस्पर्धाले फेरी व्याजदर बढ्ने देखिन्छ । केही बैंकहरुको प्राथमिक पुँजीका आधारमा कर्जा लगानीको सीमा नाघ्ने अवस्था भएकाले कर्जा विस्तारका लागि ब्याजदर बढाएर भए पनि निक्षेप लिने दौडमा सहभागि हुने अवस्था छैन ।

ब्याजदर बढाउने र कर्जा लगानी विस्तार गर्ने सम्भावन देखेका तथा प्राथमिक पुँजीको अनुपातमा कर्जा लगानीको स्पेस पर्याप्त भएका बैंकहरुबीच ब्याजदर बढाउने प्रतिस्पर्धा हुने देखिन्छ । साउन महिनामा केही बैंकले व्याजदर बढाउँदै गर्दा केही बैंकले घटाएको पनि अवस्था छ । कर्जा लगानीको सम्भावना नभएका, निक्षेप पर्याप्त भएका बैंकहरुले भने साउन महिनाका लागि ब्याजदर घटाएका छन् । धेरै वाणिज्य बैंहरुको निक्षेपको ब्याजदर एकल अंकमा छ ।

विकास बैंक र फाइनान्स कम्पनीले भने भद्र सहमतीलाई कायम नै राखेको हुनाले बढाउने र घटाउने अंक तोकेको अवस्था छ । त्यसैले वाणिज्य बैंकहरुले जसरी ब्याजदर एक प्रतिशत विन्दुले नै बढाउने अवस्था छैन । वित्तीय प्रणालीको ब्याजदर सम्बन्धी जोखिम आगामी दिनमा वाणिज्य बैंकहरुका कारणले नै सृजना हुने अवस्था उच्च छ । तर नेपाल राष्ट्र बैंकले १० प्रतिशतको सीमा तोकेको हुनाले ब्याजदरको वृद्धि तिब्र हुनेमा यसले केही मद्दत गर्ने देखिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।