सन्तुलित मौद्रिक नीतिले वास्तविक अर्थतन्त्र बढाउँछ, उत्पादनमा लगानी बढाउन थप व्यवस्था आवश्यक

0
Shares

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सन्तुलित रुपमा आर्थिक गतिविधि विस्तार गर्ने गरी ल्याएको बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए । केन्द्रीय बैंकले घर कर्जाको सन्दर्भमा देखाएको लचकताले समग्र अर्थतन्त्र नै चलायमान हुने उनको भनाई हो ।

केन्द्रीय बैंकले चालु आवमा निजी क्षेत्रको कर्जा विस्तारको लक्ष्य ११.५ प्रतिशत राखेको छ । यो भनेको बैंक तथा वित्तीय संस्थाले ५ खर्ब ६५ अर्ब थप कर्जा लगानी गर्नुपर्ने हुन्छ । ५६५ अर्ब कर्जा लगानी भनेको विगतका वर्षहरुको हाराहारीमै रहेको अध्यक्ष केसीले बताए ।

“आर्थिक वर्ष २०७७/०७८ मा निजी क्षेत्रबाट सवैभन्दा धेरै ८ खर्ब कर्जा लगानी भएको थियो । त्यो भन्दा बाहेकका बर्षहरुको ४ देखि ५ सय अर्बकै हाराहारीमा कर्जा लगानी हुने गरेको थियो,” उनले भने,“केन्द्रीय बैंकले लिएको ११.५ प्रतिशतको लक्ष्य भन्दा माथि जानु हुदैन भन्ने पनि होइन ।” केन्द्रीय बैंकले लिएको कर्जा विस्तारको लक्ष्य पनि उत्पादन मुलक क्षेत्रमा रहेको बताउँदै उनले थपे,“मौद्रिक नीति वास्तविक अर्थतन्त्र बढाउने गरी आएको छ ।” चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाबाट प्रबाह हुने कर्जा उत्पादन मूलक क्षेत्रमा प्रेरित गर्नका लागि निर्देशित कर्जालाई जस्तै कुनै व्यवस्था केन्द्रीय बैंकले गर्न सक्ने अनुमान उनको छ ।

चालु आर्थिक वर्ष देखि कायम गर्नुपर्ने काउन्टर साइक्लिकल बफरका कारण केही बैंकहरुको कर्जा लगानी गर्ने क्षमता असर गर्ने भएपनि केन्द्रीय बैंकको लक्ष्य प्रभावित नहुने उनले बताए । “प्राथमिक पुँजीका कारण केही बैंकहरुको कर्जा लगानी गर्ने अवस्था धेरै नभएको देखिन्छ,” उनले भने,“त्यसका लागि केन्द्रीय बैंकले केही व्यवस्था गर्न सक्छ, प्राथमिक पुँजी बढाउने सन्दर्भमा कुनै व्यवस्था नगरेपनि हालको कर्जा लगानी गर्ने क्षमताले ११.५ को लक्ष्य पुरा हुन्छ ।”

मौद्रिक नीतिले स्ट्ण्ड वाइ डिपोजिट र करेन्सी स्वपाको नयाँ व्यवस्था गरेको छ । यसले बैंक वित्तीय संस्थालाई फाइदा नै पूग्ने केसीको भनाई छ । विदेशी मुद्रामा लिएको ऋणलाई हेजिङ गर्नुपर्ने हुनाले करेन्सी स्वापको कुराले त्यसलाई सम्बोधन गरेको उनको भनाई छ । त्यसैगरी स्ट्याण्ड वाइ डिपोजिटले बैंक वित्तीय संस्थामा अधिक तरलता भएको खण्डमा ४.५ प्रतिशतको दरमा केन्द्रीय बैंकमा राख्न पाइने हुँदा तरलता र व्याजदरमा सन्तुलन आउने उनको बुझाई छ ।

सरकारले पनि समयमा नै बजेट खर्च गर्ने प्रतिवद्धता गरेको हुनाले वित्तीय प्रणालीमा स्रोत अभावको समस्या नदोहोरीने उनले बताए । त्यसका साथै चालु आर्थिक वर्षमा पनि गत आवमा जस्तै रेमिट्यान्स आउने अपेक्षा उनको छ । त्यसले गर्दा पनि विगतको जस्तो तरलता अभाव हुने वा ब्याजदर बढ्ने देखिदैन । आगामी दिनमा ब्याजदर झनै घट्ने बताउदै उनले भने,“छिट्टै पुन भद्र सहमती गर्नुपर्ने अवस्था आउदैन ।” अहिले बैंकहरुको औसत बेस रेट १०.१९ र कर्जाको औसत ब्याजदर १२.५३ प्रतिशत रहेको जानकारी केसीले दिए ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिले गत आवको नीतिलाई निरन्तरता दिदै सन्तुलित खालको आएको छ । रियल स्टेट, सेयर धितो कर्जा र हायर पर्चेजमा साना खालका कर्जामा खुकुलो नीति लिएर अर्थतन्त्रलाई चलायमान बनाउन खोजिएको छ । घरजग्गामा गरिएको खुकुलो व्यवस्थाले डण्डि, सिमेन्ट, इटा लगायत निर्माण क्षेत्रको गतिविधिमा सुधार आउने अपेक्षा केसीको छ । अर्थतन्त्रमा देखिएको सुस्तता पनि सोही क्षेत्रको मन्दीलाई देखाउने गरकोे थियो । उक्त क्षेत्रको सुधार भएको खण्डमा आर्थिक गतिविधिमा पनि सुधार आउने केसीको बुझाई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।