रिलायबल नेपाल लाइफको सेयर ३५ प्रतिशत आवेदकले नपाउने, कति पर्यो आवेदन ?


रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले निष्काशन गरेको साधारण सेयरमा १४ लाख ७७ हजार ८७७ वटा आवेदन परेको छ । केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) का अनुसार सेयर निष्काशन बन्द भएको दिन शुक्रबार साँझसम्म मेरो सेयर मार्फत उल्लेखित संख्याको सेयर आवेदन परेको हो ।

आस्वा प्रणालीबाट परेका आवेदन यो तथ्यांकमा समावेश नभएको हुँदा कुल सेयर आवेदकको संख्या अझै बढ्न सक्ने देखिन्छ । सिडिएससीको उल्लेखित तथ्यांकका आधारमा रिलायबल को आईपिओमा आवेदन गरेका आवेदकमध्ये ३५ प्रतिशतभन्दा बढी आवेदकले सेयर नपाउने भएका छन् ।

कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थप गरी २५७ रुपैयाँको दरमा सर्वसाधारणमा ९६ लाख कित्ता सेयर निष्काशन गरेको थियो । १० कित्ताका दरले उक्त सेयर वितरण गर्दा ९ लाख ६० हजार आवेदकले मात्र पाउने छन् भने ५ लाख २० हजारभन्दा बढी आवेदकको हात खाली हुनेछ ।

कम्पनीले २०८० साउन २३ गते मंगलबारदेखि उक्त सेयर सर्वसाधारणमा निष्काशन गरेको थियो । इन्स्योरेन्सले जारी पूँजीको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर निष्काशन गरेकोमा १० प्रतिशत अर्थात १२ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि बाँडफाँड गरिसकेको छ ।

बाँकी रहेको १ करोड ८ लाख कित्तामध्ये ५–५ प्रतिशत सेयर कम्पनीका कर्मचारीहरु र सामूहिक लगानी कोष छुट्याइएको छ । बाँकी रहेको ९६ लाख कित्ता सेयर कम्पनीले सर्वसाधारणलाई बिक्री गरेको हो ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ । इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

कम्पनीले प्रिमियमबाट मात्रै १ अर्ब ७८ करोड रुपैयाँ संकलन गर्नेछ । १ करोड २० लाख कित्ताबाट संकलन हुने १ अर्ब २० करोड संकलन भएसँगै आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब पुग्नेछ । नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार न्यूनतम ५ अर्ब रुपैयाँ पुँजी पुर्याउन कम्पनीले बोनस तथा हकप्रद सेयर निष्काशन गर्ने जनाएको छ । कम्पनीले आईपीओ निष्कासनबाट एक अर्ब ७८ करोड प्रिमियम संकलन गर्ने हुँदा बोनसबाटै पनि न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्ने देखिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।