डिजलको भाउ एकैपटक १४ रुपैयाँ बढ्यो, पेट्रोलमा पनि वृद्धि


नेपाल आयल निगमले डिजलको भाउ एकैदिन १४ रुपैयाँले बढाएको छ । मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले डिजल र मट्टीतेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको निगम स्रोतले जानकारी दिएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएरकोले मूल्य समायोजन गरिएको निगमले जनाएको छ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १७५ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १६४ रूपैयाँ ५० पैसा पर्नेछ।

त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १७७ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १६६ रूपैयाँ पर्नेछ । तेस्रो वर्गअन्तर्गत काठमाण्डौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १७८ रूपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टीतेल १६७ रूपैयाँ पर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।