राष्ट्रिय बीमा संस्थानले सर्वसाधारणमा डेढ अर्बको सेयर जारी गर्ने, पब्लिकमा रुपान्तरण हुँदै


सरकारी स्वामित्वमा सञ्चालनमा रहेको राष्ट्रिय बीमा संस्थानले सर्वसाधारणमा डेढ अर्ब रुपैयाँको साधारण सेयर जारी गर्ने भएको छ । हाल संस्थानका रुपमा सञ्चालित बीमा संस्थान बीमा ऐनको दफा १७२ अनुसार पब्लिक कम्पनीमा रुपान्तरण भई सेयर निष्काशन गर्ने तयारी गरेको हो ।

बीमा कम्पनीमा रुपान्तरण हुनका लागि कम्पनीले भदौ १५ गते साधारण सभा बोलाएको थियो । तर, सरकारका तर्फबाट संस्थानलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्ने आवश्यक प्रकृया पुरा नभएका कारण उक्त विशेष साधारण सभा स्थगित हुने भएको छ ।

बीमा प्राधिकरणले गरेको व्यवस्था अनुसार बीमा संस्थान पब्लिक कम्पनीमा रुपान्तरण हुँदा न्युनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ कायम गर्नुपर्ने हुन्छ । यसका लागि हाल संस्थापकहरुको पुँजी साढे ३ अर्ब पुर्याउनु पर्नेमा नेपाल राष्ट्र बैंकले साढे ५५ प्रतिशतको अनुपातमा १ अर्ब ९४ करोड रुपैयाँ थप पुँजी भुक्तान गरिसकेको छ ।

संस्थानका प्रशासक कबि प्रसाद पाठकका अनुसार नेपाल बैंकले १६.६७ प्रतिशतले हुने पुँजी रकम यसै साता चुक्ता गर्दैछ । नेपाल सरकारका तर्फबाट २७.७८ प्रतिशतले चुक्ता हुनुपर्ने पुँजीका सम्बन्धमा प्रकृया निर्णायक नभएका कारण शुक्रबार हुने भनिएको विशेष साधारण सभा तत्कालका लागि स्थगन गर्नुपर्ने र अर्को मितिमा गर्नुपर्ने भएको उनले नोटबजारलाई बताए । सरकारबाट हाल कायम चुक्ता पुँजीलाई साढे ३ अर्ब पुर्याउन थप गर्नुपर्ने पुँजी आएपछि संस्थान पब्लिक कम्पनीमा रुपान्तरण हुने प्रकृया अन्तिम चरणमा पुग्नेछ ।

“अर्थमन्त्री केही दिन स्वदेशमा नहुनु भएको हुनाले यो प्रकृयामा थप काम हुन सकेन, जसका कारण विशेष साधारण सभा स्थगन गरी अर्को मिति तय गर्नुपर्ने भएको छ,” संस्थानका प्रशासक पाठकले भने, “आज (मंगलबार) साँझ संस्थान सञ्चालक समितिको बैठक बस्दैछ, उक्त बैठकले विशेष साधारण सभा औपचारिक रुपमा स्थगन गरी नयाँ मिति निर्धारण गर्नेछ ।” उनका अनुसार अर्थ मन्त्रालयसँग यस सम्बन्धमा आवश्यक समन्वय गरी सहमति तथा पुँजी जुटाउने कामलाई अन्तिम रुप दिइनेछ ।

हाल १८ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको संस्थानमा नेपाल राष्ट्र बैंकको ५५.५५ प्रतिशत लगानी छ । त्यसैगरी नेपाल सरकारको २७.७८ प्रतिशत लगानी रहेको संस्थानमा नेपाल बैंकको १६.६७ प्रतिशत लगानी छ ।

१८ करोड १० लाख रुपैयाँको पुँजीलाई पब्लिक कम्पनीमा रुपान्तरण हुँदा साढे ३ अर्ब पुँजी कायम गर्ने र उक्त पुँजीलाई ७० प्रतिशत कायम गरी बाँकी ३० प्रतिशतले हुने १ अर्ब ५० करोड पुँजी सर्वसाधारणमा सेयर जारी गरेर ५ अर्ब पुँजी कायम गर्ने संस्थानको तयारी छ ।

आर्थिक वर्ष २०७०/७१ सम्म यसै संस्थानबाट जीवन र निर्जीवन बीमा व्यवसाय सञ्चालन भई नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत रहेको थियो । एउटै संस्थाबाट दुई किसिमका सेवा प्रदान गर्दै आएको संस्थानलाई बीमा एने २०४९ को व्यवस्था अनुसार निर्जीवन बीमा र जीवन बीमा व्यवसाय गर्न अलग-अलग गर्ने निणर्य सरकारले २०७१ बैशाख २३ गते गरेको थियो ।

उक्त निणर्य अनुसार निर्जीवन बीमा व्यवसाय गर्न राष्ट्रि बीमा कम्पनीको स्थापना भई संस्थानलाई जीवन बीमा व्यवसाय मात्र गर्ने व्यवस्था भएको थियो । सूचीकरणसँग सम्बन्धित सबै दायरा उक्त कम्पनीतर्फ सारिएपछि २०७२ असारमा नेपाल स्टक एक्सचेञ्जमा बीमा संस्थानको सूचीकरण खारेज भएको थियो ।

वि.सं २०७२ असार ६ गते नेपाल स्टक एक्सचेञ्जमा राष्ट्रिय बीमा संस्थानको प्रतिकित्ता सेयर ५ हजार १०० रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।