सेयर बजारमा दोहोरो अंकको वृद्धि, जलविद्युतको सेयर मूल्यमा उछाल

0
Shares

यो साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से दोहोरो अंकले वृद्धि भएपछि लगानीकर्ताहरुको रोजइमा थोरै पुँजी रहेका जलविद्युतका सेयर परेका छन् । मंगलबार नेप्से ०.८२ प्रतिशतले बढ्दा जलविद्युतको इन्डेक्स ३ प्रतिशतभन्दा धेरै बढेको हो । जलविद्युतपछि विकास बैंक र फाइनान्सका सेयरमा पनि लगानीकर्ताको अधिक आकर्षण देखिएको छ ।

आज नेप्से १६.२४ अंक बढेर १९८५ दशमलव ४३ बिन्दुमा कायम भएको छ । हरियाली छाएको बजारमा सूचीकृत २७२ कम्पनीहरुका ४३ लाख ३६ हजार ५४३ कित्ता सेयर ५० हजार २९६ वटा संख्यामा खरिद बिक्री भएकोछ । कारोबार रकम १ अर्ब १७ करोड ६६ लाख ८० हजार ७५७ रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन सोमबार नेप्सेमा ४.२६ अंकको सामान्य वृद्धि हुँदा ८७ करोड ४ लाख ४४ हजार रुपैयाँको कारोबार भएको थियो ।

दोहोरो अंकले बढेको बजारमा होटर तथा पर्यटनमुलक र ब्यापार बाहेक ११ वटा उपसमुहगत सूचकमा हरियाली छाएको छ । जलविद्युत सर्वाधिक ३.२१ प्रतिशत बढेको छ। त्यस्तै वित्त उपसमूहको परिसूचक १.९५ प्रतिशत र विकास बैंक १.४८ प्रतिशतले बढेको छ । व्यापार ०.९२ प्रतिशत तथा होटल तथा पर्यटनमुलक सूचक ०.०९ प्रतिशतले घटेको छ ।

यसदिन भर्खरै दोस्रो बजारमा कारोबारमा आएका र थोरै सेयर पुँजी रहेका कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज ७ कम्पनीको सेयरमूल्य ९ प्रतिशत धेरैले बढेको बजारमा तीन कम्पनीको मूल्यमा सर्किट लागेको छ । यसदिन शुभम् पावर, थ्रीस्टार र मेन्छियम हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मकसर्किट लागेको हो । यसैगरी बलेफी हाइड्रोपावर ९.८० प्रतिशत, अभियान लघुवित्त ९.७९, पिपल्स हाइड्रोपावर ९.५६, राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन ९.२० प्रतिशतले बढेको छ । पन्चकन्या माइ हाइड्रोपावर, बाराही हाइड्रोपावर, मोलुङ्ग हाइड्रोपावर, हिमालयन हाइड्रोपावर, श्वेतगंगा हाइड्रोपावर, न्यादी हाइड्रोपावर र हिमालयन उर्जा विकास कम्पनीको सेयरमूल्य ८ प्रतिशतभन्दा धेरै बढेको छ।

आजको बजारबाट इमर्जिङ्ग नेपाल लिमिटेडको सेयरमूल्य सर्वाधिक घटेको छ। कम्पनीको सेयर ८ प्रतिशतले घटेको हो । यसैगरी आरबिबि म्युचुअल फन्डको इकाई ५.६४, शिाल बजार कम्पनीको ४.९७ प्रतिशत र ओरियज्टल होटलको सेयरमूल्य ३.५९ प्रतिशतले घटेको छ ।

मंगलबार रिलायबल लाइफ इन्स्योरेन्सको सर्वाधिक १० करोड ६४ लाख ४२ हजार रुपैयाँको सेयर कारोबार भएको छ। कम्पनीको सेयर घटेर उच्च कारोबार भएको हो । आजको बजारमा कम्पनीको २ लाख २० हजार ५६ कित्ता सेयर १७ हजार ७६ ववटा संख्यामा खरिद बिक्री भएको हो । कारोबार संख्या र कित्ता दुबैमा कम्पनी शीर्ष स्थानमा रहेको छ।

यस्तै ओरियन्टल होटलको ४ करोड ११ लाख, एनआईसी एशिया बैंकको ३ करोड ८५ लाख, माछापुच्छ्रे बैंकको २ करोड ९५ लाख र शिवम् सिमेन्टको २ करोड ५१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

मंगलबारको कारोबारपछि समग्र बजार पुँजीकरण २९ खर्ब ९२ अर्ब २५ करोड ८६ लाख रुपैयाँमा समेटिएको छ । हिजो सोमबार २९ खर्ब ६७ अर्ब ७६ करोड ८६ लाख रुपैयाँ बराबर थियो । आज मात्रै २४ अर्ब ४९ करोडले बजार पुँजीकरण बढेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।