तीजको दिन हरियो भयो सेयर बजार, २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

0
Shares

हिन्दु महिलाहरुको महान पर्व हरितालीका तीजको दिन सेयर बजार हरियो भएर बन्द भएको छ । उतार चढावपूर्ण रहेको सोमबारको बजार अन्त्यमा ४.२६ अंकको सामान्य वृद्धिमा बन्द भएको हो ।

अघिल्लो दिनको तुलनामा दश अंकसम्म नेप्से बढेपनि सो वृद्धि टिक्न नसक्दा झिनो सुधारमा नै सूचक बन्द भएको हो । सोमबार सूचक १९६९.१८ बिन्दुमा बन्द भएको छ । धितोपत्र बजार कारोबार खुलेको आधा घण्टामा नै आइतबारको तुलनामा १२ अंकसम्म घटेको थियो । त्यसपछि बढेको बजार सामान्य वृद्धिमा बन्द भएको हो ।

सोमबार दैनिक कारोबार रकम एक अर्बभन्दा मुनी नै कायमभएको छ । दिनभरमा ८७ करोड ४ लाख ४४ हजार १५६ रुपैयाँ बराबरको धितोपत्र खरिद बिक्री भएका छन् । यसदिन २७१ स्क्रिप्टका २८ लाख ७४ हजार २७५ कित्ता सेयर ४२ हजार २४ वटा संख्यामा खरिद बिक्री भएका हुन् ।असोज महीनाका लागि बैंकहरुले ब्याजदर बढाएपछि आइतबार नेप्से ४२ अंकले घटेर २ अर्ब २ करोड ८४ लाख रुपैयाँको कारोबार भएको थियो । 

सोमबार कारोबारमा आएका १३ उपसमुहगत सूचकमध्ये बैंकिङ्ग बाहेक १२ वटामा हरियाली छाएको छ । ब्यापार १.६० र जलविद्युत १.०४ प्रतिशतले बढेको बजारमा बैंकिङ्ग ०.४० प्रतिशतले घटेको छ । बाँकी १ प्रतिशतभन्दा कम बढेका छन् ।

आइतबारदेखि दोस्रो बजारमा कारोबार सुरु भएको रिलायबल लाइफ इन्स्योरेन्सको सोमबार सेयर मूल्य ६ रुपैयाँ घटेर उच्च कारोबार भएको छ । कुल ८७ करोडको कारोबार भएको सोमबारको बजारमा यस कम्पनीको मात्रै ९ करोड ३८ लाख मूल्यको धितोपत्र खरिद बिक्री भएको हो । यससँगै कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४८९ रुपैयाँमा झरेको छ ।

यस्तै एनआईसी एशिया बैंकको ४ करोड ३४ लाख, साल्ट ट्रेडिङ्गको ३ करोड ९९ लाख, एभरेष्ट बैंकको ३ करोड ६० लाख र आइएमई लाइफको २ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

सामान्य बढेको बजारमा दुई कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट लेबलमा वृद्धि भएको छ । सोमबार इमर्जिङ्ग नेपाल लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर १०५४ रुपैयाँ ४० पैसा पुगेको छ । यस्तै थ्रीस्टार हाइड्रोपावरको ९.९८ प्रतिशतले बढेर ३७१ रुपैयाँ ४० पैसा पुगेको छ । सोमबारको बजारमा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको ८.७१ प्रतिशत, आरबिबि म्युचुअल फन्डको ७.९४ प्रतिशत र मेन्छियम हाइड्रोपावरको ७.७७ प्रतिशतले सेयरको भाउ उकालो लागेको छ ।

आजको बजारबाट शुभम् पावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले घटेर ८८७ रुपैयाँ १० पैसामा झरेको छ । यसैगरी पिपुल्स पावरको ४.९६ प्रतिशत, समता घरेलु लघुवित्तको ३.५१ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ३ प्रतिशत र गुराँस लघुवित्तको सेयर मूल्य १.९९ प्रतिशतले घटेको छ ।

सोमबारको कारोबारपछि समग्र बजार पुँजीकरण २९ खर्ब ६७ अर्ब ७६ करोड ८६ लाख रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।