सरकारको प्रथामिकतामा सेयर बजार परेपछि बिहीबार उच्च अंकको सुधार

0
Shares

पुँजी बजारलाई सरकारले प्राथमिकतामा राख्ने बताएपछि सेयर बजारमा उछाल आएको छ । साातको अन्तिम कारोबार दिन सेयर बजार सूचक नेप्से ४४.३४ अंकले बढेर २०२९.७८ बिन्दुमा पुगेको छ । बिहीबार उच्चतम २०४०.२८ अंकसम्म बढेको भएपनि बन्द हुँदा माथिल्लो बिन्दुभन्दा  १०.५० अंक तल बन्द भएको हो ।

अर्थमन्त्री डा. अर्थमन्त्री प्रकाशशरण महत नै सेयर बजारमा देखिएको गतिरोधलाई हटाउन लागि परेका छन् । सेयर बजारलाई चलायमान र गतिशिल बनाउनका लागि उनले यसै साता मात्र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का सीईओ कृष्ण बहादुर कार्कीसँग छलफल समेत गरे । यस्तै अर्थतन्त्र चलायनमान बनाउनका लागि भू–उपयोग नियमावली संशोधन मार्फत जग्गाको कित्ताकाट खुलाएका अर्थमन्त्री महतले सेयर बजारमा पनि तरलता सहजीकरण गर्नुपर्ने भन्दै १२ करोडको सीमा हटाउन यसै साता गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरी आग्रह गरेका छन् । १२ करोडको सीमाका कारण सबैतिरबाट आक्रमणमा परेका गभर्नर अधिकारी पनि विद्यमान व्यवस्थालाई सहजीकरण गर्न तयार भएका छन् ।

भदौ २९ गते अर्थसचिव नियुक्त भई बिहीबार मात्रै कार्यभार सम्हालेका नवनियुक्त अर्थसचिव डा. कृष्णहरी पुस्करले पनि पुँजीबजारका विषयमा सबै सरोकारवाला मिलेर चुनौती व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको बताएका छन् । उनले भने,“ चुनौतीहरु बेलाबेलामा आइरहन्छन् । तिनलाई सम्बोधन गर्दै र व्यवस्थापन गर्दै जानुपर्ने हुन्छ । वित्त नीति र मौद्रिक नीतिका समन्वयात्मक कार्यान्वयनबाट सकारात्मक नतिजा प्राप्त गर्न सकिन्छ । ”

अर्थमन्त्री र गभर्नर तथा पुँजी बजारका नियामक धितोपत्र बोर्ड तथा बजार सञ्चालक नेप्सेका प्रमुखहरु नै बजारलाई चलायमान बनाउन छलफलमा जुटेपछि त्यसको सकारात्मक परिणाम धितोपत्र बजारमा पर्न थालेको हो । सोही कारोबार पछिल्ला तीन कारोबार दिन सेयर बजारमा निरन्तर वृद्धि आएको छ । आइतबार ४२ अंकले ओरालो लागेको बजार सोमबार ४.२६, मंगलबार १६.२४ र बिहीबार ४४.३४ अंकले बढेको छ । बुधबार संविधान दिवसको विदा रहेकाले सेयर खरिद बिक्री भएन ।

बिहीबार नेप्से परिसूचक २.२३ प्रतिशत बढेर २०२९.७८ विन्दुमा पुगेको छ । त्यसैगरी, ठल कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ७.५५ अंक बढेर ३८८.७२ विन्दुमा पुगेको छ । सेयर बजारमा छाएको उत्साहसँगै आज कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा २ अर्ब ११ करोड रुपैयाँ बढीले बढेको छ । अघिल्लो कारोबार दिन मंगलबार १ अर्ब १७ करोडको सेयर खरिदबिक्री भएकोमा बिहीबार ३ अर्ब २९ करोड नाघेको छ । यसदिन २७८ स्टकको १ करोड १२ लाख ६४ हजार ३०९ कित्ता सेयर १ लाख १९ हजार ३५९ वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम ३ अर्ब २९ करोड ३९ लाख २१ हजार ३६८ रुपैयाँमा समेटिएको छ ।

बजारमा हरियाली छाउँदा कारोबारमा आएका सबै १३ वटै उपसमूहगत सूचक बढेको छ । जसमध्ये जलविद्युतको सर्वाधिक ५.३१ प्रतिशत बढेको भने फाइनान्स ४.३८ प्रतिशत र विकास बैंक ३.७७ प्रतिशतले घटेको छ । लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको छ । आजैदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार खुला भएको सो इन्स्योरेन्सको सेयरमूल्य १.०९ अर्थात ५ रुपैयाँ २० पैसाले घटेको छ । इन्स्योरेन्सको २० करोड १८ लाख ३६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । यसैगरी रिलायबल नेपाल लाइफको १३ करोड ९६ लाख ५८ हजार र शिवम् सिमेन्ट्सको १० करोड ५२ लाख ७९ हजारको कारोबार भएको छ । यस्तै हिमाल दोलखा हाइड्रोपावर, सोल्टी होटल, माछापुच्छ्रे बैंक, घोराही सिमेन्टस्, आइएमई लाइफ इन्स्योरेन्स, अपि पावर, नेपाल लाइफ इन्स्योरेन्स र लुम्बिनी विकास बैंकको पाँच कारेड माथिको धितोपत्र किनबेच भएको छ ।

कारोबार कित्ताका आधारमा हिमाल दोलखाको सबैभन्दा धेरै ७ लाख २९ हजार २३२ कित्ता सेयर कारोबार भएको छ । कारोबार संख्याका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्सको ३२ हजार ५५१ वटा संख्यामा सेयर खरिद बिक्री भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ आश्विन २०८०, बिहिबार  १५ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।