दसैँमा नयाँ नोटको सुरक्षा गर्न राष्ट्र बैंकको आग्रह


नेपाल राष्ट्र बैँकले दसैँमा नयाँ नोटको कारोबार धेरै हुने भएकोले नोटको सुरक्षा गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले नयाँ नोट सटही गरेर बजारमा पठाउने गरेपनि ती नोट बैंकिंग प्रणालीमा आउँदा सोहि अवस्थामा नआउने भएकोले नोटको सुरक्षा गर्न आग्रह गरेको हो ।

‘सफा र सुकिला नोट मात्रै चलन चल्तीमा आउन भन्ने उद्देश्यले नेपाल राष्ट्र बैकले सफा नोट प्रयोग गर्ने नीति लिएको छ,’ राष्ट्र बैँकले सूचना जारी गर्दै भनेको छ, ‘नोटको प्रयोग गर्दा नखुम्च्याउने, पर्समा मिलाएर राख्ने, नकोर्ने, पानीमा भिज्न नदिने, पूजाआजामा अक्षता, अबिर, धूप, बत्ती तथा आगोबाट जगाउने र जथाभावी रङ र तेल नलाग्ने गरी जतन गर्नुपर्छ।’

 नोटलाई जथाभावी रङ र तेल नलाग्ने गरी जतन गर्दा किटाणुबाट पनि बच्न सकिने बैंकले जनाएको छ । दसैँसहितका चाडवाडलाई लक्षित गर्दै सोमबारदेखि सर्वसाधारणलाई नयाँ नोट वितरणसमेत सुरु गरिसकेको छ ।