राष्ट्रिय कर दिवस : ५५ लाख २५ हजार करदाताले लिए स्थायी लेखा नम्बर

0
Shares

‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने नाराका साथ आजदेखि सप्ताहव्यापी रुपमा राष्ट्रिय कर दिवस मनाइने भएको छ ।

आन्तरिक राजस्व विभाग र मातहतका कार्यालयमा एक सातासम्म करदाता शिक्षासँग सम्बन्धित विभिन्न कार्यक्रम गर्ने र मङ्सिर ७ गते उत्कृष्ट करदातालाई सम्मानित गरिने जनाएको छ । विभागअन्तर्गत एउटा ठूला करदाता कार्यालय, एउटा मध्यमस्तरीय करदाता कार्यालय, ४३ वटा आन्तरिक राजस्व कार्यालय र ३९ वटा करदाता सेवा कार्यालय गरी कूल ८४ वटा कार्यालय सञ्चालनमा रहेका छन् ।

विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० सम्ममा व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिएका करदाताको सङ्ख्या ५५ लाख २५ हजार ९१९ रहेको छ । जसमध्ये व्यावसायिक स्थायी लेखा नम्बर (बी–पान) लिएका करदाताको सङ्ख्या १८ लाख ७६ हजार तीन सय पाँच र व्यक्तिगत स्थायी लेखा नम्बर (पी–पान) लिने करदाताको सङ्ख्या ३६ लाख ४९ हजार छ सय १४ रहेको छ ।

गत आर्थिक वर्ष २०७९/८० मा सरकारले कूल ९ खर्ब ५७ अर्ब बराबर राजस्व असुली गरेकोमा आन्तरिक राजस्व विभागबाट उठेको राजस्व मात्र ४ खर्ब ७९ अर्ब बराबर थियो । जुन सरकारको कुल वार्षिक राजस्व असुलीको ५०.१२ प्रतिशत बराबर हो । गत आव सरकारले विभागलाई ६ खर्ब २६ अर्ब ६१ करोड बराबर राजस्व असुलीको लक्ष्य दिएकोमा लक्ष्यको ७६.५७ प्रतिशत अर्थात् ४ खर्ब ७९ अर्ब ७९ करोड बराबर राजस्व उठेको विभागले जनाएको छ । मुलुकको कूल गार्हस्थ्य उत्पादनमा आन्तरिक राजस्वको योगदान करिब २० प्रतिशत रहेको छ ।

आन्तरिक राजस्वको शीर्षकगत असुलीको प्रतिशत हेर्दा सबैभन्दा बढी योगदान आयकरको रहेको छ । कूल आन्तरिक राजस्वमा आयकरको हिस्सा ४४.५२ प्रतिशत छ । मूल्य अभिवृद्धि कर (भ्याट) को योगदान २४.५० र अन्तःशुल्कको योगदान २१.६७ प्रतिशत रहेको छ । त्यस्तै, ब्याजदरको योगदान ६.६७ प्रतिशत, घरबहाल करको योगदान ०.६४ प्रतिशत, स्वास्थ्य सेवा शूल्कको अंश १.४१ प्रतिशत र शिक्षा सेवा शूल्कको अंश ०.४२ प्रतिशत रहेको छ ।

गत आवमा कार्यालयगत राजस्व सङ्कलनको अवस्था हेर्दा ठूला करदाता कार्यालयको ३९ प्रतिशत देखिन्छ भने मध्यमस्तरीय करदाता कार्यालयको ४ प्रतिशत रहेको छ । त्यस्तै, आन्तरिक राजस्व कार्यालयको ५३ प्रतिशत र करदाता सेवा कार्यालयको ४ प्रतिशत रहेको विभागले जनाएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।