वित्तीय प्रणालीमा तरलता बढेपछि १० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

0
Shares

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा निक्षेप बढेपछि ’डिपोजिट कलेक्सन’ उपकरणको प्रयोग गर्ने भएको छ ।

केन्द्रीय बैंकले वित्तीय प्रणालीमा भएको अधिक तरलतालाई सन्तुलन कायम गर्नका लागि निक्षेप संकलन उपकरण मार्फत १० अर्ब रुपैयाँ खिच्न लागेको हो ।
केन्द्रिय बैंकले मंगलबार निष्कासन गर्ने १० अर्बको निक्षेप संकलन बजारको तरलता, डिपोजीट रेट तथा समग्र प्रणालीको अवस्थालाई विश्लेषण गरेर खुला बजार सञ्चालन समितिले निष्कासन गर्न लागेको हो ।

केन्द्रिय बैंकले एक सातापछि सावाँ तथा ब्याज भुक्तानी गर्ने गरी निष्कासन गर्न लागेको हो । सो वित्तीय औजारमा लगानी गर्ने संस्थाले पाउने ब्याजदरको सन्दर्भमा भने बोलकबोल माध्यमवाट निर्धारण हुनेछ ।

केन्द्रीय बैंकले ब्याजदर करिडोरको तल्लो सीमा अर्थात निक्षेप संकलन दर भन्दा तल अन्तर बैंक दर झरेपछि निक्षेप संकलन उपकरण प्रयोग गरेको हो । केन्द्रीय बैंकका अनुसार औसत अन्तर बैंक दर २.०७ प्रतिशत कायम भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिले ब्याजदर करीडोरको तल्लो सीमा ४.५ प्रतिशत कायम गरेको छ । राष्ट्र बैंकका अनुसार मंगलबारसम्ममा वित्तीय प्रणालीमा ५० अर्ब बढी अधिक तरलता रहेको छ ।

वित्तीय प्रणालीमा भएको अधिक तरलतालाई सन्तुलनमा ल्याउनका लागि अल्पकालीन वित्तीय औजार डिपोजीट कलेक्सन निष्कासन गर्न लगेको नेपाल राष्ट्र बैंकका अधिकारीको भनाइ छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” बर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलकबोल बमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा क्रमशः बाँडफाँड गरिने केन्द्रीय बैंकले जनाएको छ । खुला बजार कारोबार संचालन समितिले कट अफ रेट निर्धारण गर्न सक्नेछ ।

केन्द्रिय बैंकले यसअघि गत मंसिर ६ गते बुधबार पनि निक्षेप संकलन उपकरणमार्फत १० अर्ब खिचेको हो । उक्त निक्षेप संकलनका लागि १२ सहभागिले ७१ वटा बोल आवेदन मार्फत ३७ अर्बको माग गरेका थिए । अधिक मागका कारण औसत रेट पनि २ प्रतिशत भन्दा तल रहेको छ ।

केन्द्रीय बैंकका अनुसार हाल वित्तीय प्रणालीको कुल निक्षेप ५९ अर्ब ३७ अर्ब रहेको छ । कर्जा लगानी ४९ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ । त्यसैगरी बैंकिङ प्रणालीको औसत कर्जा निक्षेप अनुपात ८१.०१ प्रतिशत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।