सिंगटी हाइड्रो इनर्जीले हकप्रद जारी गर्न तोक्यो बुकक्लोज

0
Shares

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हकप्रद सेयर निष्काशनको लागि सेयर दाखिला बन्द हुने मिति (बुकक्लोज) तोकेको छ ।

कम्पनीको पुस १३ गते शुक्रबार बिहानको ९ः३० बजे सम्पन्न सञ्चालक समितिको बैठकको निर्णय बमोजिम कम्पनीको १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रयोजनका लागि पुस २२ गते आइतबार एक दिनका लागि बुकक्लोज हुने छ ।

बुकक्लोज अनुसार सिंगटी हाइड्रो इनजी लिमिटेडले जारी गर्ने हकप्रदमा पुस १९ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन् ।

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले हाइड्रोपावर कम्पनीलाई एक अर्ब ४५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्न पुस ११ गते बुधबार अनुमति दिएको छ । यससँगै अब सिंगटी हाइड्रो इनर्जी लिमिटेडले शतप्रतिशत बराबरको १ करोड ४५ लाख कित्ता हकप्रद सेयर जारी गर्नेछ । अब कम्पनीले विद्यमान सेयरधनीका लागि मिति ताेकेर एक बराबर एक कित्ता अनुपातमा हकप्रदको निष्कासन खुला गर्नेछ ।

कम्पनीले हकप्रद निष्कासनको माग गर्दै धितोपत्र बोर्डमा २०८० असार २७ गते निवेदन दिएको थियो । अनुमति मागको साढे पाँच महीनापछि कम्पनीले हकप्रद निष्कासन गर्न अनुमति पाएको हो । सिंगटी हाइड्रो इनर्जीले कालिञ्चोक र विगु गाउँपालिकास्थित सिंगटी खोलामा २५ मेगावाट क्षमताको आयोजनाको निर्माण सम्पन्न गरेको छ ।

कम्पनीले आफ्नै पहलमा प्रशारण लाइन निर्माण गरेर दोलखामा निर्माण सम्पन्न भएको आयोजनाबाट उत्पादित बिजुली लामोसाँघुस्थित प्रशारण लाइनमा २०७८ साउनदेखि जोडेको थियो। सिंगटीले प्राधिकरणलाई वार्षिक ७२ करोड रुपैयाँको बिजुली बेच्नेछ । त्यो वार्षिक ३ प्रतिशतले बढ्दै जानेछ ।  नेपाल विद्युत प्राधिकरणले २०६७ सालमा सबैभन्दा छिटो विद्युत उत्पादन हुने ६ वटा आयोजनाहरु फास्ट ट्रयागकबाट बिजुली उत्पादन गर्न भन्दै सुपर सिक्स नामकरण गरि निजी क्षेत्रलाई जिम्मा लगाएको थियो । तीमध्ये सिंगटी सबैभन्दा चाँडो बिजुली उत्पादन गरी प्रशारणलाइनमा जोडिने आयोजना हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १६ पुस २०८०, सोमबार  ११ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।