एनएमबि बैंकको अध्यक्षमा मनोज गोयल आउँदै, साधारण सभाले बनायो सञ्चालक


एनएमबि बैंकको सञ्चालक समितिमा संस्थापकको तर्फबाट मनोज कुमार गोयल र जीवन कुमार कट्वाल निर्वाचित भएका छन् । पुस २६ गते सम्पन्न बैंकको २८ औं साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको समुहबाट उत्तम भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदीलाई बैंकको सञ्चालक निर्वाचित गरेको छ ।

हाल बैंकको सञ्चालक समितिको अध्यक्षमा उद्योगी पवन गोल्यान छन् । उनी बैंकबाट बाहिरिएसँगै अध्यक्ष पदमा गोयल आउने छन् । सोही अनुसार साधारण सभाबाट उनी संस्थापकतर्फको सञ्चालक बनेका हुन् । बैंक सञ्चालक समितिको बैठकले गोयललाई अध्यक्ष नियुक्त गरेसँगै गोल्यान निवर्तमान अध्यक्ष बन्नेछन् ।

बैंकको साधारण सभाले एफएमओका तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दि प्रकाशलाई मनोनित गरी पठाए अनुसार उनी पनि सञ्चालक समसतमा नयाँ अनुहार बनेका छन् ।

गत आर्थिक वर्षको आम्दानीबाट लगानीकर्तालाई प्रतिफल वितरण नगरेको बैंकले साधारण सभाबाट अन्य नियमित प्रस्तावहरु पारित गरेको छ । गत मंसिर १३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले यस पटक सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको थियो ।

बैंकले २०८० असार मसान्तसम्ममा ३ अर्ब २२ करोड खुद नाफा कमाउँदा २ खर्ब १३ अर्ब ४ करोड निक्षेप संकलन तथा १ खर्ब ९७ अर्ब ४७ करोड कर्जा प्रवाह गरेको थियो ।

बैंकले हाल देशभरी २०१ शाखा, १७१ एटिएम र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।