बिग्रेका उपकरण मर्मत गरी सञ्चालन गर्दै मन्त्रालय


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न अस्पतालमा बिग्रिएका औजाररउपकरण मर्मत गरी सञ्चालन गर्न थालेको छ । सोहीअनुसार मन्त्रालयले सातवटै प्रदेशमा ‘बायोमेडिकल वर्कसप’ स्थापना गरेको छ । 
 
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले मन्त्रालयले नीति अनुसार नै नयाँ उपकरण किन्नुभन्दा पनि बिग्रिएका तथा पुराना उपकरणको मर्मत गरी सञ्चालन गर्न थालेको बताए । “स्वास्थ्यका धेरै उपकरण बिग्रेर सञ्चालन भएका छैनन् । ती उपकरणलाई हामीले मर्मत गरी सञ्चालन गरिरहेका छौँ”, उनले भने । 
 
स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले पुराना तथा बिग्रिएका उपकरणको मर्मत गरी सञ्चालन गर्नका लागि ‘बायोमेडिकल वर्कसप’ स्थापना गरेको छ । महाशाखाका आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा सुरेन्द्र चौरसियाले सातवटै प्रदेशमा अहिले पुराना, नचल्ने उपकरण मर्मत गरी सञ्चालन गर्ने कार्य भइरहेको जानकारी दिए । उनका अनुसार मधेश र कोशी प्रदेशबाहेक सबै प्रदेशमा वर्कसप स्थापना गरिएको छ । 
 
“पुराना, बिग्रिएका सामान मर्मत गरी सञ्चालन हुन्छन् भनेर पुराना उपकरण मर्मत गरिरहेका छौँ”, चौरसियाले भने, “यसले गर्दा राज्यको पैसा पनि बचत हुने र पुराना उपकरण मर्मत भई प्रयोगमा ल्याउन सकिन्छ । कम खर्चमा स्वास्थ्य उपकरण प्रयोग गर्न सकेमा अस्पतालहरुमा आवश्यकताअनुसार उपकरण उपलब्ध गराउन पनि सकिन्छ ।” उनका अनुसार वर्कसप प्रदेश सरकारको सहयोगमा स्थापना गरिएको हो । 
 
बायोमेडिकल इञ्जिनियरिङको समूहले ती बिग्रेका, थन्किएका स्वास्थ्य उपरकणको मर्मत गरी सञ्चालन गर्न मिल्ने बनाउने गरेका छन् । वर्कसपमा सिटी स्क्यान, भिडियो एक्सरे, एक्सरे, इको, इसिजीलगायत उपचारात्मक उपकरणको मर्मतसम्भार हुने गरेको छ ।
 
मधेश प्रदेशमा बजेट विनियोजन भइसकेकाले चालु आर्थिक वर्षमा वर्कसप स्थापना गरिने चौरसियाले जानकारी दिए । उनका अनुसार कोशी प्रदेशमा विश्व बैंकसँग वर्कसप स्थापना गर्नका लागि मन्त्रालयले सम्झौता गरेको छ । 

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: २९ पुस २०८०, आइतबार  १५ : ४५ बजे