बेथितीलाई निरुत्साहित गर्दा स्वार्थ समुह रिसायो : अर्थमन्त्री महत


अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट व्यवस्थापनका साथै बेथितीलाई सुधार गर्दा स्वार्थ समुह रिसाएको बताएका छन् । गोविन्द वियोगी स्मृति ट्रष्टद्वारा स्थापित गोविन्द वियोगी पत्रकारिता पुरस्कार हस्तान्तरण तथा वरिष्ठ पत्रकार सम्मान समारोहलाई नुवाकोटमा सम्बोधन गर्दै मन्त्री महतले यस्तो बताएका हुन् ।

देशको आर्थिक अवस्था अप्ठ्यारो भएकाले कुनै पनि संघसंस्थालाई राज्यले सहयोग गर्न नसकेको बताएका उनले सरकारको दायित्व घटाउने कामलाई प्राथमिकतामा राखिएको बताए । परिस्थिति सहज भएपछि संघसंस्थाको महत्वलाई बुझेर पुनः सहयोग उपलब्ध गराइने आश्वासन दिएका उनले दायित्व बढाउने क्रम तिब्र भइरहेको अवस्थामा आफु अर्थमन्त्री बनेको र त्यो क्रमलाई रोक्ने काममा आफु लागेको बताएका थिए ।
“मैले अर्थमन्त्रालयको जिम्मेवारी लिँदा समस्याको पहाड थियो, बजेट व्यवस्थापनमा पनि धेरै खालका बिथिति थिए । त्यसलाई अर्डरमा ल्याउने चुनौति मेरो सामू थियो । बानी परिसकेपछि त्यसलाई छोडेर अर्को धारको बाटो तय गर्नु एकदमै कठिन काम हुँदो रहेछ,” अर्थमन्त्री महतले भने, “त्यो बिथितिलाई एकै धक्कामा सफा गर्न पनि कठिन थियो । विस्तारै काम भइरहेको छ । दायित्वमाथि दायित्व सिर्जना हुँदै जाने, हिसाबकिताब नदेखिने अवस्थाको हामीले अन्त्य गर्दैछौं । यसबाट स्वार्थ समूह बेखुशी छन् । बजेट व्यवस्थापन विस्तारै सिस्टममा ल्याउँदैछौं ।”

बाह्य र आन्तरिक कारणबाट समग्र अर्थतन्त्रमा समस्याहरु भएको बताएका उनले कोभिड अगाडि र कोभिडका बेला खर्च गर्न सक्ने ठाउँ नै नभएका बेला धेरै ठूलो ऋण प्रवाह भएको बताए । “गलत समयमा धेरै ऋण प्रवाह भयो । लगानी गर्ने ठाउँ नभएपछि धेरै सेयर बजार र जग्गा कारोबारमा पैसा गयो,” मन्त्री महतले भने, “यसलाई रोक्न कसिलो मौद्रिक नीति आयो । लगानीको प्रतिफल नआउँदा दायित्व बढ्यो, ब्याज वृद्धि भयो । त्यो बेला ऋण लिएका ऋणी समस्यामा छन् । यो समस्या अहिले मुख्य छलफलको विषय बनेको छ ।”

लिने र दिने दुवैले जिम्मेवारी लिनुपर्ने बताएका उनले केही समय दिने र ब्याजदर घटाउने मौद्रिक नीति आएको भन्दै यसले राहत पुगेको दाबी गरे । विस्तारै अर्थतन्त्र लयमा फर्किदै गरेको, घर जग्गा कारोबार चलायमान भएको, नेप्से परिसूचक उकालो लागेको उनको भनाई थियो । धेरै वर्षपछि उच्च संख्यामा पर्यटक भित्रिएको बताएका उनले बाहिरबाट सिस्टममा प्रशस्त पूँजी प्रवाह भएको दाबी गरे । आत्मविश्वास पनि विकसित हुँदै गएको बताएका उनले भने, “आर्थिक वृद्धि पहिलेको तुलनामा बढ्छ, लगानीको नयाँ क्षेत्रको पहिचान गर्नुपर्छ । अर्थतन्त्रमा देखिएको अन्योल समाप्त हुँदैछ । सञ्चारकर्मी साथीहरुले सकरात्मक भाष्यलाई अगाडि बढाउनु हुनेछ । यसले आत्मविश्वास बढाउँछ ।”

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले देशको आर्थिक अवस्थाले मात्र पत्रकारिता समस्यामा नपरेको धारणा पनि राखेका थिए । पत्रकारिता समस्यामा पर्नुको मूल कारण सामाजिक सञ्जाल रहेको उनको टीप्पणी थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।