गैँडालाई गोली हानी मारेको आरोपमा एक जना पक्राउ


चितवन राष्ट्रिय निकुञ्जले गैँडालाई गोली हानी मारेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ६ का टीकाराम बोहोरा भन्ने खेसरबहादुर बोहोरा रहेका छन् । उनलाई तीन वर्षपछि पक्राउ गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बोहोरालाई माघ ९ गते हेटौँडा उपमहानगरपालिका वडा नं २ चौकीटोलबाट पक्राउ गरिएको थियो । विसं २०७६ भदौ ३१ गते नवलपरासीको अमलटारी क्षेत्रमा गैँडा मारी खाग काटेर लगेको र विसं २०७७ कात्तिक २० गते निकुञ्जको भोसाराघाटको आइल्याण्ड क्षेत्रमा गैँडालाई गोली हानी मारेर खाग काटी लगेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

ती घटनामा बोहोरासहित अन्य २४ जना प्रतिवादी रहेको सूचना अधिकारी तिवारीले जानकारी दिए । उक्त घटनामा संलग्न बोहोरासहित २१ जना पक्राउ परिसकेका छन् भने अन्य तीनजना फरार रहेका छन् । पक्राउ परेका बोहोरालाई बुधबार चितवन जिल्ला अदालतमा पेस गरिएको उनले बताए । –रासस 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।