सञ्चार सेवाबाट टाढा पातारासीको गढीगाउँ


जुम्लाको पातारासी गाउँपालिका–१ मा रहेको गढीगाउँ आजसम्म पनि सञ्चारको सुविधाबाट बञ्चित छ ।
 
जिल्लाको पूर्वी भेगमा पर्ने पातारासीको बजार क्षेत्रमा पर्ने डिल्लीचौर लासीआसपास गाउँबाहेक पातारासीका धेरैजसो गाउँ सञ्चारविहीन रहेको स्थानीयवासी दिनेश ऐडीले जानकारी दिएका छन् । 
 
सदियौँदेखि सञ्चारविहीन गढीगाउँका बासिन्दाले पुरानै प्रणालीअनुसार खबर आदान–प्रदान गर्दै आएका छन् । खबर आदान–प्रदान गर्न रैबार पठाउने वा मान्छेमार्फत खबर आदान–प्रदान गर्ने गरिन्छ । दुई सय ५० घरधुरी रहेको गढीगाउँमा एक हजार चार सय ५८ जनसङ्ख्या रहेको त्यहाँका बासिन्दाको भनाइ छ ।
 
वडासचिव नरबहादुर बुढाका अनुसार वडा कार्यालयमा टेलिफोन र इन्टरनेट नहुँदा अनलाइनमार्फत गर्नुपर्ने पञ्जीकरणका काम गाउँपालिकाको कार्यालय डिल्लीचौर पुगेर गर्नुपरेको छ । गाउँमा टेलिफोन सेवा नहुँदा खबर आदानप्रदान गर्न निकै समस्या भएको छ । 
 
देशको राजनीतिक गतिविधिदेखि अन्य समसामयिक जानकारी पाउन पनि यहाँका बासिन्दा बञ्चित भएको उनको भनाइ थियो । यहाँ कोही बिरामी परे समयमै स्वास्थ्य संस्था लैजाने साधन पाउन पनि मुस्किल हुनाका साथै तुरुन्तै खबर आदान–प्रदान गर्न पनि कठिन हुन्छ । 
 
तल्फीको गाउँमाथि डाँडामा टेलिफोनको टावर निर्माणाधीन अवस्थामा छ । सो टावर बनेपछि  गाउँमा टेलिफोनको सुविधा पुग्ने अपेक्षा गरिएको वडाध्यक्ष लालसिंह ऐडीले जानकारी दिए  । -रासस 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।