चौधरीलाई किर्ते कागज र ठगी कसुरमा थप अनुसन्धान गर्न पक्राउ गरिएको हो : सीआईबी


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले व्यवसायी अरुण कुमार चौधरी किर्ते कागज र ठगी कसुर अनुसन्धानका लागि पक्राउ गरिएको जनाएको छ । सीआइबीले चौधरी सहित अजित नारायण सिंह थापा र सञ्जय कुमार ठाकुरलाई बाँसवारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा ठगी गरेको अनुसन्धानका लागि पक्राउ गरिएको जनाएको हो । 

प्रहरी व्यवसायी चौधरीलाई बिहीबार पक्राउ गरेको हो । चौधरीको पक्राउपछि उद्योगी व्यवसायीहरूले चौतर्फी विरोध गरेका छन् । व्यवसायीको विरोधपछि शुक्रबार सीआइबीले पत्रकार सम्मलेन गर्दै पक्राउ गर्नुको कारण औपचारिक रुपमा सार्वजनिक गरेको हो ।

सीआइबीले तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा, तत्कालीन च्याम्पियन फुटवेयर कम्पनीका सेयरधनी तथा सञ्चालक रहेका अरुण चौधरी र चाँदबाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो ।

सिआइबीका अनुसार मालपोत कार्यालय डिल्लीबजारको मिति २०३७÷०७÷२० को निर्णयले बाँसबारी छाला तथा जुत्ता कारखानाको नाममा श्रेस्ता कायम भएको काठमाडौ जिल्ला साविक नगर २२ (छ) कि.नं. ५० को १८–३–२–० जग्गा सरकारको निर्णय विनै बिक्री गरेको आरोप छ । बिना सञ्चालक समितिलाई समेत कारखानाको नाममा श्रेस्ता कायम भएको जग्गा बेचबिखन गर्ने कुनै अधिकार नभएको अवस्था कानून विपरीत संचालक समितिले आफुलाई फाइदा र सरकारलाई हानी नोक्सानी गर्ने उदेश्यले २०४३ भदौ १० गते बाँसबारी छाला जुत्ता कारखानाको तर्फबाट हक हस्तान्तर गरेको अरोप उनीहरूलाई लागको सीआइबीले जनाएको छ । 

कार्यकारी अध्यक्ष अजित नारायण सिंह थापाले अरुण चौधरी समेत संचालक रहेको च्याम्पियन फुटवेयरको नामक कम्पनी खडा गरी सो कम्पनीको जारी पूँजी ५० लाखको २५ प्रतिशत सेयर लिने गरी क्यानभास जुत्ता उत्पादन गर्ने भनी बाँसवारी छाला जुत्ता कारखानाको नाममा श्रेस्ता कायम रहेको काठमाडौ जिल्ला साविक नगर २२ (छ) कि.न. ५० को १८–३–२–० जग्गा मध्येको १० रोपनी जग्गाको हक हस्तान्तरण गरेको सीआइबीको ठहर छ ।

च्याम्पियन फुटवेयरको जारी पूँजी ५० लाख रहेकोमा सो पूँजीको २५ प्रतिशत सेयर लिने गरी तत्कालीन संचालक समितिले निर्णय गरेको, सम्झौता बमोजिम १२ लाख पचास हजार लगानी गर्नु पर्नेमा २६ लाख २ सय ७८ लगानी गरी सरकारलाई हानी नोक्सानी पुर्याई आर्थिक लाभ लिएको पाइएपछि मुलुकी ऐन २०२० को किर्ते कागज र ठगीको महललाई निरन्तरता दिएको मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ र २७६ बमोजिमको कसुर अनुसन्धानको उनीहरूलाई पक्राउ गरिएको सीआइबीले जनाएको छ । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार  १७ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।