अध्यागमन विभागलाई गृहमन्त्रीको निर्देशनः यात्रुलाई दु:ख दिने काम तत्काल बन्द गर्नुस्


उप प्रधान तथा गृहमन्त्री रवि लामिछानेले अध्यागमन विभागलाई विमानस्थलमा यात्रुलाई सहज सेवा दिन निर्देशन दिएका छन् । मंगलबार कालिकास्थानस्थित विभागको कार्यलय पुगेर मन्त्री लामिछानेले विमानस्थलमा हुने अभद्र व्यवहारमा सुधार गर्न निर्देशन दिएका हुन् ।

विभागका सबै कर्मचारीलाई एकै स्थानमा राखेर मन्त्री लामिछानेले भने, “रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा जाँदा आउँदा गरिने अमर्यादित र अभद्र व्यवहार नगर्न तथा अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्तिमा तत्काल सुधार गनुस् ।”

अध्यागमनका कर्मचारीलाई विमानस्थलमा ओहोरदोहोर गर्नेहरुलाई सहानुभूतिसहित सकारात्मक व्यवहार गरी आजैबाट परिवर्तनको अनुभूति गराउन पनि उनले विभागका कर्मचारीलाई आग्रह गरे ।

विदेशीका लागि अध्यायमन देशको मुहार रहेको बताउँदै उनले भने, “मुहार नराम्रो हुँदा देशप्रति नै सकारात्मक धारणा बन्दैन । अध्यागमन सुधारका योजना ल्याउनुस् । तपाईंका योजनामा मन्त्रालयले सक्दो सहयोग गर्छ । म निर्देशन होइन सहकार्यमा विश्वास गर्छु।”

केही खराब मान्छेका कारण धेरै इमान्दारले दोष पाउने गरेको भन्दै उनले खराबलाई बेलैमा चिनेर इमान्दारलाई प्रोत्साहित गर्नुपर्नेमा जोड पदएका थिए । अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रविधिमैत्री बनाउनु पर्ने बताएका उनले जनशक्तिलाई पर्याप्त तालिम र कार्यस्थललाई स्रोत–साधान सम्पन्नतामा देखिएका चुनौतीसँगै प्रयास जारी राख्नुपर्नेमा जोड दिए।

“हिजोका घटनामा कसैलाई दोषारोपण गर्न चाहान्न । भविष्यमा त्यस्ता घटना र प्रवृत्ति दोहोरिनु हुन्न । दलीय आवद्धताका कारण कसैले संरक्षण गर्छ भन्ने नसोच्नु होला,” मन्त्री लामिछानेले भने ।

कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले सकारात्मक सोचाई र व्यवहारका साथ सेवा दिन, प्रविधिमैत्री बन्न, मनसायपूर्ण गल्ती नगर्न निर्देशन दिएका थिए ।

विभागका नवनियुक्त महानिर्देशक कोशहरि निरौलाले विभागको काम कारबाही, समस्या र चुनौतिबारे गृहकन्त्री लामिछाने तथा गृह संयन्त्रलाई जानकारी गराएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।