राष्ट्र बैंकलाई मौद्रिक नीतिमा नाडाको सुझाव, मूल्याङ्कनको ७५% सवारी कर्जा देउ


सवारी साधनका बिक्रेताहरुको छाता संस्था नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले सवारी साधनमा मूल्याङ्कनको ७५ प्रतिशत कर्जा दिने व्यवस्था गर्न राष्ट्र बैंकलाई सुझाव दिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीसँगको छलफलमा नाडाले हाल ५० प्रतिशत कर्जा दिँदै आएकोमा उक्त सीमालाई ७५ प्रतिशत बनाउन सुझाव दिएको हो ।

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले गर्भनर अधिकारीसँग भेटगरी अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत छलफल गरेको थियो । उक्त छलफलमा अध्यक्ष चौधरीले सुस्ताएको अटोमोवाइल क्षेत्रलाई माथि उकास्न जरुरी रहेको आंल्याएका थिए । यसका लागि नीतिगत सुधारको जरुरी रहेको भन्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिदेखि सुधारको पहल गर्न उनले गभर्नरसँग आग्रह गरेका हुन् ।

सवारी कर्जामा हालको ५० प्रतिशतलाई ७५ प्रतिशत बनाउँदा अटोमोवाइल व्यवसाय गतिशील हुने भन्दै नाडाले आउदो मोद्रीक नीतिबाटै यसलाई सम्बोधन गर्न आग्रह गरेको हो । नाडा अध्यक्ष चौधरीले पेट्रोल र डिजेलबाट चल्ने नीजि र व्यावसायिक महत्वका सवारी साधनहरुलाई छट्याउनु पर्ने भन्दै कालो सूचीमा परेका व्यक्ति वा कम्पनीमाथीको कारवाही ज्यादै फितलो भईरहेकाले यस सम्बन्धी नियमहरुलाई थप कडा र प्रभावकारी बनाउन आग्रह समेत गरे ।

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले भारतीय मालवाहक ट्रक नेपालबाट फर्किदा सामान समेत लैजाने गर्दा नेपालको ढुवानी व्यवसाय र ढुवानीका साधनहरुको विक्रीमा ठूलो असर परिरहेकोतर्फ ध्यानाकर्षण गराएका थिए । नेपालमा अटोमोवाइल कम्पोनेण्ट उद्योगहरुको प्रशस्त सम्भावना भएकोले यस्तो उद्योगहरु खोल्न सरकारले प्रोत्साहित गर्नू पर्ने धारणा राखेका उनले राष्ट्र बैंकले सहजीकरण गरिदिनुपर्ने बताए ।

नाडाको प्रतिनिधिमण्डलले ६ बुँदे सुझाव गभर्नर अधिकारीलाई हस्तान्तरण गरेको थियो । उक्त सुझाव ग्रहण गर्दै गभर्नर अधिकारीले अटोमोवाइल व्यवसायबाट राष्ट्रलाई ठूलो राजश्व आउने गरेको भन्दै अटोमोवाइल व्यवसायलाई दिगो बनाउन, फाइनान्सियल र इकोसिष्टम डेभलप गर्न र आर्थिक गतिविधि बढाउन नेपाल राष्ट्र बैंक लागि रहेको बताएका थिए । गभर्नर अधिकारीले अटोमोवाइल मार्केट कसरी चलिरहेको छ त्यसतर्फ विचार गर्नु पर्ने भन्दै व्यवसायलाई ठाउँमा ल्याउन नेपाल राष्ट्र बैंकले प्रयास गरिरहेको प्रतिकृया दिएका थिए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।