मिलेमतोमा कमसल गुणस्तरको चामल आयातको तयारी गरेको सप्लायर्सलाई ठेक्का


खाद्य व्यवस्था तथा कम्पनीले चामल खरिदका लागि आह्वान गरेको बोलपत्रमा कमसल गुणस्तरको चामल बिक्री गर्ने सप्लायर्सलाई ठेक्का दिएको छ । कम्पनी सँगको मिलेमतोमा भारतबाट म्याद गुज्रिएको चामल आयात गरी बिक्री गर्ने तयारी गरेको सप्लायर्सले ठेक्का पाएको खुल्न आएको हो । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट चामल ल्याउने ठेक्का पाएको सप्लायर्सले गुणस्तरहीन चामल आयात गर्ने र उपभोक्तालाई बिक्री वितरण गर्ने तयारी गरेको जानकारी स्रोतले दिएको छ । खाद्य व्यवस्था तथा कम्पनीले गत वैशाख २६ गते विभिन्न प्रकारका ७७ हजार क्विन्टल चामल खरिदका लागि खुलाएको बोलपत्रमा आवेदन दिएका कम्पनीको सूची जेठ ३२ गते सार्वजनिक गरेको थियो । ठेक्का प्रक्रियामा सामेल कम्पनीमध्ये सबैभन्दा न्यून दरभाउमा बोलकबोल गर्ने कम्पनी छनौट भएका थिए ।

कम्पनीले ७ वटै प्रादेशिक कार्यालयबाट १० वटा ठेक्का आह्वान गरिएको थियो । ती ठेक्का मध्ये जय गुरु राइस मिल्स ४ वटा, सुनिल राइस मिलले ३ वटा र लक्की राइस मिल्सले २ वटा तथा गिरिधारी फुड इन्डस्ट्रीलाई छनोट गरेको हो । यसरी छनोट भएका सप्लायर्सबाट कम्पनीले १५ दिनको समय दिएर यही असार ७ गते सूचना प्रकाशित गर्दै सम्झौताका लागि आह्वान पनि गरेको छ । 

कम्पनीले आह्वान गरेको कूल १० मध्ये ४ वटा ठेक्का पाएको जय गुरु राइस मिल्सले मिलेमतोमा ठेक्का पाएको अन्य प्रतिस्पर्धीको आरोप छ । जय गुरुले भारतबाट म्याद गुज्रिएको, गुणस्तरहीन र कुहिएको चामल ल्याउने तयारी गरिरहेको उनीहरूले बताए । “सप्लायर्सले रूपन्देही र भैरहवा लगायतका स्थानबाट भन्सार छली गरेर म्याद गुज्रिएका चामल ल्याउने तयारी गरेको छ,’ स्रोतले भन्यो,“ सोही चामल नेपालमा बिक्री वितरण गर्ने गरी मिलेमतोमा ठेक्का पाएको स्पष्ट हुन्छ ।” 

यस सन्दर्भमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग बुझ्दा बोलपत्र कानूनी प्रक्रिया अनुसार नै भएको कम्पनीको दावी छ । कम्पनीका अनुसार सप्लायर्सले ल्याएको चामल बिक्री वितरण गर्नु भन्दा अघि प्राविधिकले परीक्षण गरेपछि वितरण हुने जनाएको छ । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।