प्रकाशकीयः नोटबजार छैठौं वर्षमा प्रवेश


आर्थिक क्षेत्रमा केन्द्रित भई तथ्यपरक समाचार सम्प्रेषण गर्ने लक्ष्यका साथ उपस्थिति जनाएको नोटबजार डटकमले २०८१ साउन १ गतेदेखि आफ्नो यात्राको पाँचौं वर्ष पुरा गरी छैठौं वर्षमा प्रवेश गरेको छ । यस सुखद घडीमा नोटबजार परिवार आमपाठक, समाचार स्रोत, विज्ञापनदाता, शुभचिन्तक लगायत सबैप्रति विशेष आभार व्यक्त गर्दछ । संस्थामा कार्यरत कर्मचारी, प्राविधिक, सहयोगीहरुको भूमिकाप्रति पनि हार्दिक आभार व्यक्त गर्दछौं ।

आर्थिक विषयलाई मुख्य विधा बनाएर गरिने पत्रकारिताको इतिहास धेरै लामो छैन । त्यसमा पनि अनलाइन माध्यमबाट हुने यस किसिमको पत्रकारिताको इतिहास झनै छोटो छ । प्रविधिको विकाससँगै हरेक व्यक्तिको हात हातमा समाचारको पहुँच पुगिरहेको वर्तमान सन्दर्भमा पाठकको सही सूचनाको उपलब्धता पनि चुनौतीपूर्ण बन्दै गएको सर्वविदितै छ ।

यही चुनौतीलाई नजिकबाट अनुभुत गरेर “कमिटेड फर एक्यूरेसी” अर्थात “तथ्य सूचनामा प्रतिबद्ध” हुने प्रण गर्दै नोटबजारको परिकल्पना गरिएको थियो । आमपाठकलाई तथ्यपरक सूचना उपलब्ध गराउने उद्देश्यका साथ २०७६ साउन १ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको नोटबजारले आज पाँचौं वसन्त पार गरेको हो ।

यस अवधिमा नोटबजारमा प्रकाशन भएका समाचार सामाग्रीमा हामीले गरेका प्रतिवद्धता कति पुरा गर्यौं कति बाँकी छन्, यसको मूल्याङकन आमपाठकहरुले नै गर्दै आउनु भएको छ । विगतमा जस्तै आगामी दिनमा पनि आमपाठकहरुबाट आएको सुझावलाई रचनात्मक रुपमा प्रस्तुत गर्ने विश्वास दिलाउन चाहन्छौं ।

यो पाँच वर्षे अवधिमा तथ्य र तथ्यांकमा आधारित रहेर आमपाठकहरुलाई अर्थतन्त्रका विविध पक्षहरुमा सूसुचित गर्ने मात्र नभई सम्बन्धित निकायलाई खबरदारी गर्ने काममा थप शशक्त बन्न नोटबजार परिवारलाई थप प्रेरणा मिलेको छ ।

आमपाठक, विज्ञापनदाता, समाचार स्रोत, शुभचिन्तक तथा सम्पुर्ण सरोकारवालाहरुबाट पाएको अगाध विश्वास, स्नेह र सहयोगले नोटबजारलाई आगामी दिनमा थप जिम्मेवार बनाएको छ ।

आमपाठकले दिएको जिम्मेवारी शिरोपरी गरेर नै आगामी दिनमा पनि आर्थिक बिषयवस्तुमा केन्द्रित रहेर कलम चलाउने प्रतिबद्धता व्यक्त गर्दछौं । यस क्रमममा यहाँहरुको सक्रिय सहयोग, सूचनाको उपलब्धता लगायत विषयमा नोटबजार हरदम हरपल पर्खाइमा रहने व्यहोरा अनुरोध गर्दै तपाईँहरुबाट प्राप्त हुने सूचनाको समाचार बन्ने कुरामा विश्वास दिलाउन चाहन्छौं । तपाईँहरुको साथ र सहयोगमा नोटबजार डटकमले आगामी दिनमा थप उचाईको यात्रा तय गर्नेमा विश्वस्त हुन नोटबजार परिवार हार्दिक अनुरोध गर्दछ ।

– प्रकाशक, नोटबजार प्रालि नोटबजार एवं परिवार ।