सेयर बजारको पुँजीकरण ४० खर्ब ६७ अर्ब नाघ्यो, मंगलबार मात्रै १ खर्ब १९ अर्बले बढ्यो

0
Shares

धितोपत्र बजारमा लगानीकर्ताको सम्पत्ति मापक सूचक धितोपत्रको कुल बजार पुँजीकरण साउन ८ गते मंगलबार ४० खर्ब ६७ अर्ब ४२ करोड १५ लाख १७ हजार रुपैयाँ पुगेको छ । मंगलबार मात्रै यस्तो रकम अघिल्लो दिनको तुलनामा १ खर्ब १९ अर्ब ५३ करोड ८२ लाख रुपैयाँले बढेको हो ।

सोमबार बजारको कुल पुँजीकरण ३९ खर्ब ४७ अर्ब ८८ करोड ३३ लाख ५० हजार रुपैयाँ कायम भएको थियो । नेप्से ३.०२ प्रतिशतले बढेपछि बजार पुँजीकरणमा पनि उत्साहजनक वृद्धि भएको हो । मंगलबार सहित बजार लगातार ६ कारोबार दिनमा नेप्से सूचक ३२२.९९ अंकले बढेको छ भने कुल बजार पुँजीकरण पनि ५ खर्ब १३ अर्ब ७४ करोड ४२ लाख रुपैयाँले बढेको हो ।

नेकपा एमाले–नेपाली कांग्रेस गठबन्धनलाई लगानीकर्ताले विश्वास गर्दा सेयर बजार नयाँ सरकार बन्ने सम्झौता (गत असार १७ गते) गठनयता मात्रै ५१०.०५ अंकले बढेको हो । असार १६ गते २०५३.३८ अंकमा रहेको नेप्से साउन ८ गते मंगलबार आइपुग्दा २५६३.४३ बिन्दुमा पुगेको हो । यस अवधिमा कुल बजार पुँजीकरणको वृद्धि ८ खर्ब ११ अर्ब ३६ करोड रुपैयाँले बढेको छ । गत असार १६ गते बजार पुँजीकरण ३२ खर्ब ५६ अर्ब ६ करोढ १४ लाख रुपैयाँ थियो ।

बजारमा उत्साह कायमै रहँदा आज पनि दैनिक कारोबार रकम पनि १५ अर्ब हाराहारीमा छ । पछिल्लो चार दिनमा मात्रै ५८ अर्ब ८१ करोड ८९ लाख ३८ हजार बढीको सेयर कारोबार भएको छ । मंगलबारको कारोबारपछि बजार पुँजीकरणको आधारमा नेपाल टेलिकमको सबैभन्दा धेरै पुँजीकरण रहेको कम्पनीको रुपमा स्थापित छ । यस कम्पनीको कुल १ खर्ब ६९ अर्ब २ करोड बराबर रहेको छ । जुन कुल बजार पुँजीकरणमा ४.१६ प्रतिशत बराबर हो ।

नेपालको इतिहासमा नै २०७८ भदौ २ गते कुल बजार पुँजीकरणले सर्वाधिक बिन्दुमा पुगेर रेकर्ड कायम गरेको थियो । उक्त दिन कुल बजार पुँजीकरण ४४ खर्ब ६८ अर्ब ५० करोड ५२ लाख ९० हजार रुपैयाँ रहेको थियो । जुन मंगलबार कायम भएको कुल बजार पुँजीकरणभन्दा ४ खर्ब १ अर्ब ८ करोड ३८ लाख रुपैयाँ धेरै हो ।

नेप्से सूचक ६ कारोबार दिनमा ३२३ अंकले बढ्यो

यसैगरी दोस्रो ठूलो बजार पुँजीकरण नबिल बैंकको रहेको छ । बैंकको मंगलबार कुल बजार पुँजीकरण १ खर्ब ५६ अर्ब ६६ करोड रहेको छ। नागरिक लगानी कोष बजार पुँजीकरणका आधारमा तेस्रो कम्पनीको रुपमा स्थापित बनेको छ । उक्त कम्पनीको कुल बजार पुँजीकरण १ खर्ब ३१ अर्ब ८ करोड ८१ लाख रुपैयाँ, नेपाल रि इन्स्योेन्स कम्पनीको १ खर्ब ६ अर्ब ४२ करोड ४५ लाख रुपैयाँ रहेको छ। नेप्सेमा सूचीकृत कम्पनीमध्ये चार ओटा कम्पनीको कुल बजार पुँजीकरण एक खर्बभन्दा धेरै छ ।

यसैगरी पाँचौ ठूलो बजार पुँजीकरण रहेको ग्लोबल आईएमई बैंकको ८० अर्ब ६० करोड ३२ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकको ७६ अर्ब ८९ करोड १७ लाख, एनआईसी एशिया बैंकको ७५ अर्ब ७८ करोड १२ लाख, एभरेष्ट बैंकको ७२ अर्ब ३७ करोड २६ लाख, हिमालयन रि इन्स्योरेन्सको ७० अर्ब ४० करोड ८० लाख रुपैयाँ र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको ६२ अर्ब २२ करोड ४९ लाख रुपैयाँ रहेको छ । नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक र नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडको बजार पुँजीकरण ५० अर्बभन्दा धेरै रहेको छ ।

धितोपत्र बजार पुँजीकरण के हो ?

धितोपत्रको बजार पुँजीकरण भनेको नेप्सेमा सूचीकृत सेयरहरुको कूल बजार मूल्य अर्थात सम्पूर्ण सूचीकृत कम्पनीको सेयर मूल्य र सेयर संख्याको गुणनफल हो । जसलाई हामी सेयर बजार पुँजीकरण भनेर बुझ्दछौं ।

नेप्सेको बजार पुँजीकरण गणना गर्दा सूचीकृत कम्पनीको सेयर मूल्यको महत्वपूर्ण भूमिका हुन्छ । बजार पुँजीकरण भनेको सेयर बजारमा रहेको सम्पत्तिको आकार हो । नेप्से परिसूचक बढ्दा बजार पुँजीकरण पनि स्वभाविक रुपमा बढ्छ । बजार पुँजीकरण बढ्नु भनेको ती दिनमा किन्ने लगानीकर्ताको लागि नाफा भएको बुझिन्छ । बजार पुँजीकरण बढ्नु भनेको सेयरधनीको सम्पत्ति बढेको हो । बजार पुँजीकरणले समग्र बजारको अवस्थालाई समेत देखाउने भएकाले लगानीकर्ताको आम्दानी तथा नोक्सानीलाई प्रत्यक्ष मूल्याङ्कन गर्न सकिन्छ । नेप्से परिसूचक, बजार पुँजीकरण र कारोबार रकम सबैमा सुधार आउनु भनेको सेयर लगानीकर्ताका लागि सकारात्मक हो ।

पछिल्लो समयमा धितोपत्र बजार नयाँ र ठूला कम्पनी समेत थपिएको हुँदा कुल बजार पुँजीकरण बढ्नमा थप मद्दत गरेको छ । तरपनि बजार सूचकले बनाएको नयाँ उचाइ नै कुल बजार पुँजीकरण उच्च भएको हो । पछिल्लो समय संसदका दुई ठूदा दल नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनमा सरकार आएपछि लगानीकर्तामा आत्मविश्वास उल्लेख्य रुपमा बढेको छ । अर्कोतिर बैंकिङ्ग प्रणालीमा लगानीयोग्य तरलताको अवस्था थ्रुपँदै गएको छ । त्यसले गर्दा पनि अनुमान गरिएभन्दा बजारले थप नयाँ उचाइ लिएको हो । वित्तीय प्रणालीमा तलरता अधिक भएको अवस्थामा सेयर बजारमा लगानी बढ्ने गर्छ । त्यसको मूख्य कारण भनेको तरलता धेरै भएको समयमा ब्याजदर घट्ने हुनाले पनि धितोपत्र बजारमा लगानी बढ्न जान्छ । साउन २ गतेसम्म बैंकिङ्ग प्रणालीमा ६४ खर्ब ६४ अर्ब निक्षेप पुगेको छ भने कुल कर्जा लगानी ५१ खर्ब ४४ अर्ब रहेको छ । कर्जा निक्षेप (सिडी) अनुपात घटेर ७७.८७ प्रतिशतमा झरेको छ । अन्तरबैंक ब्याजर २.९५ प्रतिशत रहेको छ ।

मंगलबार नेप्सेमा ३१७ कम्पनीको १ लाख ७१ हजार ३८७ कारोबारबाट १४ अर्ब ११ करोड ६३ लाख रुपैयाँ बरावरको ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता सेयर खरिद बिक्री भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।