मनपरी इनड्राइभ

चाडबाडको मौकामा यात्रु ठग्दै इनड्राइभलगायत राइड सेयरिङ एप, २० किलोमिटरको भाडा ८०० रुपैयाँ !


काठमाडौँ । रसियाबाट सुरु भएर हाल नेपालमा सञ्चालन भइरहेको राइड सेयरिङ एप ‘इनड्राइभ’ ले मनपरी शुल्क लिएको भन्दै यात्रुबाट गुनासो आएको छ ।
दसैँ, तिहार जस्ता ठुला चाडबाडको मौका छोपी ‘इनड्राइभ’ले मनपरी शुल्क लिएको यात्रु आँचल घिमिरेले बताइन् ।

भक्तपुर सूर्यविनायक बस्ने घिमिरे आफ्ना दाइलाई तिहारको दिन टीका लगाउन कपन पुगेकी थिइन् । कपन जाँदा ३०० रुपैयाँ तिरेर ‘इनड्राइभ’मा गइन् । आफ्ना दाइको सुख–समृद्धि, आरोग्य एवं दीर्घायुको कामनासहित टीका समापन गरेर घर फर्किन ‘इनड्राइभ’ मा लोकेसन हाल्दा २० किलोमिटर दुरीको ८०० रुपैयाँ भाडा देखायो ।

उनी आश्चर्यमा परिन् । आउँदा ३०० रुपैयाँ तिरेर आएकी उनी त्यही ठाउँ फर्किंदा त ८०० रुपैयाँ पुगिसकेछ ।

‘इनड्राइभ मात्र होइन, पठाओमा पनि कपनदेखि सूर्यविनायकसम्म ५०० रुपैयाँ देखाइरहेको थियो । यो त सरासर यात्रु ठग्ने काम हो,’ उनले थपिन्, ‘चाडबाडको समयमा यात्रुलाई सहुलियत दिनुपर्नेमा झन् ठगिरहेका छन् । यो त नियन्त्रण हुनुपर्ने हो नि !’

ट्याक्सीमा बार्गेनिङको झन्झट नबेहोर्न ‘इनड्राइभ’ ‘पठाओ’ इन्स्टल गरेकी उनले अब कुनै पनि राइड सेयर नलिने सोच बनाइन् । कपनको भंगालबाट चाबहिल जाने बस चढ्न बस कुरेर बसेकी उनलाई ३० मिनेटको अवधिमा २० वटा राइडर ‘पठाओ हो ?’ भन्दै सोध्न आए ।

उनले त्यहाँ पनि सूर्यविनायकसम्म कति हो भनेर सोध्न छाडिनन् । त्यहाँ त झन १००० भन्दा घटी कसैले भनेनन् । कोहीले त टाढा छ, चाडबाडको बेला १५ सय मात्रै दिनु न पनि भने ।

आँचल मात्रै होइन, तिहारको बेला आफ्नी दिदीसँग टीका लगाएर फर्किन लागेका ईश्वर खत्रीले पनि त्यस्तै समस्या भोग्नुप¥यो । भक्तपुर क्याम्पसमा पढ्दै गरेका २३ वर्षीय ईश्वर राइड सेयरिङ एपको यस्तो जादती देखेर छक्क परे ।

२ बजेको समयमा घर फर्किन लागेका उनले ‘इनड्राइभ’ मा बानेश्वरदेखि सूर्यविनायकसम्मको भाडा ६०० रुपैयाँ देखे । २५० रुपैयाँमा पुगिन्छ भनेर ‘इनड्राइभ’ खोलेका उनी ६०० रुपैयाँ नभएर दिदीकोमा नै बसेको बताउँछन् ।

गाडी नचल्ने बेला ‘इनड्राइभ’को यस्तो मनपरी कार्य खेदजनक भएको उनले बताए ।

नेपालमा राइड सेयरसम्बन्धी कानुनी व्यवस्था प्रष्ट छैन । त्यसैले पनि यस्ता राइड सेयरिङले मनलाग्दी पैसा असुलेको उनी बताउँछन् ।

नेपालमा चलिरहेका राइड सेयरिङ कम्पनीले माग र पूर्तिका आधारमा मूल्य निर्धारण गर्नु नै गलत रहेको उनले बताए ।

इनड्राइभले बार्गेनिङकै शैली अपनाएको भन्दै आक्रोशित बनेका उनले भने, ‘समस्या पर्दा काम नलाग्ने एप हामीलाई चाहिँदैन । अब यसलाई सरकारले नै खारेज गर्नुपर्ने व्यवस्था गर्नुपर्छ ।’

केही समय अघि कानुनबिनै राइड सेयरिङ कम्पनी खुलेको भन्दै उच्च अदालत पाटनमा मुद्दा दायर भएको थियो । उच्च अदालतले २०७६ सालमै कानुन बनाएर नियमन गर्न सरकारका नाममा परामादेश दिए पनि ऐन बनेको छैन ।

परमादेशपछि बाग्मती प्रदेश सरकारले सवारी तथा यातायात व्यवस्था ऐन बनाए पनि उक्त कानुन संघीय ऐनसँग बाझिएको भन्दै कार्यान्वयन भएको छैन । कानुन नबन्दा राइड सेयरिङ कम्पनी नियमन हुन सकेको छैन ।

सन् २०१२ मा रसियामा सुरु भएको इनड्राइभ नेपालमा सन् २०१९ बाट सञ्चालनमा आएको हो । इनड्राइभले नेपालमा वैधानिक रूपमा दर्ता गरी लाइसेन्स पनि पाइसकेको छ ।

कसैलाई कमिसन तिर्नुनपर्ने भएकाले इनड्राइभ चलाउन सजिलो हुने चालकहरू बताउँछन् । यद्यपि, केही समय पहिलेबाट इनड्राइभले समेत राइडरसँग १० प्रतिशत कमिसन लिन थालेको  छ । यसमा राइडर वा यात्रुको दुर्घटना बिमासमेत हुँदैन ।

सवारी प्रयोग गर्ने क्रममा यात्रु दुर्घटनामा परे यात्रु र चालक दुवैले आ–आफ्नो उपचार गर्नुपर्ने इनड्राइभ चालकहरू बताउँछन् । इनड्राइभ ४७ देशमा सञ्चालित छ, जसको मुख्यालय अमेरिकाको क्यालिफोर्नियामा छ ।

यसले मूल्य घटाउने या बढाउने (बार्गेनिङ)को अप्सन दिन्छ र पठाओको तुलनामा यसको जिपिएस ट्रयाकिङ एकदमै राम्रो भएको मानिन्छ ।

महँगो ट्याक्सी सेवा लिनुभन्दा तुलनात्मक रूपमा सस्तो राइडिङ सेवा काठमाडौँ उपत्यकाबासीका लागि राम्रो छनोट बनेको इनड्राइभले पछिल्लो समय भाडा तलमाथि गरिरहँदा विवादमा मुसिन थालेको छ । इनड्राइभले इन्साइट पार्टनर्स, जनरल क्याटालिस्ट तथा बन्ड क्यापिटलको १५ करोड डलर लगानीसहित युनिकर्न स्टाटस प्राप्त गरेको थियो । यो प्रक्रियामा कम्पनीको मूल्यांकन १ अर्ब २३ करोड डलर गरिएको थियो ।

यो एपले हालसम्म नेपाली वेबसाइट सार्वजनिक गरेको छैन । १ लाख भन्दा धेरै लाइक भएको यसको नेपालको फेसबुक पेजमा इनड्राइभको कुनै पनि व्यक्तिको सम्पर्क नम्बर वा कार्यालयको ठेगानासमेत राखेको छैन ।

 

प्रकाशित मिति: १९ कात्तिक २०८१, सोमबार  १७ : ३६ बजे