चार सञ्चारमाध्यम कालोसूचीमा, सातवटालाई विशेष अनुगमन


प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल कार्य गर्ने चारवटा सञ्चारमाध्यमलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ भने सातवटालाई विशेष अनुगमनमा राखी छानबिन गरिरहेको जनाएको छ। काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

काउन्सिलको निर्देशन अटेर गर्ने, एकपक्षीय र तथ्यगत पुस्ट्याइँबेगर सूचना सामग्री सम्प्रेषण गर्ने सञ्चारमाध्यमहरूलाई कारबाही गरेको काउन्सिलले जनाएको छ। दसैँअघि पनि काउन्सिलले तीनवटा सञ्चारमाध्यमलाई कालोसूचीमा राखेको थियो।

आइतबार थप एक साप्ताहिक, एक टेलिभिजन र दुई अनलाइन सञ्चारमाध्यमलाई कालोसूचीमा राखी कारबाही गर्ने निर्णय भएको हो। काउन्सिलले कालोसूचीमा राखेका सञ्चारमाध्यमको जानकारी सूचना तथा प्रसारण विभाग, विज्ञापन बोर्ड र सम्बन्धित प्रदेशका सञ्चार रजिस्ट्रारको कार्यालयलाई समेत दिएइको छ।

कालोसूचीमा पर्ने सञ्चारमाध्यमहरूमा त्रिनेत्रपोस्ट साप्ताहिक, योहो टेलिभिजन, कोशीपोस्ट डटकम, खोजतलासअनलाइन डटकम छन्। काउन्सिलले भ्रामक सूचना सम्प्रेषण गर्ने एक युट्युब च्यानललाई आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा समेत पठाएको छ।

त्यसैगरी, आचारसंहिताकै विषयमा गम्भीर प्रश्न उठेपछि आवश्यक कारबाहीका लागि काउन्सिलले सातवटा सञ्चारमाध्यमलाई विशेष अनुगमनमा राखी छानबिन थालेको छ। त्यसमा दियोपोस्ट डटकम, मोटिभेटन्युज डटकम, एवननेपालन्युज डटकम, अनलाइनटिभिनेपाल डटकम, राइटसञ्चार डटकम, ताजाखबर टिभी र बिजी टिभी ९युट्युब च्यानल० छन्।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, सदस्यहरू ठाकुर बेल्वासे, लालबाबु शेष, विजयराज अधिकारी, शरदप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष बाला अधिकारी, नेपाल बार एसोसिएसनका महासचिव अन्जिता खनाल, काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल सहभागी बैठकले यससम्बन्धी निर्णय गरेको हो। काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिमा पत्रकार महासंघ र बार एसोसिएसनको समेत प्रतिनिधित्व हुन्छ।

बैठकपछि सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहोराद्वारा जारी विज्ञप्तिमा पत्रकारिताको मूल्य र मान्यताविपरीत, गलत, समाजमा उत्तेजना, अफबाह फैलाउने, सामाजिक सद्भाव भड्काउने, अमर्यादित र अश्लील सामग्री सम्प्रेषण नगर्न सम्बन्धित सबैलाई आग्रहसमेत गरिएको छ।

प्रकाशित मिति: २६ कार्तिक २०८१, सोमबार  ०६ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।