स्वदेशमा रोजगारीको अवसर सुस्ताउदै जाँदा देश छाड्ने युवाको संख्या बढ्दै गएको छ । यो वर्षको मंसिरमा मात्रै ८३ हजार ९ सय ३३ जना युवा कामको खोजीमा विदेश पलायन भएका छन् । एकै महिनामा नेपालबाट वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको यो संख्या हालसम्मकै उच्च हो ।
यसअघि एकै महिनामा यति धेरै बाहिरिएको रेकर्ड नभएको वैदेशिक रोजगार विभागका निर्देशक लोकनाथ भुसालले जानकारी दिए। यसअघि गत आर्थिक वर्षको भदौमा सबैभन्दा बढी ७६ हजार ४ सय ३ कामदार बाहिरिएका थिए।
मंसिरमा ८३ हजार ९ सय ३३ जना बाहिरिएसँगै चालु आर्थिक वर्ष २०८१\८२ को पाँच महिनामा कामको खोजीमा ३ लाख १७ हजार युवा बिदेसिएका छन्
विभागले आर्थिक वर्ष २०५०\५१ यता वैदेशिक रोजगारीमा जानेको तथ्याङ्क अद्यावधिक गर्दै आएको छ । सो अनुसार गत वर्षको मंसिरमा ७१ हजार २७६ जना वैदेशिक रोजगारीमा गएका थिए। गत वर्षको तुलनामा यो वर्ष १२ हजारभन्दा बढी कामदार वैदेशिक रोजगारीमा गएका हुन्।
मंसिरमा व्यक्तिगत र संस्था गरी ७० हजार ५ सय पुरुष र १३ हजार ४ सय ३३ जना महिला वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । चालु आवको साउनमा ५५ हजार ५ सय ७५, भदौमा ५० हजार ८ सय ८४, असोजमा ५६ हजार २ सय ३४ र कात्तिकमा ७० हजार ९ सय ९० जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्।
सरकारले वैदेशिक रोजगारीलाई अनेक बाहानामा प्रोत्साहन गर्दै आएको अर्थविद् चन्द्रमणि अधिकारीले बताए । सरकारले २०६२\६३ सालको आन्दोलन देखि नै वैदेशिक रोजगारलाई प्रोत्साहन गर्दै आएको बताउदै उनले भने,“ अब नयाँ नीति तथा कार्यकाम आउँला नेपालमा नै उद्योग धन्दा चलाउछु, केही गर्छु भन्नेलाई प्रोत्साहन होला भन्दा भन्दै यत्तिका वर्ष वित्यो । अहिले पनि सरकारले नेपाली विदेश पठाउन नै तलिन देखिएको छ । फलस्वरुप वैदेशिक रोजगारीका जानेको संख्या बढ्दै गएको हो” । नेपालमा नै केही गर्छु भन्ने निरुत्साहीत हुदै आएको उनको भनाइ छ ।
सीप सिकेर जानेको संख्या बढ्यो
विभागका अनुसार एक महिनाको अवधिमा ८३ हजार ९ सय ३३ जना नेपाली वैदेशिक राजेगारीमा गएका छन् । सीप सिकेर ५३ हजार १५८ जना गएका छन् भने २१ हजार ७१६ जना अदक्ष कामदार बाहिरिएका छन् । सो अवधिमा ८ हजार ७८० जना अर्धदक्ष कामदार बाहिरिएका छन् । यस्तै विज्ञता हासिल गरेका र उच्च दक्ष कामदार भने न्युन मात्रामा मात्र बाहिरिएको तथ्यांकले देखाएको छ ।
विज्ञता हासिल गरेका ७७० जना बाहिरिदा उच्च दक्ष कामदार भने १०२ जना बाहिरिएका छन् । विभागको तथ्याङ्क अनुसार हेर्दा नेपालबाट विदेशिने कामदारमध्ये एक तिहाई हाराहारिमा अदक्ष श्रमिक बाहिरिने गरेका देखिन्छ भने सामान्य सीप सिकेका दुई तिहाई हाराहारीमा छ ।
रोजगारीको लागि बाहिरिनेको संख्या अचाक्ली बढ्दै
दश वर्षमा वैदेशिक रोजगारमा जानेको संख्या २ लाख जनाले बढेको पाइएको छ । वैदेशिक रोजगारको तंथ्याक अनुसार आर्थिक वर्ष २०७०\७१ मा पाँच लाख २७ हजार ८१४ ले श्रम स्वीकृति लिएका थिए ।
गत आर्थिक वर्षसम्ममा सात लाख ४१ हजार २ सय ९७ जना नेपाली श्रमिक श्रम स्वीकृती लिएका छन् । जुन २ लाख १३ हजार ४८३ हजाले बढी हो ।
यस्तै आर्थिक वर्ष २०७१\७२ मा ४ लाख ९९ हजार १०२ युवा कामको खोजीमा विदेशिएका थिए । यस्तै, आर्थिक वर्ष २०७२\७३ मा ४ लाख ३ हजार १७४ जना नेपाली विदेशिएका थिए भने २०७३\७४ मा ३ लाख ८३ हजार ४९३ जना बाहिरिएका थिए ।
यस्तै २०७४÷७५ मा ३ लाख ५४ हजार ८२ जनाले वैदशिक रोजगारीको लागि श्रम स्वीकृती लिदा २०७५÷७६ मा दुई लाख ३६ हजार २०८ जनाले श्रम स्वीकृती लिएका थिए।
यस्तै २०७६÷७७ मा १ लाख ९० हजार ४५३ जना कामको खोजीमा विदेशिए थिए भने २०७७\७८ मा ७२ हजार ८१ जना मात्रै गएका थिए । २०७७\७८ मा कोरोना माहामारीका कारण वैदेशिक रोजगारीमा जानेको संख्या ह्वातै घटेको थियो ।
२०७८\७९ मा कोभिड महामारीको अवस्था केही सामान्य बन्दै गएपछि भने विदेश जानेको संख्या ह्पातै बढेको थियो । २०७८\७९ मा वर्ष ६ लाख ३० हजार ९७ जनाले श्रम स्वीकृती लिएका थिए । यस्तै २०७९\८० मा ७ लाख ७१ हजार ३२७ र २०८०\८१ मा ७ लाख ४१ हजार २९७ युवा विदेशिएका छन् ।
प्रतिक्रिया