नाफिज सदस्यको जनही सात लाखको दुर्घटना बिमा


काठमाडौँ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) का सदस्यहरुको साढे १६ करोड रुपैयाँ बराबरको ‘सामूहिक दुर्घटना बिमा’ भएको छ । नाफिजले आफ्ना दुई सय ३५ जना सदस्य तथा सल्लाहाकारको जनही सात लाख रुपैयाँका दरले सामूहिक दुर्घटना बिमा गराएको हो ।
 आज दुई वटा निर्जीवन बिमा कम्पनी र नाफिजबीच सामूहिक दुर्घटना बिमासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । नाफिजले सगरमाथा लुम्बिनी इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्यारेन्समा सदस्यको सामूहिक दुर्घटना बिमा गराएको हो ।
कुल बिमाङ्क रकम १६ करोड ४५ लाख रुपैयाँ रहेको छ । सम्झौतामा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चङ्की क्षेत्री, सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्रबहादुर वैदावर र नाफिजका अध्यक्ष मेनुका कार्कीले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार नाफिजका हरेक सदस्यको प्रतिव्यक्ति सात लाख रुपैयाँका दरले दुर्घटना बीमा भएको छ । नाफिजका अध्यक्ष कार्कीले हरेक दिन ‘फिल्ड’मा खटिनुपर्ने पत्रकार विभिन्न खालका दुर्घटनाको जोखिममा हुने भएकाले त्यस्तो जोखिम बहन गर्न आफ्ना सदस्यको बीमा गराइएको बताए ।
 सम्झौता कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले दुर्घटना बिमाले पत्रकारको सामाजिक सुरक्षाको सुनिश्चितामा सहयोग पुग्ने र विश्वसनीय सूचना प्रवाहमा थप योगदान पुग्ने विश्वास व्यक्त गरे । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वैदावरले नाफिजले आफ्ना सदस्य पत्रकारहरुको बिमा गराएर पत्रकारहरुलाई फिल्डमा खटिन थप प्रोत्साहन गरेको बताए ।

प्रकाशित मिति: २५ पुस २०८१, बिहीबार  ०६ : ३७ बजे