- भुवन पौडेल
विकास बैंक र फाइनान्स कम्पनी गरेर करिब एक दर्जन संस्थाको वित्तीय अवस्था निकै कमजोर देखिएको छ । नेपाल राष्ट्र बैंकको निरीक्षणमा कैफियत देखिँदा समेत समयमै कारबाही नगर्दा यी संस्थाहरुको वित्तीय अवस्था दिन प्रतिदिन झनै कमजोर बन्दै गएको हो ।
बैंक तथा वित्तीय संस्थाका हरेक गतिविधिलाई केन्द्रीय बैंकले नियमन तथा निरिक्षण गरिरहेको हुन्छ । तर, नियमन तथा निरीक्षणका क्रममा पहिचान भएका कमजोरीहरु सुधारका लागि समयमा नै कारबाही गर्नु पर्नेमा त्यसो गर्न नसक्दा साना भनिएका समस्या पनि जटिल बन्दै गएको केन्द्रीय बैंकका एक अधिकारीको भनाइ छ ।
“सुपरीवेक्षण गरेर आएको रिपोर्ट उपकर कारबाही गर्न केन्द्रीय बैंक सञ्चालक समितिका सदस्यहरु नै हिचकिचाउँछन्,” ती अधिकारीले भने, “कारबाही गर्न खोज्यो भने सम्बन्धति संस्थाहरुले शक्तिकेन्द्र प्रयोग गरेर दबाब दिने गर्छन् ।” शक्तिकेन्दको दबाब आएपछि कन्द्रीय बैंकको सञ्चालक समिति पनि गलत बाटोमा रहेका वित्तीय संस्थालाई कारबाही गरेर सुधार गर्ने भन्दा पनि कमजोरीहरु लुकाउन मद्दत गर्ने गरेको ती अधिकारी बताउँछन् ।
केन्द्रीय बैंकले बैंक वित्तीय संस्था निकै संवेदशील हुने भएकाले पनि कारबाही गरीहाल्ने वा समस्याहरु बाहिर ल्याइहाल्न नहुने तर्क गर्ने गर्छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासको सुपरिवेक्षण प्रतिवेदन आउँदा नै यी संस्थाहरुमा समस्या देखिएको भएपनि केन्द्रीय बैंकले कारबाही गर्ने निर्णय गर्न नसकेको ती अधिकारीको भनाइ छ । राजनीतिक शक्तिको आडमा बैंक वित्तीय संस्था चलाउन दिएर सर्वसाधारणको निक्षेप नै जोखिममा परेको ती अधिकारीको बुझाइ छ ।
कोरोना महामारी र आर्थिक मन्दीसँगै लघुवित्त र सहकारी क्षेत्रमा देखिएको समस्या बैंकिङ क्षेत्रमा भित्रिँदा खराब कर्जा उल्लेख्य बढ्न गएको छ । बैंकहरुको खराब कर्जा बढेसँगै कर्जा नोक्सानी व्यवस्थाको रकम पनि उच्च हुँदा केही संस्थाले सेयरधनीलाई लाभांश वितरण समेत गर्न सकेनन् । वाणिज्य बैंकहरुकै वित्तीय अवस्था कमजोर बनेपछि राष्ट्र बैंकले गत आर्थिक वर्षको सुपरिवेक्षण प्रतिवेदन समेत सार्वजनिक गरेको छैन । पछिल्लो समय बैंकहरुमा बढेको खराब कर्जाले बैंकरहरु नै छटपटाइरहेको अवस्था छ । उक्त प्रतिवेदन सार्वजनिक गर्दा बैंकहरुको बास्तविक अवस्था बाहिर आउने डरले पनि विबरण लुकाउन राष्ट्र बैंकले प्रतिवेदन सार्वजनिक नगरेको हो ।
केन्द्रीय बैंकले बैंक वित्तीय संस्था निकै संवेदशील हुने भएकाले पनि कारबाही गरीहाल्ने वा समस्याहरु बाहिर ल्याइहाल्न नहुने तर्क गर्ने गर्छ । तर, केन्द्रीय बैंकले समस्या झनै बढ्दै जाँदा समेत तथ्यहरु लुकाउने प्रयास गरिराख्दा सर्वसाधारणले आफ्नो बचतको जोखिम न्यूनीकरण गर्नबाट बञ्चित हुनु परेको छ । केन्द्रीय बैंकले सार्वजनिक रुपमा बोल्नु पर्दा सर्वसाधारणको निक्षेप भन्ने गरेपनि व्यवहारमा त्यस्तो नहुँदा वित्तीय संस्थाहरु समस्यामा पर्ने क्रममा बढेको हो ।
५ विकास बैंक र ६ फाइनान्स कम्पनीको खराब कर्जाको अंश दोहोरो अंकमा पुगेको छ । बैंक वित्तीय संस्थाको खराब कर्जा ५ प्रतिशतभन्दा धेरै हुनु हुँदैन ।
केन्द्रीय बैंकले नै सर्वाजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको तथ्याङक अनुसार ५ विकास बैंक र ६ फाइनान्स कम्पनीको खराब कर्जाको अंश दोहोरो अंकमा पुगेको छ । बैंक वित्तीय संस्थाको खराब कर्जा ५ प्रतिशतभन्दा धेरै हुनु हुँदैन । तर, मापदण्डभन्दा धेरै खराब कर्जा भइसक्दा पनि केन्द्रीय बैंकले ति संस्था सुधारका लागि उचित कदम चालेको छैन ।
गत महिना मात्र केन्द्रीय बैंकले ५ जिल्ले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा ग¥यो र व्यवस्थापनको जिम्मा लियो । चालु आवको पहिलो त्रैमासम्ममा कर्णाली डेभलपमेन्ट बैंकको खराब कर्जा अनुपात ४०.८५ प्रतिशत छ । बैंकको प्राथमिक पुँजी कोष अनुपात २५.८७ प्रतिशतले ऋणात्मक छ । केन्द्रीय बैंकले समस्याग्रस्त घोषणा गर्नुभन्दा अघिल्लो दिनसम्म कर्णाली डेभलमेन्ट बैंकको सेयर मूल्य धितोपत्रको दोस्रो बजारमा निरन्तर सकारात्मक सर्किट लागेर बढिरहेको थियो । त्यसैगरी केन्द्रीय बैंकको तथ्याङकमा कमजोर र संकट उन्मूख देखिएका अन्य विकास बैंक र फाइनान्स कम्पनीको सेयर कारोबार हेर्दा वित्तीय अवस्था विपरितको मूल्य निर्धारण भएको देखिन्छ ।
केन्द्रीय बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ७ जिल्ले सप्तकोशी डेभलमेन्ट बैंकको खराब कर्जाको अंश कूल कर्जामा १३.७७ प्रतिशत छ । सो अवधिमा बैंकको प्राथमिक पुँजीकोष अनुपात ७.७८ प्रतिशत रहेको छ । सो अवधिमा बैंकको कुल निक्षेप ७ अर्ब १२ करोड र कर्जा ५ अर्ब ६३ करोड रुपैयाँ रहको छ । बैंकको कर्जा निक्षेप अनुपात ७०.२० प्रतिशत रहेको छ भने खुद तरलता ३०.६९ प्रतिशत छ ।
त्यसैगरी ५ जिल्ले एक्सेल डेभलपमेन्ट बैंकको पनि खराब कर्जा अनुपात ११.७३ प्रतिशत छ । एक्सेलको सो अवधिको प्राथमिक पुँजी कोष अनुपात ९.९९ प्रतिशत छ । असोजसम्ममा १४ अर्ब ३३ करोड निक्षेप लिएको बैंकले ११ अर्ब ५७ करोड कर्जा लगानी गरेको छ । सोमबार दोस्रो बजारमा एक्सेलको प्रतिकित्ता सेयर मूल्य ५५० रुपैयाँ छ ।
केन्द्रीय बैंकको तथ्याङकमा कमजोर र संकट उन्मूख देखिएका अन्य विकास बैंक र फाइनान्स कम्पनीको सेयर कारोबार हेर्दा वित्तीय अवस्था विपरितको मूल्य निर्धारण भएको देखिन्छ ।
चालु आर्थिक वर्षको असोजसम्ममा ५ जिल्ले सिन्धु विकास बैंकको खराब कर्जा अनुपात ११.२९ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । सो अवधिमा सिन्धु विकास बैंकको प्राथमिक पुँजीकोष ५.५३ प्रतिशत मात्र रहेको छ । बैंकले सो अवधिसम्ममा ५ अर्ब ६५ करोड निक्षेप र ४ अर्ब ४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । पछिल्लो समयमा धितोपत्रको दोस्रो बजारमा सिन्धु विकास बैंकको सेयर मूल्य पनि कर्णाली डेभलमेन्ट बैंकको जस्तौ निरन्तर उच्च दरमा बढेर एक हजार ७० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी केही समय अघि केन्द्रिय बैंकले ३ जिल्ले नारायणी डेभलपमेण्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो । सोही समयदेखि उक्त बैंकलाई राष्ट्र बैंकले क्लोज निगरानीमा राखेको छ । चालु आवको पहिलो त्रैमाससम्ममा बैंकको खराब कर्जा अंश ४२.५३ प्रतिशत रहेको छ भने प्राथमिक पुँजी कोष अनुपात १.३५ प्रतिशत मात्र छ । सो अवधिसम्ममा बैंकको निक्षेप ५९ करोड ९२ लाख रुपैयाँ छ भने ४० करोड ९१ लाख रुपैयाँ कर्जा छ । समस्याग्रस्त भएकै समयमा पुँजीवृद्धिका लागि हकप्रद माथि हकप्रद निष्काशन गरेको बैंकको सेयर मूल्य पनि उक्त समयमा नै दिनदिनै सकारात्मक सर्किट लागेको थियो । सोमबार पनि नारायणी डेभलपमेण्ट बैंकको प्रतिकित्ता सेयर मूल्य १ हजार ७५ रुपैयाँ कायम भएको छ ।
त्यसैगरी चालु आवको सो अवधिमा खोटाङमा रहेको १ जिल्ले साल्पा विकास बैंकको खराब कर्जाको अंक ९.४३ प्रतिशत पुगेको छ । चालु आवको पहिलो त्रैमाससम्ममा बैंकको प्राथमिक पुँजी कोष अनुपात २९.४३ प्रतिशत रहेको छ भने खुद तरलता ३७.०४ प्रतिशत रहेको छ । सो अवधिमा बैंकले एक अर्ब ११ करोड निक्षेप संकलन गरी ८७ करोड ८६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यो बैंक नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको छैन ।
त्यसैगरी चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा केही समय अघि समस्याग्रस्तबाट फुकुवा भएको नेपाल फाइनान्सको खराब कर्जा १०.२६ प्रतिशत छ । सो अवधिमा फाइनान्सको प्राथमिक पुँजी कोष अनुपात ३१.३५ प्रतिशत छ भने खुद तरलता ४९.३७ प्रतिशत छ । सो अवधिमा फाइनान्सको निक्षेप ३ अर्ब ५ करोड र कर्जा लगानी २ अर्ब ४३ करोड रुपैयाँ छ । यो फाइनान्सको पनि प्रतिकित्ता सेयर मूल्य २ हजार ६०० रुपैयाँसम्म पुगेकोमा सोमबार ९१७ रुपैयाँ छ ।
चालु आवको पहिलो त्रैमासमा गोर्खाज फाइनान्सको खराब कर्जा १३.४५ प्रतिशत छ भने प्राथमिक पुँजी कोष अनुपात १०.८४ प्रतिशत छ । सो अवधिमा फाइनान्सले ९ अर्ब ७८ करोड निक्षेप संकलन गरी ७ अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गरेको केन्द्रीय बैंकले जनाएको छ । प्रतिकित्ता सेयर मूल्य १ हजार ५०० रुपैयाँ हाराहारी पुगेको फाइनान्सको सोमबार ६५० रुपैयाँमा अन्तिम पटक सेयर किनबेच भएको छ ।
नारायणी डेभलपमेण्ट बैंकलाई जस्तै जानकी फाइनान्स र पोखरा फाइनान्सलाई केन्द्रीय बैंकले निरन्तर निगरानीमा राखिरहेको जनाएको छ ।
केन्द्रीय बैंकका अनुसार चालु आवको पहिलो त्रैमासमा जानकी फाइनान्सको खराब कर्जा ३८.४४ प्रतिशत छ । सो अवधिमा फाइनान्सको प्राथमिक पुँजी कोष अनुपात १.७६ प्रतिशत छ । सो अवधिसम्ममा फाइनान्सले ४ अर्ब ४४ करोड निक्षेप संकलन गरी ३ अर्ब १५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । सोमबार सो फाइनान्सको प्रतिकित्ता सेयर ६७० रुपैयाँमा अन्तिम पटक किनबेच भएको छ ।
चालु आवको असोजसम्ममा पोखरा फाइनान्सको पनि खराब कर्जा अनुपात ४१.०७ प्रतिशत रहेको छ । फाइनान्सको प्राथमिक पुँजी कोष अनुपात ८.७५ प्रतिशतले नकरात्मक छ । यो फाइनान्सको पनि प्रतिकित्ता सेयर मूल्य १ हजारभन्दा माथि पुगेकोमा सोमबार ५२९ रुपैयाँ कायम भएको छ ।
नारायणी डेभलपमेण्ट बैंकलाई जस्तै जानकी फाइनान्स र पोखरा फाइनान्सलाई केन्द्रीय बैंकले निरन्तर निगरानीमा राखिरहेको जनाएको छ ।
वित्तीय अवस्था कमजोर रहेका फाइनान्स कम्पनीमा समृद्धि फाइनान्स पनि हो । चालु आवको असोजसम्ममा फाइनान्सको खराब कर्जा कुल कर्जाको २३.४४ प्रतिशत छ भने प्राथमिक पुँजीकोष अनुपात ११.५१ प्रतिशत रहेको छ । सोमबार फाइनान्सको प्रतिकित्ता सेयर ६६४ रुपैयाँ छ ।
फ्रेमवर्क २०१५ अनुसार प्राथमिक पुँजी कोष ८.५ प्रतिशत र २००७ अनुसार ६ प्रतिशत हुनुपर्ने व्यवस्था छ ।
खराब कर्जा दोहोरो अंकमा रहेको अर्को फाइनान्स कम्पनी गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको खराब कर्जा अनुपात १३.५६ प्रतिशत छ । सोमबार यो फाइनान्सको प्रतिकित्ता सेयर मूल्य ५३३ रुपैयाँ छ ।
यसै अवधिमा रिलायन्स फाइनान्सको खराब कर्जा अनुपात ८.५८ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । सो अवधिमा रिलायन्सको प्राथमिक पुँजीकोष अनुपात १०.१८ प्रतिशत छ । सोमबार फाइनान्सको प्रतिकित्ता सेयर ५८८ रुपैयामा किनबेच भएको छ ।
सेन्ट्रल फाइनान्सको पनि खराब कर्जा ८.७१ प्रतिशत छ भने प्राथमिक पुँजीकोष अनुपात १५.५७ प्रतिशत छ । सोमबार फाइनान्सको प्रतिकित्ता सेयर ५९५ रुपैयाँ छ ।
यो अवधिसम्ममा केन्द्रीय बैंकले नेपाल सेयर मार्केट र क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई समस्या ग्रस्त घोषणा गरेर सुधारका लागि आफ्नै व्यवस्थापनमा सञ्चालन गरिरहेको छ ।
राष्ट्र बैंकका अनुसार राष्ट्रिय स्तरका विकास बैंकले क्यापिटल एडिक्वयसी फ्रेमवर्क २०१५ अनुसारको पुँजीकोष कायम गर्नु पर्छ भने अन्य विकास बैंक र फाइनान्स कम्पनीले क्यापिटल एडिक्वयसी फ्रेमवर्क २००७ अनुसार पुँजी कोष अनुपात कायम गर्नु पर्छ । फ्रेमवर्क २०१५ अनुसार प्राथमिक पुँजी कोष ८.५ प्रतिशत र २००७ अनुसार ६ प्रतिशत हुनुपर्ने व्यवस्था छ ।
प्रतिक्रिया