निक्षेप संकलको ब्याजदर चालु आर्थिक वर्षकै उच्च, अधिक तरलताको समस्या सुध्रिएको हो ?  


 बैंकिङ प्रणालीमा अधिक तरलताको समस्या कायमै रहेपनि निक्षेप संकलन उपकरणको ब्याजदर भने उच्चतम् विन्दुमा पुगेको छ । वित्तीय प्रणालीको तरलता केन्द्रीय बैंकमा थुप्रिए संगै निक्षेप संकलनको ब्यादजर बढेको हो । 

केन्द्रीय बैंकले ब्याजदर करिडोरको तल्लो सीमा अर्थात ३ प्रतिशत ब्याजदर तोकेको छ । करिडोरको तल्लो सीमा नै निक्षेप संकलनको ब्याजदर हो । त्यसैले बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन मार्फत केन्द्रीय बैंकमा पैसा राख्दा अधिकतम ३ प्रतिशतसम्म ब्याजदर पाउँछन् । तर, चालु आर्थिक सुरु भएयता निक्षेप संकलनको औसत ब्याजदर ३ प्रतिशत पुगेको थिएन । 

आर्थिक गतिविधिमा विस्तार नहुँदा वित्तीय प्रणालीमा कर्जाको माग बढ्न नसक्दा अधिक तरलताको समस्या छ । केन्द्रीय बैंकले ब्याजदरमा अस्वभाविक उतारचढाव नआओस् भनेर वित्तीय प्रणालीको तरलता स्थायी निक्षेप तथा निक्षेप संकलन उपकरण मार्फत खिच्दै आएको छ । स्थायी निक्षेप सुविधाको ब्याजदर ३ प्रतिशत फिक्स भएपनि निक्षेप संकलनको ब्याजदर भने बोलकबोल मार्फत निर्धारण हुन्छ । बोलकबोल मार्फत ब्याजदर निर्धारण हुँदा वित्तीय प्रणालीको तरलताको अवस्था स्पष्ट देखिन्छ । अधिक तरलता भएको अवस्थामा निक्षेप संकलनको ब्याजदर कम हुन्छ भने कसिलो अवस्थामा ब्याजदर बढ्छ । 

तरलताको अवस्था कसिलो भएको खण्डमा अन्तर बैंक ब्याजदर बढ्न जान्छ । त्यसका साथै निक्षेप संकलन उपकरणमा पनि बैंक वित्तीय संस्थाले तोकिएको सीमा भन्दा माथि गएर ब्याजदर माग गर्छन । सोही ब्याजदरलाई आधार बनाएर केन्द्रीय बैंकले वित्तीय प्रणालीमा तरलता प्रवाह गर्ने र खिच्ने गर्छ । 

पछिल्लो समयमा केन्द्रीय बैंकले अधिक तरलताका कारण ब्याजदर अस्वभाविक रुपमा घट्न नदिने सातामा २ देखि ३ पटकसम्म निक्षेप संकलन उपकरणका प्रयोग गर्दै आएको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीका निक्षेपकर्तालाई पनि असर नपरोस भन्दै न्यूनतम ब्याजदर ३ प्रतिशत दिने पर्ने ब्यवस्था गरेको छ । निक्षेपकर्तालाई न्यूनतम ब्याजदर ३ प्रतिशत नदिने बैंक तथा वित्तीय संस्थाले अधिक तरलता भएको अवस्थामा स्थायी निक्षेप सुविधा प्रयोग गर्न पाउदैनन् । 

केन्द्रीय बैंकले यो साताको पहिलो दिन आइतबार पनि ४० अर्ब रुपैयाँ बराबरको २१ दिन अवधिको निक्षेप संकलन उपकरण जारी गर्यो । त्यसका लागि बैंकहरुले अधिकतम र न्यूनतम ब्याजदर नै ३ प्रतिशत माग गरेको केन्द्रीय बैंकले जनाएको छ । आइतबार ४० अर्बको निक्षेप लिने खोजेको भएपनि बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढेर १५ अर्ब १० करोड रुपैयाँ मात्र निक्षेप दिन आवेदन दिए । केन्द्रीय बैंकले पनि बढेको ब्याजदरमा बैंक वित्तीय संस्थाले दिन चाहेजति मात्र निक्षेप लियो । उक्त निक्षेप संकलन उपकरणको औसत ब्याजदर पनि ३ प्रतिशत पुगेको छ । चालु आर्थिक सुरु भएदेखि केन्द्रीय बैंकले ४५ पटक निक्षेप संकलन गरेको छ । तर, आइतबार भन्दा अघिका निक्षेप संकलन उपकरणको औसत ब्याजदर ३ प्रतिशत भन्दा तल थियो ।  

आइतबारको निक्षेप संकलन उपकरणको ब्याजदर बढ्नु तथा माग गरे अनुसार निक्षेप नपाउनुमा राष्ट्र बैंककै हात छ । रेमिट्यान्समा आएको निरन्तर सुधारले बैंक वित्तीय संस्थाको निक्षेप बढिरहेको छ । निक्षेप बढे अनुसार कर्जाको माग नहुँदा वित्तीय प्रणालीमा अधिक तरलताको समस्या छ । अधिक तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले निरन्तर विभिन्न उपकरणहरूको प्रयोग गर्दै प्रणालीको पैसा खिचेको छ । प्रणालीको पैसा केन्द्रीय बैंकमा थुप्रिएपछि निक्षेप सङ्कलनको ब्याजदर बढेको हो भने माग गरेअनुसारको निक्षेप बैंक तथा वित्तीय संसले नदिएका हुन । 

आइतबारसम्ममा केन्द्रीय बैंकसंग बैंक तथा वित्तीय संस्थाको कुल २ खर्ब ७० अर्ब ९० करोड रुपैयाँ छ । यो रकम मध्ये २ खर्ब २१ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन उपकरण मार्फत खिचेको हो । त्यसैगरी ४९ अर्ब २५ करोड रुपैयाँ भने स्थायी निक्षेप मार्फत बैंक वित्तीय संस्थाले केन्द्रीय बैंकमा राखेको पैसा हो । केन्द्रीय बैंकमा पैसा थुप्रिँदा अधिक तरलताको समस्या समाधान भए जस्तो देखिएको हो । केन्द्रीय बैंकमा भएको बैंक वित्तीय संस्थाको उक्त रकम अधिकतम २१ दिनपछि पुन वित्तीय प्रणालीमा फर्कन्छ । त्यसपछि पुन अधिक तरलताको अवस्था आउँछ । 

प्रकाशित मिति: २१ माघ २०८१, सोमबार  १८ : ३४ बजे