काठमाडौँ । भारतबाट ५ सय रुपैयाँसम्मका सामान ल्याउँदा प्रहरीले नरोक्ने भएको छ । सर्वत्र विरोध भएकापछि सरकारले १ सयको सीमा बढाएर पाँच सय पुर्याएको हो ।
यस्तै, आर्थिक विधेयकले भारतमा अध्ययन गर्ने विद्यार्थीलाई साथमा लगेको वा ल्याएको एक थान ल्यापटप, ट्याबलेट वा कम्प्युटरमध्ये कुनै एक थानमा भन्सार महसुल नलाग्ने व्यवस्था गरेको छ ।
अर्थ मन्त्रालयका अनुसार नेपालबाट स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कंदा व्यक्तिगत प्रयोगका लागि आफ्नो साथमा रहेका सामान पूर्ण महसुल छुटमा ल्याउन दिइने छ ।
जसमा आफूले प्रयोग गरेका लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना वस्तु, औषधि उपचार गराई फर्केका बिरामीले ल्याएका औषधि, शारीरिक अशक्तले सहाराका रूपमा प्रयोग गरेका वस्तु, भन्सार महसुल ऐन २०८१ को अनूसूची ४ को प्रकरण १ मा तोकिएको परिमाणसम्मको सुन तथा सुनका गहना र चाँदी तथा चाँदीका गहना ल्याउँदा महसुल छुट हुनेछ ।
त्यस्तै आफूले प्रयोग गरेको ट्याबलेट वा ल्यापटप वा डेस्कटप कम्प्युटर, घडी, क्यामरा, भिडियो क्यामरा र सेलुलर मोबाइल एक–एक थानसमेत महसुल नतिरी ल्याउन पाइने छ ।
वैदेशिक रोजगारमा गएकाले के के ल्याउन पाउने भए ?
श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गई लगातार १२ महिना काम गरी फर्केका नेपालीले ल्याएको ६५ इन्चसम्मको टेलिभिजनमा भने महसुल छुट हुनेछ ।
यसअघिको प्रावधानमा भने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका नागरिकले जुनसुकै आकार र प्रकारको एक टेलिभिजन ल्याउँदा छुट थियो भने कोषमा सूचीकृत नभएकाको हकमा ३२ इन्चको टेलिभिजन मात्र छुटमा ल्याउन पाइने सुविधा थियो ।
यस्तै, बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल, पेसागत यात्रुले आफ्नो पेसासँग सम्बन्धित वस्तुमा समेत महसुल छुट हुनेछ । मदिरा एक लिटरसम्म र सात किलोसम्मको खाद्य परिकारलाई समेत छुटको सूचीमा राखिएको छ । यस्तो छुट सुविधा एक पटकका लागि मात्र उपलब्ध हुनेछ ।
यद्यपी कुनै नेपाली नागरिकको विदेश बसाईमा मृत्यु भएको प्रमाणित भए निज र परिवारको निजी प्रयोगका सवारीसाधन, हातहतियार र खरखजाना बाहेक सबै किसिमका वस्तु स्वदेश फिर्ता ल्याउँदा महसुल छुट हुनेछ ।
विदेशमा बसेका व्यक्तिले नेपालका आफन्त वा परिवारका सदस्यलाई ५ सय डलरसम्मको वस्तु पठाएमा लाग्ने महसुल लिई जाँचपास हुने भएको छ । तर, यस्तो मूल्यभन्दा महँगो वस्तुलाई सस्तो देखाइ पठाएको पाइएमा सामान जफत, जरिबाना र महसुल तिराउन सक्ने प्रावधान राखिएको छ । जुन विगतककै व्यवस्था हो ।
यस्तै चुरोट २ सय खिल्लीसम्म वा सिगार ५० खिल्लीसम्म प्रचलित कानुन बमोजिम लाग्ने महसुल लिई जाँचपास गर्न सकिने छ ।












प्रतिक्रिया