चकलेट आयातमा वर्षैनी अर्बौ बाहिरिदैँ, ६ महिनामा मात्रै साढे १ अर्ब बढीको आयात


काठमाडौँ । नेपालले चकलेट आयातमा अर्बौ रकम खर्चिने गरेको छ । देशमा नै चकलेट उत्पादन गर्ने क्षमता हुँदाहुँदै पनि विदेशबाट हरेक वर्ष अर्बौंको चकलेट आयात हुने गरेको छ।

विदेशी ब्रान्डका चकलेटसँग प्रतिस्पर्धा गर्न नसक्दा उपभोक्ताको रोजाइमा विदेशी चकलेट पर्न गएको हो । नेपालका चकलेट उत्पादन गर्ने कम्पनीहरूले उत्पादन क्षमता वृद्धि र बजारको माग अनुसार चकलेट उत्पादन गर्नुपर्ने देखिएको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा मात्रै करिब डेढ अर्ब बढीको चकलेट आयात गरेको देखाउँछ । गत साउनदेखि पुस मसान्तसम्ममा नेपालले १ अर्ब ६७ करोड ४९ लाख ५२ हजार रुपैयाँको ३१ लाख ७९ हजार ७१७ केजी चकलेट आयात गरेको छ । नेपालले चकलेट आयतबाट १ अर्ब ३५ करोड १५ लाख ५६ हजार रुपैयाँ भन्सार महसुल संकलन गरेको छ ।

नेपालमा भारत, चीन, युएई, बंगलादेश, हङकङ, इजरायल, जापान, कोरिया, माल्दिभ्स, थाइल्यान्ड, इजिप्ट, मेक्सिको, पानामा, बेल्जियम, फ्रान्स, जर्मनी, इटाली, स्पेन, हंगेरी, पोल्यान्ड स्विट्जरल्यान्ड र अस्ट्रेलियाबाट आयत हुने गरेको छ ।

नेपालले आर्थिक वर्ष २०७४\७५ मा ३ अर्ब ५ करोड ३५ लाख ७१ हजार रुपैयाँको १ करोड ११ लाख ५२ हजार केजी, आव २०७५\७६ मा २ अर्ब ८६ करोड ६४ लाख ३७ हजार रुपैयाँको १ करोड १० लाख केजी र आव २०७६\७७ मा २ अर्ब २३ करोड ९० लाख २१ हजार रुपैयाँको ७५ लाख ५६ हजार ६८६ केजी चकलेट आयात गरेको थियो ।

त्यसैगरी, आव २०७७\७८ मा २ अर्ब ७० करोड ६४ लाख ४३ हजार रुपैयाँ र आव २०७८\७९ मा ३ अर्ब १३ करोड ५७ लाख ५१ हजार रुपैयाँको ८७ लाख ३१ हजार ३१८ केजी चकलेट आयात गरेको थियो ।

यस्तै, आव २०७९\८० मा २ अर्ब ९० करोड ४७ लाख ५ हजार रुपैयाँको ६५ लाख ७१ हजार केजी चकलेट आयात भएको थियो भने आव २०८०\८१ मा १ अर्ब ५४ करोड १४ लाख ८७ हजार रुपैयाँको ३३ लाख ६९ हजार १८३ केजी चकलेट आयात भएको छ । आव २०८०\८१ मा चकलेट आयातबाट १ अर्ब २५ करोड ४७ लाख ४० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

प्रकाशित मिति: २७ माघ २०८१, आइतबार  ०९ : ५३ बजे