सिँचाइ सुविधापछि हराभरा भिरगाउँ, बाँझै रहने खेतमा ३ बाली खेती


फिक्कल । इलाम नगरपालिका–१० भिरगाउँमा सिँचाइ योजना पुनर्निर्माण भएपछि किसानलाई खाद्यबालीसँगै तरकारी खेती गर्न सहज भएको छ । वर्षमा १ बालीमात्र उत्पादन हुँदै आएको सो क्षेत्रमा सिँचाइ आयोजना पुनर्निर्माणपछि किसानले ३ बालीसम्म खेती गर्न थालेका छन् ।

साना सिँचाइ कार्यक्रमअन्तर्गत ४१ लाख ९४ हजारको लागतमा मालबाँसे भिरगाउँ हुँदै तेस्रोगाउँ जोड्ने सिँचाइ आयोजना पुनर्निर्माणपछि किसानले राहत पाएका हुन् ।

स्थानीय अँधेरीखोलाबाट ८९५ मिटर लामो पक्की कुलो निर्माण भएको वडा-१० का वडाध्यक्ष दिलीप प्रधानले जानकारी दिए । आयोजनाबाट ३९ घरपरिवारको १५ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ ।

आयोजना पुनर्निर्माण सम्पन्न भई पानी आउन थालेपछि भिरगाउँका किसान खुसी भएका हुन् । पानी अभावमा खेत बाँझै राखेर बस्न विवश भिरगाउँका किसानलाई सिँचाइ आयोजनाले राहत मिलेको उपभोक्ता समितिका अध्यक्ष किशोर रम्तेलले बताए ।

स्विडेन सरकारको १२ लाख ५८ हजार, संघीय सरकार, प्रदेश सरकार र इलाम नगरपालिकाको ८ लाख ३८ हजारका दरले तथा स्थानीय उपभोक्ताको ४ लाख १९ हजारको साझेदारीमा उक्त आयोजना पुनर्निर्माण गरिएको हो ।

आयोजना पुनर्निर्माणपछि धान, मकैजस्ता मौसमी बालीको मात्र खेती हुँदै आएको सो क्षेत्रमा अहिले मौसमी र बेमौसमी तरकारीसँगै नगदेबाली पनि उत्पादन हुन थालेको उपभोक्ता समिति सचिव मनकुमारी समालले बताइन् ।

‘पहिले मौसमी धान र मकैखेती मात्र गरिन्थ्यो, अहिले सिँचाइ सुविधा आएपछि बेमौसमी तरकारीको पनि व्यावसायिक खेती हुन थालेको छ,’ सचिव समालले भनिन्, ‘यसबाट किसानको आर्थिक अवस्था सुधार आउने विश्वास छ ।’

स्थानीय उपभोक्ता भीमकुमारी मगर आयोजना पुनर्निर्माणसँगै अकासे पानीको भर पर्नुपर्ने बाध्यताबाट मुक्त भएको बताउँछिन् । अहिले भिरगाउँका किसान ३ बालीसम्म खेती गर्न थालेका छन् ।

सिँचाइ सुविधा पुगेपछि अन्नबाली, नगदेबाली तथा तरकारीबाली उत्पादन वृद्धि हुने उनले बताइन् । कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार यस वर्ष १० हजार ३४२ हेक्टरमा धान खेती गरिएकामा ३५ हजार ३९ मेट्रिक टन धान उत्पादन भएको छ । इलाममा रन्जित, राधा४, चुल्ठे र अन्य स्थानीय जातको धान खेती गरिन्छ ।

प्रकाशित मिति: ११ चैत २०८१, सोमबार  १२ : २९ बजे