काठमाडौँ । इजरायल र इरान युद्धका कारण नेपाली मुद्रा कमजोर बन्दै गएको छ । डलरको भाउ बढ्दै जाँदा नेपाली रुपैयाँ कमजोर बन्दै गएको हो ।
गत माघमा अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै अमेरिकी डलरको भाउ बढेर १४१ रुपैयाँ नजिक पुगेको थियो । त्यसपछि घटेर गत जेठसम्म १३६ रुपैयाँ आसपास रहेको डलरको मूल्य मध्यपूर्वमा सुरु भएको युद्धले फेरि उकालो लाग्न थालेको हो ।
अमेरिकी डलरको मूल्य बढ्दा भारतीय मुद्रा (भारु) कमजोर भएपछि यसको असर नेपाली रुपैयाँमा परेको हो ।
गत १३ जुनमा इजरायलले ‘अपरेसन राइजिङ लायन’ नाम दिएर इरानमाथि आक्रमण सुरु गरेलगत्तै इरान पनि प्रत्याक्रमणमा उत्रियो । झन् चर्किंदै यो युद्धले डलरको भाउलाई उचाइमा पुर्याएको हो ।
राष्ट्र बैंकका अनुसार गत शुक्रबार अमेरिकी डलरको खरिद दर १३८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०६ पैसा थियो भने आइतबार खरिद दर १३८ रुपैयाँ २४ पैसा र बिक्री दर १३८ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ । गत बिहीबार अमेरिकी डलरको खरिद दर १३८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६७ पैसा थियो ।
यता, राष्ट्र बैंकले आइतबार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
-
डलर महँगिदा नेपाललाई पर्छ यस्तो असर
नेपालको निर्यातभन्दा आयात कैयौँ गुणाले बढी छ । डलर महँगो भएपछि अमेरिकी वस्तुको बजार भाउ बढ्छ र आयात गरिने वस्तु महँगो हुन जान्छ ।
चालु आवको वैशाखसम्मको तथ्यांक हेर्दा नेपालले २२ अर्ब ३१ करोड ४४ लाख ६ हजार रुपैयाँको वस्तु अमेरिकाबाट आयात गर्दा १४ अर्ब ४३ करोड २४ लाख ८८ हजार रुपैयाँको मात्रै अमेरिका निर्यात गरेको छ ।
सो अवधिमा नेपालले अमेरिकासँगको व्यापारमा ७ अर्ब ८८ करोड १० लाख १८ हजार रुपैयाँ घाटा बेहोरेको छ । डलरको भाउ आकासिँदा नेपालले अझै व्यापार घाटा बेहोर्ने देखिएको छ ।
यता, डलरको मूल्य बढिरहेका बेला नेपालले निर्यात बढाउन सके यसबाट बढी लाभ लिन सकिने जानकारहरू बताउँछन् । नेपालको अर्थतन्त्रको प्रकृति जस्तो छ, त्यो हेर्दा डलरको भाउ बढ्दा फाइदाभन्दा बेफाइदा नै बढी हुन्छ ।
डलरको भाउ बढ्दा नेपाल भित्रिने विप्रेषण (रेमिट्यान्स) बाट फाइदा भए पनि त्योभन्दा बढी आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा बढी घाटा पर्छ ।
अमेरिकी डलर बढ्दा सरकारलाई विदेशी ऋण र सावाँ भुक्तानीमा थप भार पर्छ । डलर बढ्दा विदेशी ऋणको सावाँ र ब्याज तिर्न भनी बजेटमा छुट्ट्याएको रकम अपुग हुन सक्छ ।
आगामी आर्थिक वर्षमा सरकारले ३ खर्ब ७५ अर्ब रुपैयाँ ऋण तिर्ने लक्ष्य लिएको छ । तर, डलरको मूल्य वृद्धि हुँदा यो रकम कम पर्न जान्छ र लक्ष्य भेटाउन मुस्किल पर्छ ।
नेपाल उपभोग्य वस्तुदेखि विलासी सामग्रीसम्म सबै आयातमा निर्भर रहकाले डलर बढ्दा नेपाललाई फाइदाभन्दा बढी बेफाइदा हुने अर्थविद्हरू बताउँछन् ।
नेपालले ठुलो मात्रामा आयात गर्ने भएकाले विदेशी मुद्रा तिरेर किन्नुपर्ने सामान तथा सेवा महँगो पर्नेछ । महँगो डलरमा आयातित सामान भित्रिने हुनाले मूल्य वृद्धिमा यसको चाप देखिनेछ ।
नेपालको ६० प्रतिशतभन्दा बढी व्यापार भारतसँग हुने गरेको छ । यसले इन्धनको मूल्य बढी तिर्नुपर्ने र भारु सस्तो हुँदा नेपालमा पनि महँगी बढ्न सक्ने हुन सक्छ । बढ्दो पेट्रोलियम र डलरको मूल्यका कारण नेपाल थप मारमा पर्नेछ ।
डलरको मूल्य वृद्धिले जति नेपाललाई फाइदा छ, त्योभन्दा बढी नोक्सान छ ।
भारत तथा तेस्रो मुलुकबाट आउने मोटर, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडालगायत सामान महँगो पर्नेछ । चीनबाट आउने सस्ता सामानको भाउमा समेत असर पर्नेछ । विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुनेछ । उत्पादित वस्तुको लागत वृद्धि भएपछि यसको असर केही दिनमै उपभोग्य वस्तुको मूल्यमा देखिन थाल्छ ।
विदेशी कलेजमा पढ्न जाने, औषधि उपचार, पर्यटक भएर विदेश भ्रमण जानेहरूलाई पनि डलर वृद्धिले समस्या पार्छ ।
डलर महँगो भएसँगै यसले उपभोग बढाएर व्यापार घाटा थप चुलिने हुँदा देशको शोधनान्तर घाटा थप बढ्छ ।
-
डलरको भाउ बढ्दा नेपाललाई हुने फाइदा
डलर महँगो हुँदा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आप्रवाह वृद्धि हुन्छ । यसबेला रेमिट्यान्स पठाउनेले नेपालमा बढी मूल्य पाउँछन् ।
रेमिट्यान्स आप्रवाह बढ्दा विदेशी मुद्रा सञ्चिति वृद्धिमा थप सघाउ पुग्नेछ । वस्तु तथा सेवा बिक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयमा समेत सुधार हुनेछ ।
यस्तै, डलरको भाउ बढ्दा त्यसले पर्यटनमार्फत् हुने आम्दानी बढाइदिन्छ । नेपाली मुद्रा सस्तो हुँदा डलर खर्च गर्ने पर्यटकलाई यहाँ आउन खर्चको हिसाबले थप प्रोत्साहन मिल्छ ।












प्रतिक्रिया