विद्युत आपूर्ती नियमित भएसँगै धागो उद्योगहरु उत्साहित


काठमाडौं । औद्योगिक क्षेत्रमा रहेको लोडसेडिङ अन्त्य भएको भन्दै धागो उद्योगहरु उत्साहित भएका छन् । आइतबार विज्ञप्ति जारी गर्दै नेपाल धागो उत्पादक संघले १२ घण्टासम्म भइरहेको लोडसेडिङ अन्त्य भएको भन्दै उद्योगहरु उत्साहित भएको जनाएको हो ।

संघका अध्यक्ष पवन गोल्यानले जारी गरेको विज्ञप्तिमा लोडसेडिङका कारण नेपालका सीमित निर्यातमुखी उद्योगमध्यको अग्रणी धागो उद्योग पूर्ण क्षमतामा चल्न नसक्दा यस क्षेत्रमा आश्रित उद्योगी र कामदार तथा सरकारको राजश्व आम्दानीमाथि असर परिरहेको अवस्थाको अन्त्य भएको उल्लेख छ ।

“घरायसी प्रयोजनमा लोडसेडिङ अन्त्य भए पनि औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टासम्म भइरहेको लोडसेडिङका कारण धागो उत्पादनको लागत बढेको, क्षमताअनुसार उत्पादन नभएको, रोजगारी र निर्यात प्रवद्र्धनमा असर परिरहेको अवस्थामा मित्रराष्ट्र भारतबाट थप बिजुली आयात गरी नेपाल विद्युत् प्राधिकरणले पछिल्लो केही दिनदेखि औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति गर्न थालेकामा नेपाल धागो उत्पादक संघ हर्षित र उत्साहित भएको छ,” संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संघमा आवद्ध उद्योगहरुले गर्ने उत्पादनको ८० प्रतिशतभन्दा बढी धागो विभिन्न देशमा निर्यात भइरहेको संघले जनाएको छ । २०५३ मा संघको स्थापना भएयता वार्षिक करिब ४० हजार मेट्रिकटन धागो निर्यात भइरहेको संघको भनाई छ ।

धागो निर्यातबाट राज्यको ढुकुटी र अर्थतन्त्रमा उल्लेख्य योगदान गरिरहेको अवस्थामा लोडसेडिङले पारेको समस्या पूर्ण रुपमा समाधान गर्दै औद्योगिक क्षेत्रले निरन्तर चौबिसै घण्टा विद्युत उपभोग गर्न पाउने सुनिश्चितता प्रदान गरी उद्योग व्यवसाय सञ्चालनका लागि सहज वातावरण सिर्जनातर्फ सरकारको सार्थक प्रयास रहने विश्वास संघले लिएको छ ।

प्रकाशित मिति: १७ चैत २०८१, आइतबार  १८ : ०५ बजे