भन्सार दरको रस्साकस्सीमा चीन र अमेरिका, निर्णायक जित कसको हातमा पर्ला ?


काठमाडौँ । पछिल्लो समयमा विश्वका दुई ठूला अर्थतन्त्रबीच व्यापार युद्ध नभई भन्सार दरलाई आधार मानी निर्माण गरिएको अंकगणितको रस्साकस्सी चलिरहेको छ । यस दौडमा अमेरिकाको नेतृत्व महत्वाकांक्षी डोनाल्ड ट्रम्पले गरिरहेका छन् भने चीनले प्रतिरोध गरिरहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल २ तारिखलाई ‘लिबरेसन डे’ को नाम दिई भन्सार दर नामक रस्साकस्सीको आरम्भ गर्छन् । जसअन्तर्गत उनले ठूलो परिमाणमा करको दायरा बढाउँछन् र अप्रिल ५ तारिखदेखि लागू हुने गरी अमेरिकाले आयात गर्ने वस्तुहरुमा न्युनतम १० प्रतिशतदेखि ५० प्रतिशतसम्म कर लगाउने निर्णय गर्छन् ।

ट्रम्पले आफ्नो यस कदमले अमेरिकी उत्पादन क्षमताको पुनरुत्थान गर्ने, व्यापार घाटाको न्यूनीकरण गरी अमेरिकाको राष्ट्रिय ऋण तिर्ने प्रयासका रूपमा व्याख्या गर्छन् । उनको यस निर्णयले विश्व अर्थतन्त्रमा तहल्का मच्चाउँछ, विश्व सेयरबजार ओरालो लाग्छ र प्रतिकार स्वरुप अमेरिकी वस्तुमा अन्य देशहरुले समेत प्रतिरोधात्मक शैलीमा करको दर बढाउँदै जान्छन् ।

यसै क्रममा ट्रम्पको टक्कर दोस्रो ठूलो अर्थतन्त्र  रहेको चीनसँग परिरहेको छ । अप्रिल ५ देखि लागू हुने गरी घोषणा भएको करको दर अप्रिल ११ सम्म आइपुग्दा ट्रम्पले बढाउँदै १४५ प्रतिशत पुर्‍याएका छन् । ट्रम्पले आफैँले अघि सारेको भन्सार नीति अप्रिल ९ तारिखमा चीन बाहेक अन्य देशका लागि ९० दिन सम्म स्थगित गरेका छन् । यसले पुष्टि गर्छ कि अमेरिका चीनको सामर्थ्य पहिचान गर्न चाहन्छ ।

ट्रम्पको कर नीतिको प्रतिरोध गर्दै चिनियाँ प्रतिनिधिहरुले पनि आफूहरु पछि नहट्ने दाबी गरिरहेका छन् । शुक्रबार चीनको भन्सार शुल्क आयोगले सूचना जारी गर्दै अमेरिकाले अघि सारेको भन्सार संरचनाले चीनमा अमेरिकी वस्तुको आयात अव्यवहारिक बनाएको उल्लेख गर्दै प्रतिकार स्वरुप शनिबारदेखि अमेरिकी वस्तुहरूमा लाग्ने थप भन्सार दर ८४ प्रतिशतबाट बढाएर १२५ प्रतिशत पुर्‍याएको छ । यसरी हेर्दा अमेरिका र चीन अंकगणितको खेलमा रमाइरहेको भान हुन्छ । तर यो खेलमा कसको जीत भइरहेको छ भन्ने टुंगो लाग्न सकेको छैन । २ दिन अघि मात्र दुवै मुलुकले एकबाट अर्कोमा हुने निर्यातको भन्सार दर दोब्बरभन्दा बढीले बढाएका थिए । विभिन्न चरणमा करको दर बढाउँदा गएका उनीहरुको कर युद्ध कहाँसम्म पुगेर रोकिन्छ भन्ने आँकलन कसैले गर्न सकेका छैनन् ।

चिनियाँ राष्ट्रपति सि जिङपिङले स्पेनिस प्रधानमन्त्री पेड्रो सान्चेजसँगको वार्तामा व्यापार युद्धबाट कुनै देशको पनि हित नहुने बताएका छन् । तथापि ट्रम्पले सुरु गरेको भन्सार दरको रस्साकस्सीमा चीनले पनि आफ्नो बल प्रयोग गरिरहेको छ । चाइनाडेली डटकममा उदृीत गरिएको चीनका वाणिज्य मन्त्रालयका प्रवक्ताका अनुसार यदि अमेरिकाले अझै पनि भन्सार दरको खेल खेलिरहन्छ भने चीन त्यसमा संलग्न नहुने बताएका छन् । तर अमेरिकाले चीनको व्यापारिक गतिविधिमा आँच पुर्‍याउने कुनै पनि कदम चाले दृढतापूर्वक चीनले प्रतिकार गर्ने र अन्तिमसम्म लड्ने उनको भनाइ छ ।

यता, विश्व व्यापार संगठन (डब्लुटीओ) की महानिर्देशक एन्गोजी ओकोन्जो–इवेलाले अप्रिल ९ तारिखमा वक्तव्य जारी गरी चीन–अमेरिका बीच चर्किएको तनावले द्विपक्षीय व्यापारमा तीव्र गिरावट ल्याउने गम्भीर खतरा बढेको बताएकी छिन् । डब्लुटीओको प्रारम्भिक अनुमान अनुसार, दुई अर्थतन्त्रबीचको व्यापार युद्धले दुई देशबीचको व्यापार ८० प्रतिशतसम्म घट्न सक्नेछ ।

अमेरिकी व्यापार प्रतिनिधि कार्यालयको तथ्यांक अनुसार, सन् २०२४ मा अमेरिका र चीनबीच ५ खर्ब ८२ अर्ब ४० करोड अमेरिकी डलर बराबर कुल व्यापार भएको छ । जसअन्तर्गत चीनबाट अमेरिकाले ४ खर्ब ३८ अर्ब ९० करोड डलर बराबरको वस्तु तथा सामाग्री आयात गरेको छ भने अमेरिकाबाट चीनले १ खर्ब ४३ अर्ब ५० करोड डलर बराबरको मालवस्तु आयात गरेको छ । हाल चीनसँग अमेरिकाको व्यापार घाटा २ खर्ब ९५ अर्ब ४० करोड रहेको छ ।

मेक्सीको र क्यान्डापछि चीन नै अमेरिकाको तेस्रो ठूलो व्यापारिक साझेदार हो । ट्रम्पले व्यापार घाटाको न्यूनीकरण गर्ने उपायका रुपमा अघि सारेको भन्सार नीतिको प्रभाव चीनमा र समग्र विश्व अर्थतन्त्रमा कस्तो रहन्छ र भन्सार दरको रस्साकस्सीले कुन शक्ति राष्ट्रलाई फाइदा गर्छ भन्ने नतिजा आउन बाँकी नै छ ।

प्रकाशित मिति: २९ चैत २०८१, शुक्रबार  २० : ३४ बजे