काठमाडौँ । “फोहोर भनेको समस्या मात्र होइन, सम्भावना पनि हो ।” यस्तै सोचका साथ बागलुङ नगरपालिकाले ३६ करोड रुपैयाँ लगानी गरी फोहर व्यवस्थापनलाई नाफामूलक, दिगो र पर्यटकीय रुपमा विकास गर्ने रणनीति अघि सारेको छ ।
नगरले अबदेखि बागलुङ नगरपालिका क्षेत्रभित्रको फोहर स्रोतमै छुट्याएर सङ्कलन गर्ने, नमूना ल्यान्डफिल्ड साइटमा फोहर प्रशोधन गरी आवश्यक सामग्री उत्पादन गर्ने र त्यसलाई अध्ययन तथा पर्यटनको केन्द्रको रूपमा विकास गर्ने दीर्घकालीन योजना अघि सारेको हो ।
यसका लागि नगरपालिकाले समानता अभियान नेपालसँग सहकार्य गरी ३६ करोड ७७ लाख रुपैयाँ बराबरको नमूना फोहर प्रशोधन केन्द्र निर्माणका गर्ने भएको हो । कुल लगानीमध्ये पाँच प्रतिशत नगरपालिकाले र बाँकी ९५ प्रतिशत समानता अभियान नेपालले जुटाउनेछ ।
नगरप्रमुख वसन्तकुमार श्रेष्ठका अनुसार, “नगरले दुई करोडको लगानीमा प्रशोधन केन्द्रको निर्माणसमेत गरिसकेको छ । अब हामी दुर्गन्धरहित र अध्ययनमैत्री फोहर केन्द्र बनाउँदैछौं ।”
योजनाअनुसार, बागलुङ–१ मालढुङ्गामा रहेको वर्तमान डम्पिङ साइटमै तीन खण्ड बनाएर कुहिने, नकुहिने र सिसाजन्य तथा अन्य खतरनाक फोहरको वैज्ञानिक व्यवस्थापन हुनेछ । कुहिने फोहरबाट कम्पोस्ट मल, नकुहिने प्लास्टिकजन्य फोहरबाट पुनः उपयोगयोग्य वस्तु उत्पादन गरिनेछ ।
फोहरसँग जोडिएको चेतनालाई व्यवहारमा उतार्नका लागि नगरले १५ हजार डस्टबिन वितरण गरेको छ । साथै, स्कुलस्तरीय ‘इको क्लब’ गठन गरी बालबालिका र अभिभावकलाई फोहर वर्गीकरणको जानकारी दिने अभियान पनि सञ्चालन हुँदैछ ।
नगरपालिकाको आगामी योजना फोहोर व्यवस्थापन केन्द्रलाई प्रदूषणरहित राख्दै त्यहाँ स्विमिङ पुल र बायोग्यास प्लान्टको स्थापना गर्नु रहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । पालिकाको यो पहलले फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउनुका साथै रोजगारीका अवसर सिर्जना गर्ने र बाग्लुङ नगारपालिकालाई अध्ययन तथा आकर्षणको केन्द्र बनाउन सकिने श्रेष्ठको भनाइ छ ।
२०५४ सालदेखि एक दशकसम्म कालीगण्डकी नदी किनारमा फोहर फालिँदा भरिएको १० रोपनी जग्गा अब नयाँ जीवन पाउने अवस्थामा पुगेको छ ।
बागलुङ नगरपालिकाले सुरु गरेको यस कार्यक्रमले स्थानीय सरकार सक्रिय हुँदा फोहोर व्यवस्थापन मात्र नभई सामाजिक र आर्थिक रूपान्तरणको ढोका खोलिने सन्देश दिएको छ ।
प्रतिक्रिया