काठमाडौं । उपभोक्ता हकहित उल्लंघन गर्ने व्यवसायीहरूलाई कारबाही गर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपत्यकाका दुई ठूला डिलर कम्पनीहरूमाथि कडा कारबाही अघि बढाएको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ उल्लङ्घन गरेको भन्दै ललितपुरस्थित पशुपति इन्टरनेसनल बिजनेस प्रालि र काठमाडौंस्थित पशुपति ट्रेडिङ कन्सर्न को कारोबारमाथि विभागले रोक लगाएको हो ।
विभागका महानिर्देशक कुमारप्रसाद दहालका अनुसार, पशुपति इन्टरनेसनल बिजनेस प्रालिले वितरण गर्ने गुट्खा तथा खैनीका उत्पादनहरूमा तौलमा बेथिति देखिएको र स्पष्ट मूल्य उल्लेख नभएको पाइएपछि देशैभर कारोबार रोक्का गर्ने निर्देशन दिइएको हो ।
त्यसैगरी, दुवै कम्पनीलाई तीन दिनभित्र कागजातसहित विभागमा उपस्थित हुन विभागले सार्वजनिक सूचना जारी गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको निर्देशनमा विभागले पछिल्ला दिनमा बजार अनुगमन कडा बनाएको छ । उपभोक्तालाई ठग्ने गतिविधिमाथि निगरानी बढाउँदै बजारमा बिना अधिकतम खुद्रा मूल्य (एमआरपी) सामग्री बेच्नेहरूलाई कारबाही प्रक्रिया अगाडि बढाएको विभागका महानिर्देशक दहालले बताए ।
प्रतिक्रिया