काठमाडौँ । शब्दहरूले सजिएको टिसर्ट होस् या जुत्ता, मिनिस्कर्ट होस् या फूलबुट्टे ट्रेन्डी झोला, यी सबै वस्तु राजनीतिक र व्यापारिक रणनीतिको मैदानमा खेलिने खेलको हिस्सा बनेका छन् ।
विश्वका २ ठूला अर्थतन्त्रबीच भन्सार दरको रस्साकस्सी चलिरहँदा हामीले बुझ्नुपर्छ कि यो रस्साकस्सीले सिलिकन भ्यालीमा अवस्थित टेक कम्पनीलाई मात्रै होइन, मेटल कम्पनीसँगै तपाईँहामी जस्तै फास्ट फेसन र ट्रेन्डी लत्ताकपडा लगाउने अमेरिकी नागरिक वा अमेरिका बसोबास गर्दै आएका जोसुकैलाई प्रभाव पार्छ ।
अप्रिल २ तारिखमा ‘लिबरेसन डे’ को घोषणा गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी रूपमा लगाएको कर र पछि अप्रिल ९ तारिखमा चीनमाथि लाग्दै आएको कर १४५ प्रतिशत कायम गरी अन्य देशलाई लगाएको कर ९० दिनका लागि स्थगित गरेको विषय अन्तर्राष्ट्रिय तथा राष्ट्रिय मिडियामा हेडलाइन बनेको छ ।
आज हामी लिबरेसन डेकै अवसर पारेर ट्रम्पले घोषणा गरेको ‘डिमिनिस एक्जेम्सन’ हटाउने निर्णय र यसले अमेरिकी उपभोक्ता र फास्ट फेसनमा रमाउने हामी सबैलाई कसरी असर पार्नेछ भन्ने विषयमा छलफल गर्नेछौँ ।
ट्रम्प प्रशासनले अप्रिल २ मा विभिन्न देशहरूलाई पारस्परिक कर मात्रै लगाएनन्, ८०० डलरभन्दा थोरै मूल्य पर्ने सामग्रीमा अमेरिकी सरकारले दिँदै आएको भन्सार छुट नीति पनि मे १ तारिखबाट हटाउने निर्णय गरे ।
यसबाट अमेरिकामा बसोबास गर्दै आएका मानिस मात्रै होइन, चीनमा रहेका ई–कमर्स कम्पनीहरू पनि ठुलो चिन्तामा परेका छन् ।
वर्तमान समयमा चिनियाँ सामग्री विश्वका हरेक कुनामा पुगेको छ । चिनियाँ टेक जायन्ट टिकटक होस् या चिनियाँ फास्ट फेसन ब्रान्ड ‘सिन’, विश्वभर नै टिकटकका प्रयोगकर्ता र सिनहल गर्ने उपभोक्ता भेटिन्छन् ।
अप्रिल ९ मा ट्रम्प प्रशासनले चीनमाथि लगाएको १४५ प्रतिशत कर र डिमिनिस एक्जेम्सन हट्दा यसको प्रभाव फास्ट फेसन, ई–कमर्स जायन्ट सिन र अमेरिकी कम्पनीमा कसरी पर्छ भन्ने जान्नुअघि ‘सिन’ के हो भन्ने बुझ्नुपर्छ ।
के हो ‘सिन’ ?
सन् २००८ मा ‘सी इन्साइड’ नामकरण गरी क्रिस छुले सुरु गरेको ई–कमर्स कम्पनी हो– हालको ‘सिन’ । कस्मेटिक, फुटवेयर जस्ता सामग्रीको बिक्री गर्ने गरी स्थापना गरिएको ‘सिन’को नाम सन् २०१५ मा ‘सी इन्साइड’बाट परिवर्तन गरी सिन बनाइएको हो ।
सिनका संस्थापक क्रिस छु सर्च इन्जिन अप्टिमाइजेसन (एसइओ) का विज्ञ थिए र उनी अन्तर्राष्ट्रिय बजारमा कस्तो खालका चिनियाँ सामग्रीहरूको माग छ भन्ने विषयमा अध्ययन गर्थे ।
आजको समयमा सिन विश्वकै सबैभन्दा बढी खोजिएको क्लोथिङ ई–कमर्स कम्पनी हुनुमा उनको त्यो अध्ययन र एआईको ठुलो हात छ ।
सुन्दा अचम्म लागे पनि सिन त्यस्तो कम्पनी हो, जसको कुनै स्थायी स्टोर छैन । तर, यसले विश्वभर टे«न्डी लत्ताकपडा सस्तो मूल्यमा आपूर्ति गर्छ ।
सन् २०२२ मा ठुला फेसन ब्रान्ड एडिडास, नाइकीलाई पछि पार्दै सिन विश्वव्यापी रूपमा सबैभन्दा चर्चित र लोकप्रिय ब्रान्डका रूपमा स्थापित भएको थियो ।
सन् २०२३ मा सिन फेसन तथा एपेरेल वेबसाइटमध्ये सबैभन्दा बढी भिजिटेड वेबसाइट बनेको थियो । यति मात्रै होइन, सन् २०२० मा सिनको कुल सेल्स १० अर्ब डलर थियो भने सन् २०२३ सम्म आइपुग्दा उक्त कारोबार रकम १०० अर्ब डलर पुगेको मनीडटकोडटयुकेले जनाएको छ ।
फेसबुक रिल, इन्स्टाग्राम रिल तथा टिकटकमा २०–२५ वर्ष उमेर समूहका मानिसहरूले सिनबाट सस्तो मूल्यमा लुगा किनेको र दिइएको एउटा कोड प्रयोग गरेमा २० प्रतिशतसम्म छुट पाउने भनी विज्ञापन गरेको देख्न सकिन्छ ।
सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै मानिसहरूले एक पटक लुगा लगाएर सामाजिक सञ्जालमा फोटो राखेपछि उक्त लुगा नलगाउने र हरेक नयाँ समारोहका लागि नयाँ लुगा किन्ने चलन बढ्दै गएको छ । सिनले यसैलाई आफ्नो मार्केटिङ रणनीति बनाएको छ ।
उपभोक्ताको मागअनुसार सस्तो मूल्यमा सामग्री आपूर्ति गर्ने, सार्वजनिक छवि राम्रो भएका र सामाजिक सञ्जाल जस्तै टिकटकमा धेरै फलोअर भएका मानिसलाई प्रयोग गरी मार्केटिङ गर्ने सिनका प्रमुख विशेषता हुन् । विश्वव्यापी रूपमा जेनजी पुस्ता सिनको मुख्य उपभोक्ता हो ।
सन् २०१९ को अन्तिमदेखि विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ का कारण धेरै कम्पनी बन्द हुने अवस्थामा पुगेका थिए । तर, यो त्यही समय हो, जहाँ टिकटक तथा सिनका प्रयोगकर्ता बढ्दै गएका थिए ।
हाल सिनका सामग्रीहरू १५० भन्दा बढी देशमा आपूर्ति हुने गरेको छ । ग्लोबल डाटा इस्टिमेसनका अनुसार अमेरिका सिनको सबैभन्दा ठुलो मार्केट हो । सन् २०२३ मा सिनको २८ प्रतिशत व्यापार अमेरिका निहित छ ।
यसरी सिनका सबैभन्दा धेरै उपभोक्ता अमेरिकी छन् र हालै ट्रम्पले लागू गरेको कर नीति र डिमिनिस एक्जेमसन खारेजीको असर चिनका हाइ–टेक कम्पनीमा मात्रै नभई फास्ट फेसन सिन तथा टेमुमा पनि पर्नेछ ।
डिमिनिमिस एक्जेम्सन खारेज गर्दा किन समस्यामा पर्छ सिन ?
सन् १९३८ मा पहिलो पटक १ डलरभन्दा कम मूल्यका आयातित सामग्रीमा भन्सार दर, आयात शुल्क शून्य लगाउने गरी अघि सारिएको नीति हो– डिमिनिमिस एक्जेम्सन ।
सो सीमा अमेरिकाले सन् १९७८ मा बढाएर ८ डलर, सन् १९९३ मा २०० डलर र सन् २०१५ मा ८०० डलर पु¥याएको थियो ।
डिमिनिमिस एक्जेम्सनलाई अमेरिकी व्यापार नीतिको सबैभन्दा ठुलो कमजोर कडीका रूपमा विज्ञहरूले व्याख्या गर्दै आएका छन् ।
यही कमजोरीलाई आफ्नो हतियार बनाएर फास्ट फेसन ई–कमर्स सिनले अमेरिकामा आफ्ना सामग्रीहरू बिक्री गरिरहेको छ ।
सन् २०२३ मा चीनबाट अमेरिका निर्यात भएका ८०० डलरमुनिका कुल सामग्रीको मूल्य ६६ अर्ब डलर छ, जुन सन् २०१८ मा ५ अर्ब ३० करोड डलर थियो ।
उपभोक्ताको माग बढ्दै गर्दा सिन, टेमुलगायत फास्ट फेसन ई–कमर्स कम्पनीको आम्दानी र यी कम्पनीहरूले अमेरिका निर्यात गर्ने सामग्री पनि दिनानुक्रममा बढ्दै गएको छ ।
तर, लिबरेसन डेको अवसर पारेर अमेरिकी राष्ट्रपति ट्रम्पले चीनबाट अमेरिका निर्यात हुने कम मूल्यका सामग्रीमा दिँदै आएको डिमिनिमिस एक्जेम्सन मे १ तारिखबाट खारेज गर्ने भएका छन् ।
यस्तै, हरेक पोस्टल प्याकेजमा मे १ तारिखबाट प्रतिसामग्री ८५ डलर भन्सार लागू गर्ने र जुन १ तारिखबाट प्रतिप्याकेज १५० डलर कर लागू हुने गरी ट्रम्प प्रशासनले तयारी गरेको छ ।
यसैबीच, सिनले अप्रिल २५ देखि सस्तो मूल्य पर्ने सिनका सामग्रीको मूल्य बढ्ने र मूल्य वृद्धिबाट पर्ने असरका लागि तयार रहिरहन उपभोक्तालाई आग्रह गरेको छ ।
यसरी अमेरिका र चीनबीचको व्यापार युद्धले उच्च प्रविधिबाट निर्मित आइफोनदेखि अर्डर गरेपछि महिनौँ कुर्नुपर्ने सिन र टेमुका झोलासम्म सबैलाई छोएको छ ।
व्यापार युद्धको असर उच्च प्रविधियुक्त सामग्रीमा मात्र नभई फूलबुट्टे सपनाहरू बुनिरहेकी युवतीको सिनको झोलासम्म पुगिसकेको छ ।
प्रतिक्रिया