काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडको नाफामा गिरावट आएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकले १५ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९१.८१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.७६ प्रतिशत घटेर ७ अर्ब ९६ करोड २५ लाख रुपैयाँमा सिमित भएको छ भने इम्पेरमेन्ट चार्ज २ अर्ब १४ करोडबाट बढेर ३ अर्ब ५ करोड पुगेको छ। जसका कारण बैंकको खुद नाफा घट्न पुगेको हो ।
यस्तै बैंकको खुद फि तथा कमिशन आम्दानी ४०.६६ प्रतिशतले घटेर ९६ करोड ८१ लाख रुपैयाँमा सिमित भएको छ ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १०.७७ प्रतिशतले घटेर ९ अर्ब १९ करोड २२ लाख रुपैयाँमा सिमित भएको छ भने सञ्चालन मुनाफा ६४.४० प्रतिशतले घटेर १ अर्ब २९ करोड रुपैयाँमा सिमित भएको छ । सो अवधिमा बैंकको वितरणयोग्य आम्दानी ३ अर्ब ५६ करोड रुपैयाँ ऋणात्मक रहेको छ। उक्त अवधिमा बैंकले २ खर्ब ९४ अर्ब ६ करोड १ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३३ अर्ब ४३ करोड ४३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
समिक्षा अवधिमा बैंकको नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ८९ पैसा घटेर १ रुपैयाँ ४० पैसामा झरेको छ। बैंकको मूल्य आम्दानी अनुपात २६६.६४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ ३० पैसा रहेको छ।
चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १४ अर्ब ८१ करोड ३० लाख रुपैयाँ सञ्चित छ।
प्रतिक्रिया