सरोज सिटौलासँग ३ प्रश्न

‘आन्दोलनका कारण यातायात क्षेत्र ‘साँढेको जुधाइ, बाछाको मिचाइ’ जस्तो बन्यो’

एउटाले अधिकार खोजिरहँदा अर्काको अधिकार हनन गर्नु कत्तिको जायज हो ?


काठमाडौँ । गत १५ चैतको राजावादी आन्दोलनसँगै सुरु भएको शिक्षक आन्दोलन जनजीवन अस्तव्यस्त बनेको छ ।

यतिबेला काठमाडौँँको केही क्षेत्रमा व्यापार व्यवसाय ठप्प छ । शिक्षकहरूले माइतीघर–बानेश्वर सडकमा मध्याह्न १२ देखि दिउँसो ३ बजेसम्म प्रदर्शन गर्दै आएका छन् । उक्त समयमा उक्त सडकमा सवारीसाधन चल्न पाउँदैनन् ।

आन्दोलनका कारण सार्वजनिक यातायात अवरुद्ध भएको भन्दै नेपाल यातायात व्यवसायी महासंघले विरोध गर्दै आएको छ ।

३ प्रश्नको आजको अंकमा हामीले सार्वजनिक यातायातमा परेको असरको विषयमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलासँग कुरा गरेका छौँ ।

  • पटक–पटक हुने गरेका आन्दोलनले तपाईंहरूलाई कति असर गरेको छ ?

हामी जहिल्यै मारमा छौँ । आन्दोलनका नाममा हुने यस्तो अवरोधले हामी बस व्यवसायीलाई मात्रै होइन, देशमा काम गर्ने जोकोहीलाई असर गरेको छ ।

बस व्यवसायी, अफिस जाने यात्रु सबैलाई असर गरेको छ । यो त दुर्भाग्यपूर्ण हो । बन्द भन्ने विषय नै दुर्भाग्य हो । यसले देशको अर्थतन्त्र नै बिगार्ने काम गरेको छ । अराजकता बढाएको छ ।

दिनदिनै सडक बन्द गरेर शिक्षकका नाममा १८ दिन निरन्तर आन्दोलन हुनु भनेको राम्रो होइन । त्यो क्षेत्रमा हाम्रो सेवा नै १८ दिनदेखि बन्द छ । बन्द भएको बेलाको बैंकको किस्ता कसले तिर्दिन्छ ?

हाम्रोमा काम गर्ने मान्छे भोकभोकै छन् । फेरि अब यो पार्टी–गुट कुन्नि के–के हो, सरकारको दोहोरी चलिरहेको छ । यो ‘साँढेको जुधाइ, बाछाको मिचाइ’मा सार्वजनिक यातायात र जनता परेका छन् ।

यसरी समस्यामा पार्नुहुँदैन । यो समस्याको तत्काल निकास निकाल्नुपर्छ । मुलुक एकदमै जर्जर भएको छ । अर्थतन्त्र जर्जर भएको छ ।

यस्तो अवस्थामा दिनभरि काम गरेर मुख जोड्नेहरूलाई ठुलो असर गरेको छ । त्यसमा सबै सरोकारवाला निकायलाई गम्भीर भएर सोचिदिन अनुरोध गर्दछु ।

देश आन्दोलनकै कारण सकिने भएको छ । १८ दिन भयो शिक्षकले आन्दोलन गरेको । अब फेरि निजामती कर्मचारीले भोलिबाट सुरु गर्ने भनेका छन् । पार्टीहरूका छुट्टै आन्दोलन, राजा ल्याउनेको छुट्टै आन्दोलन । हामीले कसको चाहिँ आन्दोलन खेप्ने ?

अब सार्वजनिक यातायातले यो देशको आन्दोलन खेप्न सक्दैन । हामीले मात्र होइन, जनताले नै सक्दैनन् । व्यापारीहरू दिनभरि सटर खोलेर बसेका छन् । व्यापार छैन । उनीहरूको व्यापार व्यवसाय ठप्प छ ।

त्यसैले मान्छेलाई तनाव दिएर, मान्छेलाई हेपेर आफ्नो अधिकार पाइन्छ भनेर नभने हुन्छ । आन्दोलन पनि मन जितेर गर्नुपर्‍यो नि !

यसमा राज्य पक्षको पनि कमजोरी छ र आन्दोलन गर्ने पक्षको पनि कमजोरी छ । त्यसैले दुवै पक्षले लचकता अपनाएर यसको निकास निकाल्नुपर्छ ।

राज्य अभिभावक हो, त्यसैले अभिभावकले पनि विचार पुर्‍याउनुपर्छ । १८ दिनसम्म शिक्षकहरू कराइरहेका छन् । सही र जायज माग हुन् भने तत्काल पूरा गरिदिए भइहाल्यो नि ! किन समय लम्बाइरहनुपर्‍यो र ?

होइन भने, शिक्षकसँग वार्ता गरेर पठाउनुपर्‍यो नि त ! आफ्नो अधिकार खोजिरहँदा अर्काको अधिकार हनन भएको छ कि छैन भन्ने कुरा पनि बुझ्नुपर्‍यो । यो शिक्षकको मात्र कुरा होइन । सबै निकायलाई यति कुरा बुझिदिन अनुरोध गर्न चाहन्छु ।

  • अब बस व्यवसायीको नयाँ विकल्प के हुन्छ ?

हामी यस विषयमा अझै छलफल गर्दै छौँ । आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि आन्दोलन गरिरहेको छ । त्यो आन्दोलन कुन ढंगले जान्छ, त्यो पनि हेर्दै छौँ ।

सरकारले यस्तै गर्‍यो भने देशमा ठुलो विद्रोह हुन सक्छ । हाम्रा सबै गाडी ग्यारेजमा थन्क्याउने अवस्था आएको छ । यस्तै अवस्था रहिरह्यो भने हामी ठुलो विद्रोहमा जान्छौँ ।

एउटा बिरालोलाई थुनेर कुट्यो भने उसले आत्मरक्षाका लागि विकल्प अपनाउँछ नि ! हो, हामी पनि त्यस्तै गर्न बाध्य हुनेछौँ ।

कुन बेला कहाँ लफडा हुन्छ, थाहा छैन । यो राम्रो कुरा होइन । हामीले आफ्नो हक अधिकारका पनि कुरा नगरी बसेका छौँ । अत्यन्त जर्जर अवस्था छ भनेरै बसेका छौँ । अनि हामीले आन्दोलन गरेर सबै ठप्प पार्‍यौँ भने के हुन्छ ? यो राम्रो होइन ।

  • समग्र सार्वजनिक यातायात क्षेत्र सुधारका लागि के गर्नुपर्छ ?

नेपालको यातायात क्षेत्र सुधारका लागि अधिकार सम्पन्न प्राधिकरण चाहिन्छ । हामीले त्यसको माग पनि गरेका छौँ ।

अहिले मुलुक संघीयतामा गएको हुनाले अधिकारहरू बाँडिएका र बाझिएका छन् । त्यसले पनि सार्वजनिक सवारीसाधनलाई समस्या पारेको छ ।

त्यसैले अधिकार सम्पन्न प्राधिकरण नभइन्जेल विभागले काम गर्न सक्दैन । सार्वजनिक यातायातलाई व्यवस्थित ढंगबाट चल्ने वातावरण बनाउनुपर्छ ।

प्रकाशित मिति: ७ वैशाख २०८२, आइतबार  १४ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।