काठमाडौं । विकास बैंकहरूलाई निष्क्रिय कर्जा घटाउन निकै चुनौति परेको देखिएको छ । उसो त वाणिज्य बैंकहरूले पनि कर्जा असुल्न नसकिरहेको अवस्थामा विकास बैंकहरूले पनि नसकेका हुन् ।
अर्थतन्त्रको सुस्तताका कारण पछिल्लो समय कर्जा असुलीमा दवाव सिर्जना हुँदै गइरहेको छ । जसको प्रत्यक्ष असर बैंकहरूको वित्तीय विवरणमा परेको हो । समयमै कर्जा असुली हुन नसक्दा निष्क्रिय कर्जा बढेको बढ्यै छ । बैंकहरूले कर्जा असुलीमा सम्पूर्ण ध्यान लगाउँदा पनि त्यसमा सुधार हुन सकेको छैन । जसकारण उनीहरूले व्यापार विस्तार गर्न समेत सकेका छैनन् ।
त्यसका बावजुद पनि विकास बैंकहरूको नाफा भने सुध्रिएको छ । एकातिर निष्क्रिय कर्जा बढ्दै छ भने बैंकहरूको नाफा पनि बढ्दो नै छ ।
चालु आवको तेस्रो त्रैमासिक विवरण अनुसार, राष्ट्रिय स्तरका विकास बैंकहरूको नाफा ४.३४ प्रतिशतले बढेको छ । चालु आवको चैत मसान्तसम्म बैंकहरुको नाफा ३ अर्ब ६९ करोड २७ लाख १२ हजार रुपैयाँ रहेको छ । यस्तो नाफा गत आवको सोही अवधिमा ३ अर्ब ५३ करोड ८८ लाख ५० हजार रुपैयाँ रहेको थियो ।
अर्थतन्त्रको सुस्तता र कर्जा असुलीमा भइरहेको समस्याका कारण विकास बैंकहरूको पनि वाणिज्य बैंकको जस्तै निष्क्रिय कर्जा बढेको हो । यसले बैंकहरूलाई थप दवावमा पारेको छ ।
सञ्चालनमा रहेका ८ वटा राष्ट्रिय स्तरका विकास बैंकमा ५ वटाको नाफा बढ्दा ३ वटा बैंकको भने घटेको छ । गरिमा, कामना सेवा, महालक्ष्मी, सांग्रिला र ज्योति विकास बैंकले तेस्रो त्रैमासमा नाफा बढाएका छन् । मुक्तिनाथ, शाइन रेसुङ्गा र लुम्बिनी विकास बैंकको भने नाफा घटेको छ ।
चालु आवको तेस्रो त्रैमाससम्म सबैभन्दा धेरै नाफा गरिमा विकास बैंकले कमाएको छ । बैंकले ७३ करोड ३४ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको हो । गत आवको सोही अवधिको तुलनामा यस बैंकको नाफा ७.१३ प्रतिशतले बढी हो ।
धेरै नाफा आर्जन गर्ने मध्येको दोस्रो स्थानमा मुक्तिनाथ विकास बैंक छ । बैंकले चैत मसान्तसम्म ७२ करोड ४८ लाख ५२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा भने गत आवको सोही अवधिको तुलनामा १६.८५ प्रतिशतले घटेको छ ।
चैत मसान्तसम्म कामना सेवा विकास बैंकले ४९ करोड ३१ लाख ८४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ४८.८३ प्रतिशतले बढी हो ।
यस्तै महालक्ष्मी विकास बैंकले ४३ करोड ६५ लाख ५९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो नाफा १६.८६ प्रतिशतले धेरै हो ।
यस्तै सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ६१.१८ प्रतिशतले बढेर ४३ करोड ४२ लाख १८ हजार रुपैयाँ रहेको छ ।
यस्तै शाइन रेसुङ्गा डेभलमेन्ट बैंकले ५१ करोड ४० लाख १४ हजार नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ०.१२ प्रतिशतले कम हो ।
यस्तै ज्योति विकास बैंकको नाफा ३० करोड ६६ लाख ११ हजार रुपैयाँ पुगेको छ । यस्तै ८५.४५ प्रतिशतले घटेर लुम्बिनी विकास बैंकको नाफा ४ करोड ९७ लाख ८३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
खुद ब्याज आम्दानीमा को अगाडि ?
चालु आवको तेस्रो त्रैमासमा सबैभन्दा धेरै खुद ब्याज आम्दानी मुक्तिनाथ विकास बैंकले आर्जन गरेको छ । यस बैंकले सो अवधिमा ३ अर्ब २८ करोड ५८ लाख खुद ब्याज आम्दानी गरेको छ । जुन गत वर्षको भन्दा ५ प्रतिशत धेरै हो ।
गरिमा विकास बैंकले २ अर्ब ६६ करोड ९७ लाख ब्याज आम्दानी गर्दा शाइन रेसुंगाले १ अर्ब ९३ करोड १२ लाख रुपैयाँ, कामना सेवा विकास बैंकले १ अर्ब ६६ करोड ४२ लाख रुपैयाँ, ज्योति विकास बैंकले १ अर्ब ५८ करोड ४१ लाख, महालक्ष्मीले १ अर्ब ५३ करोड ६४ लाख, सांग्रिला डेभलपमेन्टले १ अर्ब ४२ करोड ९१ लाख र लुम्बिनी विकास बैंकले १ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ आर्जन गरेको छ ।
निष्क्रिय कर्जामा पनि उस्तै वृद्धि
चालु आवको तेस्रो मसान्तसम्ममा राष्ट्रिय स्तरका विकास बैंकको निष्क्रिय कर्जा नियन्त्रणमा चुकेका छन् । तेस्रो त्रैमासमा यी बैंकहरूको औसत निष्क्रिय कर्जा ५.०४ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा राष्ट्रिय स्तरका विकास बैंकहरूको औसत निष्क्रिय कर्जा ३.५८ प्रतिशत थियो ।
वित्तीय विवरण अनुसार, लुम्बिनी विकास बैंकको निष्क्रिय कर्जा सबैभन्दा धेरै ७.१८ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा यस बंैकको निष्क्रिय कर्जा ३.६९ प्रतिशत थियो ।
यस्तै महालक्ष्मी विकास बैंकको निष्क्रिय कर्जा ४.१६ प्रतिशतबाट बढेर ४.९९ प्रतिशत, ज्योति विकास बैंकको ४.९७ प्रतिशतबाट बढेर ४.९८ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ३.८४ प्रतिशतबाट बढेर ४.९७ प्रतिशत पुगेको छ ।
यस्तै गरिमा विकास बैंकको गत आवको तेस्रो त्रैमासमा २.९७ प्रतिशत रहेको निष्क्रिय कर्जा चालु आवको सोही अवधिमा बढेर ४.७८ प्रतिशत पुगेको छ ।
साइन रेसुंगा बैंकको निष्क्रिय कर्जा गत आवको तुलनामा चालु आवमा बढेको छ । गत आवको तेस्रो त्रैमासमा ३.४१ प्रतिशत रहेको यस बैंकको निष्क्रिय कर्जा चालु आवको सोही अवधिमा ४.७६ प्रतिशत पुगेको छ । मुक्तिनाथ विकास बैंकको निष्क्रिय कर्जा २.०२ प्रतिशतबाट बढेर चालु आवमा ४.४१ प्रतिशत पुग्दा कामना सेवा विकास बैंकको ३.५५ प्रतिशतबाट बढेर ४.२७ प्रतिशत पुगेको छ ।
प्रतिक्रिया